बीमाङ्कीय शिक्षा र अनुभवमा नेपाली विद्यार्थीहरूको धारणा

कमल प्रसाद रेग्मी
८ असार २०८१, शनिबार ०९:४७

साराशं

त्रिभुवन विश्वविद्यालयले वि.सं. २०७३ सालदेखि संचालन गरेको स्नातकस्तरको ‘‘बीमाङ्कीय’’ कार्यक्रमको सम्बन्धमा त्यहाँका विद्यार्थीहरूको शिक्षा र अनुभवको विषयमा गरिएको सर्भेक्षणबाट अधिकाङ्श विद्यार्थीहरूको धारणामा उक्त कार्यक्रमको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको रहेको, बीमाङ्की पेशाको लागि उपयोगी रहेको र नेपालमा यसको आवश्यकता, महत्व दिनानुदिन बृद्धि भइरहेको परिणाम प्राप्त भएको छ। कार्यक्रम निजी श्रोतबाट संचालन भएकोले यस्ता कार्यक्रमहरू नेपाल सरकारले आफ्नो श्रोतबाट संचालन गरी क्रमशः प्रदेशस्तरमा समेत संचालन गरी देशमा यस्ता जनशक्तिको आपूर्ति बढाई जोखिमको व्यवस्थापन तथा आर्थिक विकासमा लाग्नुपर्ने देखिन्छ।

मुख्य शब्दावलीहरू : बीमाङ्की पेशा, बीमाङ्कीय शिक्षा, बीमाङ्की पेशाको छाता सङ्गठन, नेपाली बीमाङ्कीय सोसाइटी र नेपाल बीमा प्राधिकरण।

१. अध्ययनको पृष्ठभूमि
‘बीमाङ्की’ भन्नाले विगतका तथ्याड्ढहरूको विश्लेषणबाट भविष्यको पूर्वानुमान गर्न सक्ने विशेष योग्यता, क्षमता, अनुभव भएको पेशागत जनशक्तिलाई बुझिन्छ। विश्वमा सत्रौं सताब्दीको मध्य (सन् १७५७) तिर बेलायतका गणितशास्त्रीबाट बीमा क्षेत्रको लागि यो शब्द प्रयोग भएसँगै विश्वमा क्रमशः यसको विकास, अध्ययन, अध्यापन, प्रचार प्रसार भइरहेको छ। विशेषतः ‘‘बीमाङ्की’’ विषय गणित, तथ्यांशास्त्र र अर्थशास्त्रका सिद्धान्तहरूसंग बढि सम्बन्धित रहेको देखिन्छ। विश्वमा बीमाङ्कीहरूको सङ्ख्या अत्यन्तै कम भए तापनि सवैभन्दा आकर्षक पेशाको रूपमा स्थापित भएको छ।

‘बीमाङ्की’ जनशक्ति बीमा क्षेत्र सँगसँगै राज्यको अर्थतन्त्रको विकास तथा विस्तार गर्नका लागि बैङ्किङ, लगानी, धितोपत्र, कोष व्यवस्थापन, राजस्व, खर्च लगायतका क्षेत्रमा पनि त्यत्तिकै उपयोगी, आवश्यक र महत्वपूर्ण रहेको छ। पछिल्लो समयमा यस पेशालाई गैरआर्थिक क्षेत्रमा विगतको तथ्याङ्कको विश्लेषण गरी भविष्यको पर्दाफास गर्ने कार्यमा समेत प्रयोग भइरहेको पाइन्छ। सन् २०१५ मा क्यानडाले जलवायु परिवर्तनको असर सम्बन्धमा बीमाङ्कीबाट विश्लेषण गराएको प्रतिवेदन सार्वजनिक भएको छ।

बीमा ऐन, २०७९ बमोजिम नेपाल बीमा प्राधिकरण, नेपालको समग्र बीमा व्यवसायको नियमनकारी निकाय हो। नेपाल बीमा प्राधिकरण अन्तर्गत जीवनतर्फ १४, निर्जीवनतर्फ १४ र पुनर्बीमा कम्पनी २ तथा लघुबीमा कम्पनी ७ गरी जम्मा ३७ वटा बीमा कम्पनी रहेका छन्। बीमा ऐन, २०७९ र सामाजिक सुरक्षा कोष ऐन, २०७९ बमोजिम प्रत्येक संस्थामा एक ‘बीमाङ्की’ अनिवार्य रूपमा आवश्यक रहन्छ (बीमा ऐन २०७९, कोष ऐन २०७४)।

नेपालमा बीमाङ्कीय शिक्षाको औपचारिक अध्ययन, अध्यापन त्रिभुवन विश्वविद्यालयले बीमाङ्की पेशाको लागि उपयोगी हुने किसिमको स्नातकस्तरको म्याथम्याटिक्स साइन्सेज कार्यक्रम वि.सं. २०७३ सालबाट शुरू गरेको छ। यो कार्यक्रम अन्य विश्वविद्यालयमा संचालनमा छैन। हालसम्म उक्त कार्यक्रमको विभिन्न सेमेष्टरमा अध्ययन गरिसकेका र अध्ययन गरिरहेका गरी लगभग ३०० जना विद्यार्थिहरू छन् । प्रथम व्याचका विद्यार्थीहरू स्नातक तह उत्र्तीर्ण भई बीमा बजारमा कार्यरत रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले संचलान गरेको उक्त कार्यक्रम नेपालमा नयाँ र बढी प्राविधिक पक्ष समेटिएको हुनाले, साथै प्राज्ञिक एवम् पेशागत रूपमा उपयोगी हुने भनी संचालनमा ल्याएको थियो। नेपालमा यो विधा अध्यापन गराउने विषयगत शिक्षकको अभाब नै रहेको अवस्थामा यो कार्यक्रम संचलानमा ल्याएको हुनाले यस सम्बन्धमा त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई यो कार्यक्रममा देखिएका विभिन्न सकारात्मक कुरा तथा केही समस्या भए सो समेत र भविष्यमा के कस्ता पक्षमा सरोकारवालाले कुन पक्षमा ध्यान दिएमा यो पेशा र शिक्षाको विकासमा थप टेवा पुग्ने छ भनी यो कार्यक्रमको अवस्थाको जानकारी लिने उद्देश्यका साथ विभिन्न प्रश्नहरू राखी बिद्यार्थीहरूलाई सहभागी गराइएको छ। जसमा पाठ्यक्रम ‘बीमाङ्की’ पेशाको लागि उपयोगी हुने किसिमको छ वा छैन, यो पाठ्यक्रम कुनै देशको नियमनकारी निकायको हुबहु वा नेपाली परिस्थितिमा अनुकूल हुने किसिमको विकास गरिएको छ, छैन भनी सर्भे मोडलमा सबै बिद्यार्थीहरूलाई प्रश्नावली भराएर यो लेख तयार गरिएको छ।

१.१. बीमाङ्कीय शिक्षा र पेशाका बारेमा अन्तर्राष्ट्रियस्तरमा भएको ब्यवस्था

‘बीमाङ्कीय’ शब्द सन् १७५७ तिर बेलायतका गणितशास्त्रीबाट बीमा क्षेत्रको लागि प्रयोग भएसँगै विश्वमा क्रमशः यसको विकास भइरहेको छ। विशेषतः यो बिषय गणित, तथ्याङ्कशास्त्र र अर्थशास्त्रसँग बढी सम्बन्धित रहेको देखिन्छ। विश्वमा बीमाङ्कीहरूको सङ्ख्या अत्यन्तै कम छ। भारतमा बीमाङ्कीको सङ्ख्या लगभग चारसय त्रिहत्तर छ, जबकि त्यहाँ चार्टड एकाउण्टेण्ट लगभग १० लाखभन्दा बढी छन्। ‘बीमाङ्की’ सबैभन्दा बढी पारिश्रमिक पाउने पेशाको रूपमा स्थापित भएको छ। मिति २०२२ जनवरी १२)।

विश्वका धेरै विश्वविद्यालयले यसको अध्ययन, अध्यापन गराउनुका साथै बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, जापान, भारत लगायत विकसित देशमा बीमाङ्की पेशाको इजाजत दिने नियमनकारी निकायहरू रहेका छन्।

नियमनकारी निकाय गठन नभएका अधिकाङ्श देशमा गैरसरकारी पेशागत संस्थाका रूपमा एसोसिएसनहरू गठन भएका छन्। उदाहरणका लागि बङ्गलादेश, पाकिस्तान, इण्डो नेसिया, नेपालमिति २०२२ जनवरी १२) आदिलाई लिन सकिन्छ।

१.२ बीमाङ्की पाठ्यक्रमको जानकारी

प्रत्येक देशमा प्रायः सबै पेशाको छुट्टा छुट्टै पाठ्यक्रम र इजाजत सम्बन्धी ब्यवस्था हुनु सामान्य कुरा हो। तर ’बीमाङ्की‘ को पाठ्यक्रम र पेशागत इजाजत संसारभर एकै किसिमको रहेको वेवसाइट भिजिटबाट जानकारी प्राप्त भएको छ। सन् २०१९ मा यसको पाठ्यक्रम संशोधन भएको छ। यसअघि फेलोसिप गर्न १५ वटा पेपरको परिक्षा उत्र्तीण गर्नुपर्नेमा सन् २०१९ पछि १३ वटा पेपर कायम भएको छ। समग्रमा अर्थशास्त्र, गणित र तथ्याङ्कशास्त्रका बिषय यसमा समावेश गरिएका छन्। प्राविधिक शब्दावली केही फरक होलान्। मिति २०२२ जनवरी १२)।

अमेरिकामा एउटा मात्र नभएर तीनवटा ’बीमाङ्की‘ सोसाइटीहरू छन्। जीवन बीमा, निर्जीवन बीमा र पेन्सनसँग सम्बन्धित छुट्टाछुट्टै ’बीमाङ्की‘ पेशाको इजाजत दिने नियमनकारी निकायहरू रहेका छन्। (मिति २०२२ जनवरी १२)। बेलायत तथा भारतका उत्पादनहरू दक्षिण एसिया र अफ्रिकन देशमा कार्यरत रहेका छन्।

१.३. बीमाङ्की पेशाको छाता सङ्गठन

बीमाङ्की पेशाको इजाजत दिने नियमनकारी निकाय क्ष्ब्ब् को स्थापना सन् १८९७ मा भएको हो। आज विश्वका सबैजसो सोसाइटी र एसोसिएसनहरू यसका सदस्य रहेका छन्। विश्वका बीमा नियमनकारी निकायको छाता सङ्गठन आईएआईएसको स्थापना सन् १९९४ मा भएको हो। यसको कूल सदस्य सङ्ख्या लगभग २०० छ। यसको संस्थापक सदस्य नेपाल पनि हो। यसले लगभग छब्बिसवटा बीमा क्षेत्रका कोर प्रिन्सिपलहरूको विकास गरेको छ, तीनै प्रिन्सिपलका आधारमा विश्वका बीमा नियमनकारी निकायको सुपरीवेक्षण गरिन्छ। मिति २०२४ जनवरी १२ ।

१.४. विभिन्न देशका ’बीमाङ्की‘ पेशाको इजाजत दिने नियमनकारी निकाय

भारतमा सन् १९४४ मा स्थापना भएको यो निकाय नियमितरूपमा अध्यावधिक भएर अगाडि बढिरहेको छ। हाल एक्चुरी ऐक्ट, २००६ बाट संचालनमा छ। मिति २०२२ जनवरी १२)। त्यसैगरी, बेलायतमा अठारौं शताब्दीको मध्यतिर स्थापना भई हालसम्म संचालनमा छ। मिति २०२४ जनवरी १२ ।

विश्वमा विकसित देश अमेरिकामा अठारौं शताब्दीको मध्यतिर स्थापना भई एउटा मात्र नभएर तीनवटा सोसाइटीहरू संचालनमा छन्, जस्तै जीवन बीमा, निर्जीवन बीमा र पेन्सनसँग सम्बन्धित छुट्टाछुट्टै
’बीमाङ्की‘ पेशाको इजाजत दिने नियमनकारी निकायहरू रहेका छन्।

सन् १९३७ मा दक्षिण अफ्रिकामा एक्चुरियल क्लब स्थापना भएपछि सोसाइटीको रूपमा संचालनमा आएको र हालसम्म संचालनमा रहेको छ। त्यस्तै जापानमा सन् १८५७ मा स्थापना भई संचालनमा छ। एसियामा राम्रो दक्षता देखाएर कार्यसम्पादन गरिरहेको छ।

अन्य देशको तुलनामा चीनले केही पछि सन् २००८ को मे ४ मा मात्र आफ्नै एक्चुरियल सोसाइटी संचालनमा ल्याएको थियो। आज सयौं क्वालिफाइड एक्चुरीहरूको उत्पादन भएको छ।

२. सर्भेक्षणको विवरण

सर्भेक्षण गर्नुभन्दा अघि नै सम्बन्धित विश्व विद्यालयको आधिकारिक निकाय, विभागीय प्रमुखसंग लिखित अनुमति लिएर एवं प्रश्नावली भर्ने विद्यार्थीहरूको पूर्व स्वीकृति र प्रयोजन खुलाई अर्ध बन्द प्रश्नावलीहरू ३०० विद्यार्थीहरूमा वितरण गरियो। उक्त प्रश्नहरू एक हप्ता अघि नै छपाई गरि बिद्यार्थीहरूको हातमा उपलब्ध गराइ एक हप्ता पछि भरिएका प्रश्नावलीहरू सङ्कलन गर्ने शर्त राखि फारमहरू फिर्ता लिएको थियो।

३. सर्भेक्षणको सम्पादन

वितरण गरिएका ३०० फारमहरू मध्ये २५० फारमहरू विश्वविद्यालयको प्रशासन मार्फत फिर्ता भए। फारममा बिद्यार्थीको नाम, लिंग, ठेगाना, उमेर, प्रमाणपत्रस्तरमा शैक्षिक योग्यताको विषय, फोन नं. ऐच्छिक रूपमा खुलाउन सकिने गरी सूचनामा नै खुलाइएकोमा धेरैले विवरण नखुलाएको अवस्था छ। तीमध्ये केही फारमहरू आङ्शिक मात्र भरेको र केही विवरण अपुरो भएको अवस्था छ। (स्थलगत सर्भेक्षण २०२१)

४. तथ्याङ्क सङ्कलन विधि

प्रश्नावलीमा यो विधा अध्यापन गराउने बिषयगत शिक्षकको अभाव नै रहेको अवस्थामा यो कार्यक्रम संचलानमा ल्याएको हुनाले यस सम्बन्धमा विद्यार्थीको नाम, लिंग, ठेगाना, उमेर, प्रमाणपत्र स्तरमा शैक्षिक योग्यताको विषय शिक्षकको गणस्तरको अवस्था, बीमाङ्की पेशाको लागि उपयोगी हुने किसिमको छ वा छैन, यो पाठ्यक्रम कुनै देशको नियमनकारी निकायको हुबहु वा नेपाली परिस्थितिमा अनुकूल हुने किसिमको छ, छैन, यस कोर्षका सकारात्मक तथा नकारात्मक विषय के के छन् ? आदि पक्षलाई समेटी प्रश्नहरू समावेश गरिएको थियो। (स्थलगत सर्भेक्षण २०२१)

५. तथ्याङ्क प्रसोधन, औजारको विधिः

विद्यार्थीहरूबाट प्राप्त २५० प्रश्नावलीहरूलाई तथ्याङ्कशास्त्रको विधि प्रक्रिया पूरा गरी तालिकीकरण, बर्गीकरण, प्रस्तुतीकरण र विश्लेषण गरिएको विषय तल उल्लेख गरिएको छ।

व्यक्तिगत विवरण

प्रश्नावलीहरूबाट प्राप्त विवरणहरूको आधारमा यस कार्यक्रमा अध्ययन गर्ने बिद्यार्थीहरू मध्ये ४० प्रतिशत छात्र र बाँकी ६० प्रतिशत छात्राहरूको सहभागीता रहेको छ।

त्यसैगरी, प्रदेशगत रूपमा माग गरिएको विवरणमा प्रदेश नं. ३ बाट सबभन्दा बढी र प्रदेश नं.७ बाट सबभन्दा कम प्रतिशत विद्यार्थीहरू यस कार्यक्रममा भर्ना भइ अध्ययन गरेको विवरण प्राप्त भएको छ।

विद्यार्थीहरूको शैक्षिक योग्यताको आधारको विश्लेषण गर्दा विज्ञान संकायबाट ६० प्रतिशत र व्यवस्थापन संकायबाट ४० प्रतिशत सहभागी भएको पाईयो।

कार्यक्रमगत विवरण
–‘‘बीमाङ्कीय’’ शिक्षा अध्ययन गर्नु भन्दा अघि विद्यार्थीहरू यो कार्यक्रमको बारेमा थाहा भए, नभएको सम्बन्धमा प्रश्न गर्दा ४५ प्रतिशतले जानकारी भएको र बाँकी ५५ प्रतिशतले जानकारी नभएको विवरण खुलाएका छन्।

–बीमाङ्की पेशाको उपाधि कुन निकायले दिन्छ भन्ने प्रश्नको जवाफमा ४८ प्रतिशतले र बाँकी ५२ प्रतिशतले थाहा नभएको जानकारी उल्लेख गरेका छन्।

–नेपालमा बीमाङ्की सोसाइटी छ वा छैन भन्ने प्रश्नमा ५० प्रतिशतले छ र बाँकीले छैन भनेका छन्।

–बीमाङ्कीय शिक्षा पढेपश्चात् स्वदेशमा नै रोजगारी पाउन सकिन्छ कि सकिंदैन भनी सोधेको प्रश्नमा ५३ प्रतिशतले पाइन्छ ४७ प्रंतिशतले भन्न सकिंदैन भन्ने जवाफ दिएका छन्।

–बीमाङ्की बिषय बीमाको लागि मात्र आवश्यक छ कि अन्य वित्तीय क्षेत्र लगायतका अन्य निकायमा समेत उपयोगी हुन्छ भन्ने सम्बन्धमा ५१ प्रतिशतले बीमामा मात्र आवश्यक छ र ४९ प्रतिशतले अन्य निकायमा समेत आवश्यक छ भनी उल्लेख गरेका छन्।

–तपाईले यो कार्यक्रम अध्ययन गर्नुको प्रमुख उद्देश्य के हो भन्ने प्रश्नमा ५६ प्रतिशतले विदेशमा राम्रो रोजगारी पाउने भएकाले र बाँकी ४४ प्रतिशतले नेपालमा नै केही सेवा गर्नका लागि भनी विवरणहरू समावेश गरेको अवस्था छ।

–कार्यक्रम समाप्त पश्चात कार्य सम्पादनका लागि थप पेशागत तालिमको आवश्यक पर्ला कि यसै कार्यक्रमको ज्ञानबाट बीमा लगायत वित्तीय क्षेत्रमा कार्य गर्न सकिन्छ भन्ने प्रश्नमा ६१ प्रतिशतले थप पेशागत तालिमको आवश्यकता पर्ने र बाँकी ३९ प्रतिशतले थप तालिम आवश्यक नपर्ने कुराको विवरण उल्लेख गरेका छन्।

–यो कार्यक्रममा समावेश भएको पाठ्यक्रमले बीमा पेशागत परीक्षामा सहभागीता हुन उपयोगी हुन्छ कि हुँदैन भन्ने बिषयमा ५८ पं्रतिशतले उपयोगी छ र बाँकीले थाहा छैन भन्ने जानकारी दिएका छन्।

–कार्यक्रम कुनै बिमाङ्कीय पाठ्यक्रम नियमनकारी निकायको हुवहु साभार जस्तो छ कि नेपालीपन झल्कने किसिमको छ भनी सोधेको प्रश्नमा ५७ प्रतिशतले विदेशीको हुवहु साभार र बाँकीले मिश्रीत छ भनी विवरण भरेका छन्। नेपालमा यस विषयको शिक्षकको अभाव भएकाले कार्यक्रमको गुणस्तरको बारेमा सोधिएको

प्रश्नमा ४५ प्रतिशतले गुस्तरको छ र ५५ प्रतिशतले सामान्य नै छ भन्ने जवाफ दिएका छन्। (स्थलगत
सर्भेक्षण २०२१)

६. तथ्याङ्क विश्लेषणको परिणाम
प्रश्नावलीमा समावेश भएका जवाफहरूलाई दुई भागमा विभाजन गरी प्रस्तुत गरिएको छ।

व्यक्तिगत विवरण
सहभागी बिद्याथीहरू मध्ये छात्राहरूको सहभागिताको स्तर छात्रको तुलनमा बढी उत्साहजनक भएको पाइयो। नेपालमा सामान्यतया महिलाले टेबल वर्क र पुरूषले फिल्डगत कार्य गर्न रूचाउने अभ्यास छ। यसको कारण यो हुन सक्दछ कि यो पेशा टेबल वर्क भएको र काठमाण्डौं उपत्यकाभित्र नै कार्यक्रम सचालन भएकोले धेरै छात्राहरू सहभागी भएको हुन सक्ने देखिन्छ।

–त्यसैगरी, प्रदेशगतको अवस्थाको बिश्लेषण गर्दा प्रदेश नं. ३ (बागमती) बाट सबभन्दा बढी र प्रदेश नं. ७ (सुदूरपश्चिम) बाट सबभन्दा कम विद्यार्थी कार्यक्रममा भर्ना भई अध्ययन भएको पाइयो। काठमाण्डौं उपत्यकाभित्र नै कार्यक्रम सचालन भएको र साक्षरतादर बढि भएको र बीमा कम्पनी तथा वित्तीय संस्थाका मुख्य कार्यालय काठमाण्डौंमा नै रहेकाले यस कार्यक्रमको महत्व यहाँका बासिन्दाले बढी जानकारी भएको तथा तयारी कक्षाको पहुँच काठमाण्डौमा नै बढि भएकोले बागमती प्रदेश अगाडि हुन सक्ने देखिन्छ। त्यस्तै माथिका पक्ष लगायत सुदूरपश्चिम प्रदेशमा मा प्रचार–प्रसार र जानकारी कम भएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

विद्यार्थीहरूको शैक्षिक योग्यताको आधारको बिश्लेषण गर्दा विज्ञान संकायबाट बढि र ब्यवस्थापन संकायबाट कम सहभागी भएको पाईयो। यसको कारणलाई विश्लेषण गर्दा यो कार्यक्रम बढि गणित विषयसग सम्बन्धित रहेको कारण हुन सक्ने आधार बलियो देखिन्छ। (स्थलगत सर्भेक्षण २०२१)

कार्यक्रम सम्बन्धमा

–‘‘बीमाङ्कीय’’ शिक्षा अध्ययन गर्नु भन्दा अघि विद्यार्थीहरू यो कार्यक्रमको बारेमा थाहा भए, नभएको सम्बन्धमा प्रश्न गर्दा कम प्रतिशतले जानकारी भएको र बढी प्रतिशतले जानकारी नभएको विवरण खुलाएका छन्। यो बिषय नेपालमा नयाँ र प्रथम पटक मात्र संचालनमा आएकोले भर्ना पूर्व जानकारी नभएको हुन सक्ने बलियो आधार देखिन्छ।

–बीमाङ्की पेशाको उपाधि कुन निकायले दिन्छ भन्ने प्रश्नको जवाफमा कम प्रतिशतले र बढी प्रतिशतले थाहा नभएको जानकारी उल्लेख गरेका छन्। माथी नै उल्लेख भए झैं नेपालमा नयाँ र प्रथम पटक मात्र संचालनमा आएकोले भर्ना पूर्व यससंग अन्य जानकारी नभएको हुन सक्ने देखिन्छ।

–नेपालमा बीमाङ्की सोसाइटी छ वा छैन भन्ने प्रश्नमा बराबर प्रतिशतले छ र छैन भनेका छन्। संयोग मात्र बराबरी हुन सक्दछ। प्रवेशको चरणमा भएकोले जानकारी नहुनु स्वभाविक नै देखिन्छ।

–‘‘बीमाङ्कीय शिक्षा पढे पश्चात स्वदेशमा नै रोजगरी पाउन सकिन्छ की सकिंदैन भनि सोधेको प्रश्नमा बढि प्रतिशतले पाईन्छ कम प्रतिशतले भन्न सकिदैन भनि जवाफ दिएका छन्। नेपालमा नयाँ बिषयले पाउने कुरामा आशावादी भएको हुन सक्ने दखिन्छ।

–’बीमाङ्की‘ बिषय बीमाको लागि मात्र आवश्यक छ कि अन्य वित्तिय क्षेत्र लगायतका अन्य निकायमा समेत उपयोगी हुन्छ भन्ने सम्बन्धमा बढी प्रतिशतले बीमामा मात्र आवश्यक छ र कम प्रतिशतले अन्य निकायमा समेत आवश्यक छ भनि उल्लेख गरेका छन्। पाठ्यक्रमा वित्तिय क्षेत्र, धितोपत्र आदि बिषय समेत समावेश भएकोले यस्तो अनुमान लगाएको हुन सक्दछ।

–तपाईंले यो कार्यक्रम अध्ययन गर्नुको प्रमुख उद्देश्य के हो भन्ने प्रश्नमा बढी प्रतिशतले विदेशमा राम्रो रोजगारी पाउने भएकाले र बाँकी कम प्रतिशतले नेपालमा नै केही सेवा गर्नका लागि विवरणहरू समावेश गरेको अवस्था छ। आधुनिक समयमा विस्तार र बढोत्तरी भएको शिक्षा, पेशा भएकोले विदेशमा राम्रो पारिश्रमिक पाउने कुरा विभिन्न वेभ साइटहरूमा जानकारी भएकोले विद्यार्थीले यो अनुमान गरेको हुन सक्दछ।

–कार्यक्रम समाप्ती पश्चात् कार्य सम्पादका लागि थप पेशागत तालिमको आवश्यक पर्ला कि यसै कार्यक्रमको ज्ञानबाट बीमा लगायत वित्तीय क्षेत्रमा कार्य गर्न सकिन्छ भन्ने प्रश्नमा बढी प्रतिशतले थप पेशागत तालिमको आवश्यकता पर्ने र कम प्रतिशतले आवश्यक नपर्ने कुराको विवरण उल्लेख गरेका छन्। प्राविधिक विषय आफंैमा जटिल र नयाँ प्रविधियुक्त रहन्छ, दिन दुई गुणा र रात चार गुनाका हिसाबले परिवर्तन भई रहेने भएकोले थप तालिमबाट राम्रो कार्यसम्पादन हुने भएकाले यसो भनिएको हुन सक्ने बलियो आधार देखिन्छ।

– यो कार्यक्रममा समावेश भएको पाठ्यक्रमले बीमाङ्की पेशागत परिक्षामा सहभागिता हुन उपयोगी हुन्छ की हुँदैन भन्ने विषयमा बढी प्रतिशतले उपयोगी छ र कमले थाहा छैन भन्ने जानकारी दिएका छन्। भर्खरै मात्र बेलायती बिमाङ्की सोसाइटीको परिक्षामा पहिलो ब्याजका २७ जनामध्ये लगभग २० जनाले एकदेखि ७ पेपरसम्म उत्तीर्ण गरेकोले यस्तो परिणाम प्राप्त भएको हुन सक्दछ।

– कार्यक्रम कुनै बीमाङ्कीय नियमनकारी निकायको हुवहु साभार जस्तो छ कि नेपालीपन झल्कने किसिमको छ भनी सोधेको प्रश्नमा ५७ प्रतिशतले विदेशीको हुवहु साभार र बाँकीले मिश्रीत छ भनी विवरण भरेका छन्। माथि उल्लेख भए झैं बेलायती बिमाङ्कीय सोसाइटीको परीक्षामा अधिकाङ्शले राम्रोसँग उत्र्तीण गरेकोले यस्तो परिणाम प्राप्त भएकोले हुन सक्दछ।

नेपालमा यस विषयको शिक्षकको अभाव भएकाले कार्यक्रमको गुस्तरको बारेमा सोधिएको प्रश्नमा कम प्रतिशतले गुस्तरको छ र बढी प्रतिशतले सामान्य नै छ भन्ने जवाफ दिएका छन्। नेपालमा प्रथम पटक संचालनमा आएको र विषय विज्ञको कमी नै रहेको अवस्थाले यस्तो नजिता प्राप्त भएको हुने आधार बलियो देखिन्छ। ( स्थलगत सर्भेक्षण २०२१)

७. तथ्याङ्कको बिश्लेषण र छलफलबाट बीमाङ्की पेशाको विकासका लागि प्राप्त सुझावहरू

राज्यको सर्वाङ्गीण विकासको लागि जनशक्तिको विकास र आपूर्ति पहिलो शर्त रहने विषय भएको निजी श्रोतबाट संचालित यस बीमांड्ढीय प्राज्ञिक कार्यक्रमलाई नेपाल सरकारको पूर्णरूपमा आर्थिक सहायता प्रदान गरी क्रमशः अन्य विश्वविद्यालयको प्रादेशिकस्तरमा समेत अध्ययन अध्यापनको ब्यवस्था मिलाउन सके देशमा नै प्राविधिक गुणस्तरीय जनशक्ति उत्पादन भई बीमा लगायत वित्तीय क्षेत्रको विकासमा प्रत्यक्ष लाभ पुग्ने र हाल बीमाङ्की परामर्शदाताको शीर्षकमा करोडौं धनराशी विदेशिने अवस्थालाई क्रमशः कम गरी स्वदेशी जनशक्तिहरूले रोजगारी पाउने अवस्था श्रृजना गर्न गराउन आवश्यक देखिन्छ। (स्थलगत सर्भेक्षण २०२१)

यसको लागि अल्पकालमा नेपाल सरकार, शिक्षा मन्त्रालय, नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय मार्फत बीमाड्ढीय विज्ञान अध्ययन गर्न विदेशी छात्रवृत्तिको ब्यवस्था मिलाई आवश्यक जनशक्रिको आपूर्ति गर्नु पर्ने देखिन्छ। मध्यकालमा हाल त्रि.वि. मा संचालन भइरहेको कार्यक्रमलाई क्रमशः अगाडि बढाउँदै अन्य विश्वविद्यालयको प्रादेशिकस्तरमा समेत अध्ययन अध्यापनको ब्यवस्था मिलाउने साथै हाल बेलायती बीमाङ्की सोसाइटीहरूका परीक्षा केन्द्र काठमाण्डौंमा संचालनमा रहेको तर छिमेकी भारतको बीमाङ्की सोसाइटीहरूका परीक्षा केन्द्र काठमाण्डौंमा नभएको अवस्थामा नेपालमा त्यस्ता परीक्षा केन्द्र खोल्न पहल गर्ने र दीर्घकालमा बीमाङ्की इजाजत लिएर विदेशमा रहेका नेपाली जनशक्तीहरूको प्राविधिक सहायता लिई नेपालमा नै यस्तो बीमाङ्की इजाजत प्रदान गर्ने सोसाईटी गठन गर्न बीमाङ्की सोसाईटी सम्बन्धी ऐन, नियमावली र संरचनागत व्यवस्थाका लागि आजै सबै सरोकारवालाबाट नियमित पहल गर्नु आवश्यक छ। (स्थलगत सर्भेक्षण २०२१)

८. निष्कर्ष
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विएस्सी इन एक्चुरीयल कार्यक्रमको सम्बन्धमा त्यहाँ अध्ययन गरेका बिद्यार्थीलाई समावेश गरी सो कार्यक्रमको सम्बन्धमा अनुभव हासिल गरेका विद्यार्थीहरूको जानकारी लिने उद्देश्यले तयार गरिएको हो। समग्रमा सर्भेमा सबैको राम्रो प्रतिनिधित्व भई विद्यार्थीले फारमहरू फिर्ता गरेको आधारमा राम्रो सहभागिता र चाख रहेको अवस्था छ। यो विषय नयाँ भइकन पनि धेरैले चाखका साथ भर्ना भई अध्ययन गरिरहेका छन्। कार्यक्रम त्रिभुवन विश्वविद्यालय अन्तर्गत भए पनि स्वतन्त्र आम्दानी र खर्चको अवधारणामा संचालन भएको हुँदा एकजना निर्देशक त्रिभुवन विश्वविद्यालयबाट खटिनुभएको, प्राध्यापक र कर्मचारी अन्य बाह्य श्रोतबाट ब्यवस्था गरिएको अवस्थाले गुणस्तर सुधारमा श्रोत, आम्दानीको केही कमी भएको अवस्था पाउन सकिन्छ। त्यसैले यस्ता कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले सरकारी श्रोतबाट संचालन गर्दा बढी प्रभावकारी हुने बिद्यार्थीहरूको खुल्ला जवाफमा उल्लेख भएको छ। ( स्थलगत सर्भेक्षण २०२१)

कार्यक्रम छोटो समयमा नै विद्यार्थी र अभिभावकबीच अत्यन्तै लोकप्रिय र सफल भएको हाम्रा प्रश्नावलीहरूको जवाफ विद्यार्थीबाट प्राप्त भएका आधारमा एवम् त्यहाँबाट अध्ययन पश्चात् र बेलायतको सोसाइटीको परीक्षा उत्तीर्ण भएका बिद्यार्थीहरूले बीमा लगायतको क्षेत्रमा तुरूतै रोजगारी पाएको अवस्थाले प्रमाणित गरेको छ। यो पेशा बीमा लगायत वित्तीय क्षेत्रको विकास, विस्तार, लगानी, रोजगारी बृद्धिका साथै समग्र अर्थतन्त्रलाई चलायनमान बनाउन बीमाङ्कीय विज्ञान अति नै आवश्यक र उपयोगी जनशक्तिका रूपमा स्थापित भएको छ। नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, बीमा कम्पनी, अन्य वित्तीय क्षेत्रका नियामक निकाय र कोष ब्यवस्थान गर्ने निकायका लागि समेत क्रमशः यस्तो जनशक्तिको खाँचो महशूस भइरहेको छ। अति आवश्यक बीमाङ्की जनशक्ति नेपालभित्र नरहेको अवस्थामा यसको विकासमा सबै सरोकारवालाबाट पहल हुन जरूरी छ।

( रेग्मी नेपाल बीमा प्राधिकरणका  निर्देशक हुन् । प्रकाशित लेख प्राधिकरणको ५६औं वार्षिकोत्सव विशेषांक २०८१, बीमा समाचार र विचारबाट साभार गरिएको)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*