राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारबीच सामूहिक दुर्घटना बीमा सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनीका पत्रकारहरूबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल पत्रकार महासंघ लुम्बिनीमा आवद्ध एक हजार ६२ जना पत्रकारहरूको सामूहिक दुर्घटना बीमा गरिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेश, राष्ट्रिय बिमा कम्पनी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिकाबीच चालु आवको प्रदेशको नीति तथा कार्यक्रम बमोजिम समितिमा आवद्ध एक हजार ६२ जना पत्रकारहरूको कुल बीमांक ६६ करोड ३७ लाख ५० हजार रुपैयाँ रहने गरी सामूहिक दुर्घटना बीमाको सम्झौता भएको हो ।
सो सम्झौतामा मन्त्रालयका तर्फबाट मन्त्रालयका सुचना अधिकारी अधिकृत सातौ कालिदास बस्याल, मन्त्रालयका कर्मचारी शैलेस शर्मा, राष्ट्रिय बिमा कम्पनीका तर्फबाट व्यवस्थापक देवराज घिमिरे, सहायक व्यवस्थापक बिष्णु प्रसाद खनाल र समितिका तर्फबाट अध्यक्ष वसन्त गिरी, उपाध्यक्ष चुमा आचार्यको संयुक्त हस्ताक्षरबाट सम्झौता भएको हो ।
कार्यक्रममा राष्ट्रिय बिमा कम्पनीका व्यवस्थापक तथा बजार व्यवस्थापन बिभाग प्रमुख देवराज घिमिरेले राज्यका हरेक तह र तप्कामा बीमा योजना पुर्याई आम जनसमुदायलाई बीमाको दायरामा ल्याई रक्षावरण गराउने मुल उद्देश्य राष्ट्रिय बिमा कम्पनीले लिएको बताउदै सो को लागि कम्पनीले आउदो दिनमा पनि विभिन्न बीमा सम्बन्धी कार्यक्रममार्फत शशक्त ढंगबाट नेपाली बजारमा आम मानिसमाँझ जाने जानकारी दिए ।