२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

राजन कठायत
६ असार २०८१, बिहीबार १४:३०

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन लाइफसँगको संयोगले जीवनको उद्देश्य, परिभाषा र लक्ष्य फेरिएको छ ।

जीवनको उर्वर समयमा २५ वर्ष बालबालिकालाई शिक्षित बनाउन खर्च गरेकी संजिता रजौरेले ४० वर्ष कटेपछि सुरु गरेको बीमा व्यवसायले मनग्य आम्दानी र खुशी दुवै दिएकोमा दंग परेकी छिन् ।

हरेक मानिसले कुनै पनि सफलता प्राप्त गर्नका लागि निरन्तर संघर्ष गर्नुपर्छ भन्ने उदाहरण दाङ, तुलसीपुरकी शिक्षिका तथा सिटिजन लाइफकी अभिकर्ता संजिता रजौरे पनि एक हुन् । करिव ६ वर्षको अवधीमा नै जीवन बीमा व्यवसायमा उल्लेख्य सफलता हासिल गर्न सफल दाङकी रजौरेले आफूलाई उदाहरणीय र एक व्यवसायीक बीमा अभिकर्ताको रुपमा आफ्नो परिचय बनाउन सफल भएकीछिन् ।

करिव २५ वर्षदेखि निरन्तर शिक्षण पेशामा आवद्ध भएर गाँउ समाजका बालबालिकालाई शिक्षित र रोजगार प्रवद्र्धन गर्न सफल भएकी एक साहसी महिलाका अभिकर्ता हुन् संजिता रजौरे । सुरुमा शिक्षण पेशा गर्दै आएकी उनी बीमा अभिकर्ता पेशामा आए पश्चात सफलताको कथामा रुपान्तरण मात्रै भएन, अझै दह्रो आत्मविश्वास, मनग्य आम्दानी र सम्मान सबै प्राप्त गर्न सफल भएकी छिन् । संजिताका श्रीमान भगवत रजौरे पनि एकदमै सहयोगि भावनाका छन् । उनको बुवाको नाम डिल्लिराज रजौरे र आमा नारायणी रजौरे  हुन् ।

दाङ, जिल्लाको तुलसीपुर उप–महानगरपालिका ६ घर भएकी संजिता रजौरेले त्रिभुवन विश्व विद्यालयबाट शिक्षाशास्त्र संकायमा स्नाकोत्तर गरेकीछिन् । विश्व विद्यालयमा अध्ययन गर्ने क्रममा आफ्ना सहपाठी दिपेन लम्सालको सल्लाह र सुझावबाट अभिकर्ता पेशा आबद्ध भएकी थिईन् । सिटिजन लाइफमा आबद्ध हुनु नै संजिताको जीवनमा नयाँ मोड आयो । दिपेन लम्साललाई धन्यवाद दिँदै उनले भनिन्, ‘दिपेन लम्साल र म सँगै पढ्ने साथी हौं । तर, म उमेरले उहाँभन्दा ठूलो भएका कारण म उहाँलाई भाई भन्थे । उहाँ सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएर काम गर्दै हुनुहुन्थ्यो । र, मलाई पनि अभिकर्ता भएर काम गर्न प्रोत्साहन गरेपछि मैले अभिकर्ता लाईसेन्स लिए, आज सामाजिक प्रतिष्ठा, आम्दानी र जीवनमा खुशी भर्न सफल भएकी छु ।’

कम्पनीको घोराही शाखा कार्यालयबाट अभिकर्ता लाइसेन्स प्राप्त गरेकी संजितालाई शुरुमा बीमा गराउनै साह्रै गाँह्रो भएको बताउँछिन् । ‘बीमा अभिकर्ता बन्न एकदमै सजिलो छ, तर अभिकर्ता बनेर जब नागरिकहरुलाई बीमा गराउँनु पर्दा अनि बल्ल थाहा हुन्छ, अभिकर्ता पेशा भनेको के हो भनेर !’ भावुक हुँदै अभिकर्ता रजौरे आफ्ना दुःख सुनाउँछिन् ।

दाङका नागरिकहरूलाई बीमाको दायरामा ल्याउने उद्देश्यले केन्द्रिय कार्यालयलाई दाङको तुलसीपुरमा पनि शाखा चाँहिन्छ भन्दै बारम्बार माग गरेपछि कम्पनीले तुलसीपुरमा पनि नयाँ शाखा विस्तार गरेको अभिकर्ता संजिता रजौरेले सुनाइन् । तुलसीपुरमा नयाँ शाखा कार्यालय विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कारण आफुलाई उक्त शाखा कार्यालयको ‘अविभावक’को रुपमा चिन्दै आएको समेत उनी सुनाउँछिन् ।

बीमा अभिकर्ता बनेपछि सबैभन्दा पहिले उनले आफ्नै बीमा गरेको सुनाउँदै उनी भन्छिन्, ‘अभिकर्ता भैसकेपछि सबैभन्दा पहिले म आफैँले आफ्नो बीमा गरेकी थिएँ । किनभने, जब मैलै पहिला आफ्नो जोखिम हस्तान्तरण गर्न सकेपछि पो आम नागरिकको बीमा गरी जोखिम हस्तान्तरण गर्न सक्छु, भन्ने सोँचले आफ्नो बीमा गरेँ र हिजोआज आफ्नो इष्टमित्र, विद्यार्थीहरुको समेत बीमा गर्दै आएकी छु ।’

‘समृद्ध, पूर्ण रुपमा शिक्षित र जनचेतना भएका नागरिकहरुले आफै बुझेर बीमा गरिसकेका हुन्छन् । तर, यो बीमाको बारेमा अलि–अलि थाहाँ पाएका तर पूर्ण रुपले जानकारी नपाएका मानिसहरुले चाँही गाउँ समाजमा नागरिकहरुलाई गलत सूचना प्रवाह गर्ने र अभिकर्ता पेशाको मजाक उडाउँने प्रवृति रहेको उनी सुनाउँछिन् ।’ साथै, उनले यस्ता विभिन्न प्रवृतिका नागरिकहरूलाई आफुले सम्झाई–बुझाई बीमा गर्दै आएको सुनाईन् ।

गाउँ घरमा सर्वसाधारण मानिसहरुलाई बीमा गराउन सजिलो छ । उहाँहरुलाई बीमाको बारेमा सबै कुरा बुझाउँदा राम्रोसँग बुझ्ने र आफ्नो आर्थिक स्थिति अनुसार सानो–सानो पोलिसी भएपनि खरिद गर्ने गरेको सुनाउँछिन् ।

बजारमा थुप्रै मानिसहरुले अभिकर्ता लाईसेन्स लिएका हुन्छन् । तर, नागरिकहरुले विश्वासिलो र परिचित अभिकर्ताहरुसँग मात्र बीमा गराउने गरेको बुझाई छ । ‘बीमा गराउनका लागि सर्वसाधारणलाई विश्वास दिलाउनु ठूलो संघर्ष गर्नुपर्ने रहेछ । म शिक्षक भएको कारण, मलाई बीमा गराउन त्यति गाह्रो भएन । छोराछोरीहरूका लागि आमा–बुबाको महत्व जति रहेको हुन्छ, त्यति नै सम्पत्तिको लागि पनि उत्तिकै महत्व हुन्छ ।’ उनी सुनाउँछिन् ।

शिक्षण पेशा र अभिकर्ता पेशाका साथै परिवारको समेत ख्याल गर्नु सामान्य कुरा हुँदै होइन् । तर, अभिकर्ता रजौरेले शिक्षण पेशा, अभिकर्ता पेशाका साथै आफ्नो परिवारलाई मिलाएर गाउँ समाजमा आफ्नो राम्रो परिचय बनाउन समेत सफल भएकी छिन् । ‘मैले मेरो परिवारलाई सँधै व्यवस्थित बनाएर अगाडी बढेकी छु ।’ मेरो श्रीमानले मैले सोचेको भन्दा पनि बढी साथ दिनुभएको छ । सोही कारण मैले अभिकर्ता पेशामा पनि सफलता हासिल गरेकी छु । ‘अबको तीन महिनामा त मेरो श्रीमान शिक्षण पेशाबाट अवकाश लिँदै हुनुहुन्छ । उहाँले आफूले घर परिवारको काम पनि म गरौला र अनि तिमी निर्धक्कसँग नागरिकको बीमा गराउनु भन्नुभएको छ ।’ परिवारको साथले अझ रजौरेलाई थप हौसला र आत्मविश्वास बढेको अनुभव बीमापोष्टलाई सुनाइन्।

४७ वर्षको उमेरमा पनि रजौरेले सफलतापूर्वक नागरिकहरुको जीवन बीमा गर्र्दै आएकी छिन् । ‘यो उमेरमा पनि नागरिकहरुको बीमा गर्न पाउँदा र उहाँहरुको जोखिम हस्तान्तरण गर्न पाउँदा आफुलाई निकै भाग्यमानी ठानेकी छु’, अभिकर्ता रजौरे सुनाउँछिन् । उनका अनुसार बीमा अभिकर्ता पेशा भनेको पैसा कमाउने भन्दा पनि समाजसेवाको भावले गर्ने पेशा पनि हो भन्छिन् ।

वार्षिक रुपले ४० जनादेखि ६० जनासम्मको बीमा गर्दै आएकी उनले हालै १ जना बीमितको दावी भुक्तानी गरेको अनुभव बताउँछिन । ‘मैले एक जना मेरो विद्यार्थीको बीमा गरेको थिएँ । केही समय अगाडी स्वास्थ्यमा एक्कासी समस्या आएर उनले ज्यान गुमाए । अनि, मैले सबै कागजी प्रक्रिया पूरा गरेर उनको घरमा गई दावी भुक्तानी उपलव्ध गराएँ ।’ बीमाको रकमले बीमितको परिवारको समस्या सामाधान भएपश्चात आफूलाई बीमा भन्दा पनि समाजसेवा गरेको अनुभूती शब्दमा वयान गर्न नसकिने बताइन् । ‘बीमितको परिवारले खुशी हुँदै सोही रकमले आफ्नो नातीको पनि बीमा गराएका थिए ।’

मेरो स्वास्थ्यले साथ दिएसम्म बीमा अभिकर्ता पेशालाई निरन्तरता दिँदै नागरिकहरूको बीमा गराउँने उद्देश्य रहेको बताउँछिन् संजिता । ‘कम्पनीले विभिन्न समयमा ल्याउने गरेका अभिकर्ता लक्षित तालिमहरुमा सहभागी हँदै आएकी छु ।’ उनले विभिन्न मोटिभेसनल प्रशिक्षण र अनलाईन तालिम बेलाबेलामा लिँदैै आएकी बताइन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफूलाई हरप्रकारको काममा सहयोग गर्दै आएको र आफूले पनि स–सानो गरी छरिएर रहेको पूँजीलाई बीमा मार्फत संकलन गरी देश निर्माणमा समेत टेवा पुयाउनु पाउँदा खुशी लाग्ने गरेको सुनाईन् ।

मानिसको जीवनमा बीमाको धेरै नै महत्व भएको तर शिक्षा र चेतनाको अभावमा बीमा अझै गरिब र न्यून आय भएका जनताको पहुँचमा पुग्न नसकेको गुनासो गर्छिन । सरकारले बीमा सचेतनाको लागि काम गरेर नागरिकको जीवन र आर्थिक दायित्व बीमा गरेर जोखिम रक्षावरण गर्नुपर्ने बताउँछिन् । बीमा भन्ने चिज आवश्यकता परेको बखत गर्न नपाइने हुँदा आजै बीमा गरेर भविष्यमा आइपर्ने आपतबाट बच्नुपर्ने उनि बताउँछिन् ।

दाङका शहरी क्षेत्रमा संजिता रजौरेले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितहरुलाई त राहत मिलेकै छ त्यसबाहेक गाउँ गाउँका गरिब बस्तीहरुमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना फैलाउन सफल भएकी छिन् । नागरिकको सेवा गरी बीमा सेचतना बढाउने र आफ्नो आम्दानी पनि बढाउने अभियानमा लागेकी संगिता रजौरेले भविष्यमा अझै बीमाको दायरा बृद्धि गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दछिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*