न्यून आय भएका साढे एक लाख बीमित लघुबीमामा जोडिए, सात कम्पनीले गरे साढे २९ करोडको व्यापार

पुरुषोत्तम नेपाल
६ असार २०८१, बिहीबार १३:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख महिनासम्म लघुबीमा कम्पनीमा एक लाख ३८ हजार ५२५ जना बीमित (सक्रिय) जोडिएका छन् । लघुबीमा कम्पनीले उक्त संख्याको बीमालेखबाट सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँको व्यवसाय गरेको हो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्मको तथ्यांकअनुसार जीवन लघुबीमा कम्पनीहरूले ५२ हजार ९९९ बीमालेख जारी गरेका छन् । यो सक्रिय बीमालेखको संख्या हो । सो बीमा गर्दा बीमितबाट कम्पनीले प्रथम बीमाशुल्कबापत १० करोड १९ लाख रुपैयाँ संकलन भएको छ भने नवीकरण सहित १० करोड २० लाख रुपैयाँ संकलन भएको छ ।

समीक्षा अवधिसम्म सञ्चालनमा रहेका तीन जीवन लघुबीमा मध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३४ हजार ७०० बीमालेख जारी गर्दा छ करोड ३३ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १४ हजार ३५४ बीमालेख जारी गर्दा दुई करोड ४८ हजार रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ । लिवटी माइक्रो लाइफ इन्स्योरेन्सले तीन हजार ९३६ बीमालेख बिक्री गरेर एक करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा चारवटा लघुनिर्जीवन बीमा कम्पनीले ८५ हजार ५४५ बीमालेख जारी गर्न सफल भएका छन् । सो संख्याको बीमालेख जारी गरेर कम्पनीहरूले १९ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।

समीक्षा अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ३८ हजार ४९२ बीमालेख जारी गरेको छ । यसबाट कम्पनीले सात करोड ६७ लाख ९० हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २० हजार ३३३ बीमालेख बिक्री गरेर छ करोड १४ लाख ८० हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले २१ हजार १२९ बीमालेख जारी गरेर चार करोड २५ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ ।

लघुबीमा अरू बीमालेखले समेट्न नसकेको वा बीमाको पहुँचमा पुग्न नसकेका न्यून आय भएका वर्गप्रति लक्षित रहेको छ । ग्रामीण तथा दुर्गम भूभागमा बसोबास गर्ने, न्यून आय भएका व्यक्तिको जीवनमा आइपर्न सक्ने सम्भावित जोखिम कम गर्र्ने लक्ष्यका साथ लघुबीमाको स्थापना भएको हो । लघुबीमामा थोरै बीमांकको बीमा, कम झन्झट, थोरै बचतले बीमा शुल्क तिर्न पुग्ने भएकाले लक्षित वर्गमा लघुबीमा निकै प्रभावकारी रहेको छ । लघुबीमामा विशेषतः स्वास्थ्य, दुर्घटना, गार्हस्थ्य, बाली, पशुपन्छी, लघु व्यवसाय, सावधिक, म्यादी लघु जीवन बीमा र गम्भीर प्रकृतिको रोगका बीमा पर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*