अभियान लघुवित्त र युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आज
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आज असार ६ गते वार्षिक साधारणसभा गर्दैछन् ।
अभियान लघुवित्तको चौथौं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे देखि शुरू हुनेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले अन्य कुनै ‘घ’ वर्गको लघुवित्त कम्पनीसँग मर्जरको प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सोका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ती गर्ने तथा मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी प्रदान गर्नेजस्ता ऐजेण्डा रहेका छन् । जेठ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
युनाइटेड मेवा खोलाको प्रथम वार्षिक साधारणसभा आज काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ११ बजे देखि शुरू हुनेछ । सभाले आईपीओ निष्काशनको विषयमा छलफल गर्नेछ । गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नयाँ परियोजनामा लगानी गर्ने, शेयरधनी सदस्यका तर्फबाट तीन जना प्रतिनिधि मनोनयम गर्नृे र पूँजी संरचना संशोधन गर्ने लगायतका सम्बन्धमा छलफल एवम् निर्णय गरिनेछ ।