ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढाउने तयारी, कर प्रणाली सुधार समितिले गर्यो सिफारिस

४ असार २०८१, मंगलवार १२:३६

काठमाडौं। ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभकरलाई १० प्रतिशत पुराउन विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले सुझाव पेश गरेको छ।विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको हो ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।

पूर्वमन्त्री विद्याधर मल्लिक संयोजक रहेको समितिले दिएको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको सुझावअनुसार गएमा सरकारले व्याज, लाभांशमा रहेको विद्यमान ५ प्रतिशतको कर आगामी ५ वर्षभित्र १० प्रतिशत पुने छ।

घरजग्गा कारोबारमा पनि कडाइ गर्न सुझाव दिइएको छ । घरजग्गा कारोबारमा हुने न्यूनतम मूल्यांकन पद्धतिबाट प्रत्येक कित्ताको मूल्य अभिलेखन प्रणाली अवलम्बन गरी वास्तविक मूल्य घोषणा हुने गरी प्रणालीको विकास गर्न सुझाव दिइएको छ ।

व्यक्तिगत आयकरका दरहरुलाई पुनरावलोकन गर्न पनि भनिएको छ। अहिले रहेको १०, २०, ३०, ३६ र ३९ प्रतितशको दरलाई १०, २० र २५ को तीनवटा दरमा कायम गर्न भनिएको छ । वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका करदातालाई करको अन्तिम स्ल्याबमा २० प्रतिशत सरचार्जको व्यस्था गर्न सरकारलाई समितिले सुझाव दिएको हो ।

कर छुटको सीमालाई करको दर तथा मुद्रास्फीति तथा कर गणनामा खर्च दिने रकमको आधारमा दर कम बनाउँदा छुट सीमा यथावत गरी छुट सीमामा लाग्दै आएको १ प्रतिशत सामाजिक सुरक्षा कर खारेज गर्न पनि भनिएको छ। समितिमा पूर्व सचिव लक्ष्मण अर्याल, प्रा. डा रामप्रसाद ज्ञवाली र भन्सार विज्ञ श्यामप्रसाद दाहाल सदस्य थिए ।

मल्लिकको भनाइअनुसार वार्षिक आयको हिसावपछि नोक्सानीमा परेका बेला यो व्यवस्थाअनुसार कर तिर्नै पर्दैन । हाल व्यक्तिले नाफामा लाभकर तिर्ने तर नोक्सानी हुँदा त्यसमा समायोजन गर्न पाउने सुविधा छैन ।

कुनै लगानीकर्ताले एक वर्षभित्र होल्ड गरेको एउटा कम्पनीको सेयर बेच्दा १ लाख रुपैयाँ नाफा (पूँजीगत लाभ) पाउँछ तर अर्को कम्पनीको सेयरमा सोही आवमा डेढ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ भने उसले हाल १ लाखको साढे ७ प्रतिशतका दरले ७ हजार ५ सय पूँजीगत लाभकर तिर्नैपर्ने व्यवस्था छ । तर डेढ लाख रुपैयाँ नोक्सानीमा भने उसले कुनै क्षतिपूर्ति पाएको हुँदैन ।

यदि सो व्यक्तिले आयकर व्यवस्थाअनुसार कर तिरेमा उसले नोक्सानी ब्यहोरेको डेढ लाख रुपैयाँ अर्को वर्ष नाफाबाट घटाउन सक्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*