बीमापोष्टमा प्रकाशित समाचार राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाद्धारा खण्डन

३ असार २०८१, सोमबार १९:४८

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी ( आरबिसिएल) का डेपुटी सिईओ सुवास कोईराकोले बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् ।
बीमापोष्टमा गत जेठ २८ गते प्रकाशित ‘राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस’ र मिति २०८१ जेठ ३० गतेको ‘घोटला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?’ शीर्षकको समाचार असत्य भएको भन्दै खण्डन गरेका छन् ।

खण्डनको पूर्ण अंशः
श्री सम्पादक ज्यु
उपरोक्त सम्बन्धमा श्री राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्धारा सञ्चालित त्यस बीमापोष्ट डट कमको मिति २०८१ जेठ २८ गतेको ‘राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्बन गर्न प्राधिकरणको सिफारिस’ तथा मिति २०८१ जेठ ३० गतेको ‘घोटला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?’ भन्ने शिर्षक राखी मेरो व्यक्तिगत नाम र व्यवसायीक कम्पनीको नाम समेत प्रयोग गरी प्रचार तथा प्रसार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छु ।

बीमा विषय आफैमा निकै प्राविधिक विषय हो । यसका आफ्नै दायरा तथा नीति नियम रहेका छन् । बीमा ऐन २०७९, बीमा नियमावली २०४९, नेपाल बीमा प्राधिकरणबाट विभिन्न समयमा जारी गरेका नीति, निर्देशन, कार्यविधिका आधारमा समग्र बीमा क्षेत्र चलायमान रहेको छ । यसै सन्दर्भमा यस कम्पनीका विभिन्न कार्य समेत उल्लेखित नीति नियम तथा कानून बमोजिम नै गरिंदै आइरहेको छ ।

उल्लेखित समाचारमा उठाइएको विषयका सम्बन्धमा राष्ट्रिय वीमा कम्पनीबाट आफ्ना ग्राहकहरुको माग दावी भुक्तानी सम्बन्धी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको दावी भुक्तानी मार्गनिर्देशन बमोजिम दाबी भुक्तानी कार्य बीमा कम्पनीको नियमित काम कारवाहीको विषय हो । यस सम्बन्धमा सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकार अन्तर्गत अनुसन्धान तहकिकातको क्रममा रहेको संस्थागत विषयलाई अनर्गल प्रचार र जोड दिई उच्च प्रतिस्पर्धी बजारमा आफ्नो व्यवसायीक कार्य सम्पादन गर्नुपर्ने संस्था र संस्थाका पदस्थ कर्मचारीहरु लक्षित गरी बिना स्रोत निरन्तर समाचार प्रकाशन गरिनु अत्यन्तै खेद जनक छ ।

अधिकार सम्पन्न निकायमा विचाराधिन रहेको विषयलाई बढाइ चढाई गरी व्यक्तिगत नाममा केन्द्रित भएर व्यक्तिगत चरित्रहत्या गर्ने, उच्च प्रतिस्पर्धी बीमा बजारमा आफ्नो साख कायम गर्दै व्यवसाय तथा मुनाफा आर्जन गरी चल्नुपर्ने संस्थाको हित वेगर हुने परिलक्ष्यित गरी नियतवस यो भ्रामक, तथ्यहीन, आधिकारिक स्रोत विहिन समाचार प्रकाशन भइरहेको भन्ने आंकलन गरी यस सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

साथै, दाबी भुक्तानी गर्दा व्यक्तिगत निर्णय नभई समग्र संस्था तथा सो को आधिकारिक प्रकृया पूरा गरी गरिएको कम्पनीको दैनिक प्रशासनिक कार्यमा व्यक्तिगत नाम मात्र लक्षित गरी आधारहिन लान्छाना समेत लगाई बीमापोष्ट जस्तो राष्ट्रियस्तरको मुलधारको सञ्चार माध्यमले प्रकाशन गरिरहँदा शोभनिय समेत नदेखिएको, व्यक्ति र समग्र संस्थाको ख्यातिमा नकारात्मक असर पर्न जाने तथा समग्र बीमा क्षेत्रप्रतिको आम जनताको भरोसा र वढ्दै गरेको विश्वासलाई कमजोर हुन जानेतर्फ ध्यानाकर्षण गराउँदै उल्लेखित दुवै मितिमा प्रकाशित समाचारमा मेरो व्यक्तिगत तर्फबाट खण्डन गर्दछु । यो खण्डन प्रकाशित गरिदिनुहुन समेत अनुरोध गर्दछु । साथै, यस्ता समाचार प्रकाशन गर्नुपूर्व त्यसको आधिकारीक स्रोत र तथ्य समेत लिई प्रकाशन गर्न गराउनु हुन समेत अनुरोध गर्दछु ।

सुवास कोईराला
नायब प्रमुख कार्यकारी अधिकृत
राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रामशाहपथ, काठमाडौं ।

संवाददाताको भनाईः–
राष्ट्रिय बीमा कम्पनीको विषयमा प्रकाशित कुनै पनि समाचार झुठा र असत्य होइनन् । यस खण्डन पत्रमै राष्ट्रिय बीमा कम्पनीले गरेको दावी भुक्तानीको विषय अख्तियारले छानविन गरिरहेको तथ्य स्वीकार गरिएकोले उक्त समाचार सत्य भएको पुष्टि भएको छ ।

सार्वजनिक पदमा बसेर, सार्वजनिक कम्पनीका जिम्मेवारी व्यक्तिले गरेका कार्यहरु व्यक्तिगत कार्यँहरु नहुने हुँदा उल्लेखित समाचारहरुमा डेपुटी सिईओ सुवास कोइरालाको नाम समावेश गरिएको हो । नेपाल बीमा प्राधिकरणले नै छानविन गरी सो को प्रतिवेदन भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान पेश गरेको थियो । हाल अख्तियारबाट छानविन भइरहेको तर नियामक नेपाल बीमा प्राधिकरणले आफैले नियमनको भूमिकामा रहेर त्रुटी फेला पारिसकेपछि किन कारवाही गरिएन भन्ने प्रश्नु, उठाउनु अन्यथा लिन मिल्दैन ।

2 thoughts on “बीमापोष्टमा प्रकाशित समाचार राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाद्धारा खण्डन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*