पछिल्लो ३६ महिनामा शालिमार सिमेन्टको व्यापार साढे पाँच अर्ब
काठमाडौँ । नेपाल शालिमार सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ३६ महिनामा ५ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कोरोना समय र आर्थिक संकुचनको समयमा पनि कम्पनीले सन्तोषजनक आम्दानी गरेको हो । ग्राहकहरुको माझ लोकप्रिय हुँदा शालिमार सिमेन्टको माग बढ्दै गएको देखिन्छ ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ४६ प्रतिशत कम हो । सन् २०२२ मा यस कम्पनीले २ अर्ब ६ करोड ३० लाख, सन् २०२१ मा २ अर्ब ४५ करोड, सन् २०२० मा २ अर्ब २४ करोड ८० लाख र सन् २०१९ मा २ अर्ब ८५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
शालिमारले १ अर्ब ५२ करोड बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये, लङ ट्रम कर्जा ७४ करोडका लागि ‘इक्राएनपी एलबी र सर्ट ट्रम ७८ करोड कर्जाका लागि ‘इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको हो ।।
सन् २००३ अगस्टमा स्थापना भएको यो कम्पनी सिमेन्टको उत्पादन र बिक्रीमा संलग्न छ । कम्पनीले साधारण पोर्टल्यान्ट सिमेन्ट (ओपीसी) र पोजोलाना पोर्टल्यान्ड उत्पादन गर्दछ । यसको फ्याक्ट्री बारा जिल्लाको सिमरामा अवस्थित छ ।