समाजसेवा र जोखिम रक्षावरण गर्न बीमा व्यवसायमा अहोरात्र खटिँदै सिटिजन लाइफकी गुणलक्ष्मी

राजन कठायत
३२ जेष्ठ २०८१, शुक्रबार १२:१८

काठमाडौं । कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सबै ठाउँमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, सिटिजन लाइफकी सफल र साहसी बीमा अभिकर्ता गुणलक्ष्मी अवाल ।

करिव २३ वर्षदेखि निरन्तर रुपमा इन्स्टीच्यूट सञ्चालन, सहकारी, ब्यूटी पार्लर लगायतका व्यवसाय गर्दै आएकी एक साहसी महिला हुन् अवाल । पहिला आफ्नो नामसमेत भन्न अप्ठ्यारो मान्ने उनी, अभिकर्ता पेशामा आएपछि आफ्नो जीवनमा नै कायापलट भएको बताउँछिन् ।

आफ्नै दिदीको सल्लाह र हौसलाबाट २०७८ साल माघ महिनामा सिटिजन लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ताको लाईसेन्स लिएकी उनले कैयौं बाधा अड्चनसँग सामना गर्दै बीमा अभिकर्ता पेशामा आवद्ध हुन् पुगिन् । कोरोना महामारीले गर्दा व्यवसाय सञ्चालन गर्न बाधा बनेको बेला विभिन्न मोटिभेशनल कुरा सुन्दै र आफन्तहरुको साथलाई लिएर उनी अभिकर्ता पेशामा आफ्ना पाईला चलाएको बताउँछिन् ।

आफ्नै व्यवसायबाट मनग्य आम्दानी गर्दै आएकी उनी भन्छिन्, ‘जीवनमा पैसा सबैथोक रहेनछ । कुनै कार्यको थालनी ग¥यौं भने त्यो कामबाट सन्तुष्ट मिल्नु नै सबैभन्दा ठूलो कुरा रहेछ । जुन मलाई अभिकर्ता पेशाले अनुभूत गराएको छ ।’

भक्तपुरमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा हासिल गरेकी उनले ललितपुरलाई दुई दशकदेखि कर्मथलो बनाएकी छिन् । २१ वर्षको उमेरदेखि नै इन्स्टीच्यूट सञ्चालन गर्दै आएकी उनी पछिल्लो दुई वर्ष यता सिटिजन लाइफबाट अभिकर्ता लाइसेन्स लिएर बीमा व्यवसायमा रमाउदैछिन् ।

बीमा व्यवसायमा प्रवेश गरेको एक महिनामा नै एमडीआरटी बन्न समेत सफल भएको अनुभव सुनाउँदै उनले भनिन्, ‘मलाई त शुरुमा बीमा भनेको के हो ? थाहा नै थिएन, अनिपछि विभिन्न समयमा कम्पनीले उपलब्ध गराएको तालिम, कार्यक्रम तथा मेरी दिदी र (मेरी भतिजी) को सल्लाह र साथ पाउँदै गएँ अनि गर्दै जादा बल्ल थाहा पाएको थिएँ ।’

सिटिजन लाइफको टोखा शाखामा आवद्ध भएर उनले वार्षिक ६० देखि ७० जनाको बीमा गर्दै जोखिम हस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएकीछिन् । नागरिकहरुलाई बीमा गराउदाँ कहिल्यै पनि गलत तरिका र विभिन्न लोभलालच देखाउनु भनेको अभिकर्ता पेशाप्रतिको गद्दारी भएको उनको बुझाई छ ।

देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दा तथा ग्यारेन्टी नै नभएको जीवनको बीमा गरी रक्षावरण गर्दा समेत अभिकर्ता पेशाप्रति गलत धारणा पाउँदा दुःख लाग्ने गरेको बताउछिन् अवाल । उनले भनिन्, ‘देशको जुनसुकै समाज अर्थात जति शिक्षित समाज भएपनि मानिसको अगाडी देखावटी राम्रो व्यवहार गर्ने र पिठ्पछाडी खुट्टा तान्ने प्रवृतिले गर्दा कतिबेला त साह्रै नराम्रो लाग्छ ।’

मैले आफ्नै व्यवसायबाट राम्रो आम्दानी गरेपनि बीमा अभिकर्ता पेशाले मलाई नाम, दाम र शानसहित सबैभन्दा ठूलो कुरा सन्तुष्टि दिएको बताउछिन् उनी । समाजमा रहेका विभिन्न अप्ठेराहरु चिर्दै सयौं नागरिकहरुलाई बीमाको दायरामा ल्याउन उनी सफल भएकी छिन् ।

नागरिकहरुको बीमा गर्दा हुने कमाइलाई उनले कहिल्यै पनि प्राथमिकता नदिएको बरु समाजसेवाको भवनाले हेर्ने गरेको अवाल बताउँछिन् । ‘मलाई पैसा र कमाई भन्दा पनि नागरिकको बीमा गरी उहाँहरुको जीवनको रक्षावरण गर्न पाउँदा आफूलाई सबैभन्दा भाग्यमानी ठानेकी छु ।’

बीमा व्यवसाय पैसा कमाउने उद्देश्य भन्दा सेवा भावले आफू लाग्दै आएकी अवाल बताउँछिन्, ‘मैले नागरिकको बीमा गर्दै जाँदा आफ्नै दिदीको बीमा गर्न नपाउँदा साह्रै दुःख लागेको थियो । अनि दिदीसँगको सल्लाहपछि बीमा गर्न प्रस्ताव गरँे । उहाँले बीमा गर्न मान्नुभयो र अनि दिदीको पनि बीमा गरेपश्चात अझै मनलाई शान्त मिलेको, त्यो क्षणमा कहिल्यै बिर्सिन सक्दिन् ।’

त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र समाजशास्त्र गरी दुई वटा विषयमा स्नातकोत्तर तहको अध्ययन गरेकी अवाल बीमा व्यवसायका साथै, समाजसेवामा पनि सक्रिय रहेकी छिन् अवाल । आफ्ना पेशा–व्यवसाय, अध्ययन, बीमा तथा आफ्नो परिवारको लागि समेत समय व्यवस्थापन गर्न खप्पिस् देखिन्छिन् गुणलक्ष्मी ।

बीमा अभिकर्ता पेशामा आवद्ध हुनुअघि आफ्नै इन्स्टीच्यूट पेशा–व्यवसायमा रमाइरहेकी अवाल बीमा अभिकर्ता पेशामा आवद्ध भएपछि झनै सन्तुष्ट देखिन्छिन् । बीमा व्यवसायमा आबद्ध भएपछि आम्दानीसँगै समाजसेवा, सामाजिक व्यक्तित्वको रुपमा परिचय पाउँदा छट्टै गर्वको महसु हुने उनको भनाई छ ।

‘मैले अधिकांश मानिसहरुसँग राम्रो र मन नदुख्ने व्यवहार गरिरहेकी हुन्छु । जसको कारण बीमा व्यवसायलाई अगाडि बढाउन आफुलाई सजिलो भएको उनको बुझाई छ । ‘बीमितहरुको पक्षमा मैले जहिले पनि भलो सोचिरहेकी हुन्छु । उहाँहरुसँग भेटभएको बेला समय मिलाएर भेट्नु, नबुझेका कुरा र केही समस्या भए भन्नुहोला भन्दै हौसला दिँदै आएकी छु’, उनी भन्छिन् ।

सुरु सुरुमा काठमाडौंको शिक्षित समाजमा बसोवास गर्ने मानिसहरुमा पनि बीमा गराउँन प्रस्ताव गर्दा कमिशन र पैसा कमाउनको लागि बीमा गराउन आएकी भन्दै कुरा काट्ने प्रवृति रहेको कारण आफूलाई नराम्रो महशुश भएको अनुभव सुनाउँछिन् गुणलक्ष्मी । तर, अहिले समाजले बीमाको महत्व बुझ्दै गएकोले थप सहज भएको छ ।

नागरिक समक्ष बीमा पोलिसीबारे विस्तृृत जानकारी दिँदा अधिकांशले बुझ्ने गरेको भएपनि बीमा गर्न चाहीँ आनाकानी नै गरेको उनी बताउछिन् । तर, बीमा गर्ने इच्छा प्रकट गरेका मानिसहरुले चाहीँ पैसाको जोहो नै गर्न नसक्ने समस्याले आफूलाई खल्लो लाग्ने गरेको अनुभव सुनाउँछिन् उनी ।

केही बीमा अभिकर्ताहरुको गलत नियतका कारण बीमा अभिकर्ता पेशा बद्नाम हुन पुगेको अवालको भनाई छ । ‘बीमा बजारमा नागरिकहरुले बीमा गर्दा कम्पनीको बोनस त राम्रोसँग हेर्छन्, तर बोनसदरका साथै, बीमा पोलिसीका शर्तहरुलाई झन् राम्रोसँग हेर्नुपर्ने हुन्छ ।’

नागरिकहरुले बीमा गर्दा कुन सही र कुन गलत छुट्याउन सके राम्रो हुन्छ । ‘व्यवसायिक अभिकर्ताहरुले नागरिकहरुलाई कहिल्यै पनि जबर्जस्ती बीमा गर्न लगाउने, विभिन्न छुट तथा उपहार लगायतका कुराको प्रलोभन देखाएर बीमा गराउँदैन् ।’ उनले भनिन्, ‘राम्रोसँग बीमाबारे बुझाउन सक्ने क्षमता भएको तथा लोभ लालच नभएका, स्पस्ट विचार भएका व्यवसायिक अभिकर्तासँग बीमा गर्न सल्लाह दिन्छु ।’

बीमा अभिकर्ता पेशामा आवद्ध हुनुपूर्व मलाई त्यति धेरै चिन्ता लाग्दैनथ्यो तर, बीमा अभिकर्ता बनेर बीमा गराउने काममा लागेपछि कसरी जीवन बीमालाई आम मानिसहरुमा पु¥याउन सकिन्छ होला भनेर चिन्ता लाग्न थालेको उनी बताउँछिन् । बीमा धनी र गरिब दुवै थरी नागरिकको पहुँच विस्तार गर्नुपर्ने दायित्व भएको आफूले बुझेको उनी बताउँछिन् ।

र, बीमा अभिकर्ता भएपश्चात मानिसहरुले निर्जीवन वस्तुको बीमा अनिवार्य गर्ने गरेको तर, सबैभन्दा महत्वपूर्ण जीवन बीमालाई प्राथमिकता नदिएको पाउँदा भने बीमा प्रति जनचेतनाको कमी नै भएको महशुस गरेकी छु । आगामी दिनमा बीमा कम्पनीहरु र बीमा प्राधिकरणले बीमा सचेतनाबारे ध्यान दिनुपर्ने उनको सुझाव छ ।

पैसाको लागि भन्दा पनि आम नागरिकमा बीमाको पहुँच बृद्धि गर्ने उद्देश्यले गुणलक्ष्मी अवालले गरेको योगदान, मेहनत र पौरख बीमा क्षेत्रकै लागि प्रेरणादायी हुन पुगेको छ ।

(भिडियो) :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*