सन नेपाल लाइफको साधारण सभा आज, २३.८०% बोनस शेयर पारित गरिँदै
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (जेठ ९ गते) बस्दैछ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि. मा विहानको १० बजेदेखि सुरु हुनेछ ।
सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बोनस शेयर जारीपछि चुक्ता पूँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।
गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार वैशाख २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।