कृषकलाई अनलाईन माध्यमबाट सेवा तथा अनुदान प्रदान गरिने
काठमाडौं । सरकारले साना तथा मझौला कृषकहरुलाई प्रदान गर्दै आएका सेवाहरुलाई डिजिटलाईजेशन गर्ने भएको छ । उक्त सेवा तथा अनुदान कार्यक्रमलाई अनलाईन माध्यमबाट सहज तरिकाले वितरण गर्ने योजना अघि बढाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले कृषकहरुलाई राहत वितरण गर्ने, कृषी औजार वितरण गर्ने लगायतका सेवाहरुलाई डिजिटलाइजेशन गरी आम नागरिकमा सहज तरिकाले पुर्याउने बताए ।
साथै, उनले आगामी पाँच वर्षभित्र देशलाई फलफुल खेतीमा आत्मनिर्भर समेत वनाउने योजना रहेको बताए । सरकारले कृषि उत्पादनलाई व्यवस्थित र मर्यादित पेशाका रुपमा स्थापना गर्नको लागि विशेष योजना ल्याउने बताए ।
हिमाली भेगमा पर्यावरण अनुुसारको खेती र मत्स्य पेशालाई सरकारले प्राथमिकतामा राखेको समेत जानकारी दिएका छन् ।