नेपाल बीमा प्राधिकरण ५६ औं बर्षमा, बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५६ औं वर्षमा प्रवेश गरेको छ । ५६ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता व्यक्त गर्दै बीमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
५६ औं बार्षिकोत्सवको अवसरमा नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्रतिबद्धता जाहेर गर्दै नेपाल को अर्थतन्त्रको विकास र समृद्धिमा प्राधिकरणले खेल्ने भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणल बीमा क्षेत्रमा सुशासन कायम गर्ने, स्वस्थ्य प्रतिस्पर्धाको विकास गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाउँदै आजको दिनसम्म नेपाल बीमा प्राधिकरणलाई ल्याई पुर्याउन योगदान गर्ने सबैमा आभार व्यक्त गरेका छन् । अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकाससँगै स्थानीय तहसम्म बीमाको पहुँच विस्तार भएको, न्यून आय भएका गरिब जनतालाई बीमाको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
बार्षिकोत्सवको अवसरमा जारी शुभकामना तथा प्रतिबद्धता सन्देशमा प्रभावकारी बीमा नियमनद्धारा बीमितको हित रक्षाको लागि काम गर्ने उल्लेख छ ।
२०२६ साल जेठ १ गते स्थापना भएको तत्कालिन बीमा समिति २०७८ साल कार्तिक २२ गतेबाट नयाँ बीमा ऐन अनुसार नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ ।
नेपालमा बीमा इतिहास धेरै लामो पाइदैन । बीमा समितभन्दा पहिले बीमा कम्पनीहरु स्थापना भई क्रियाशिल भएका थिए । उतिबेला बीमा क्षेत्रलाई अर्थमन्त्रालयमार्फत नै नियमन हुने गर्दथ्यो । २०२६ सालमा नेपालमा बीमा क्षेत्रको नियमनको लागि बीमा समिति स्थापना भएपनि कैयौं वर्षसम्म बीमा समितिलाई अर्थमन्त्रालयको एउटा कुनामा खुम्च्याइएको थियो । बीमा समितिको नियमित बैठक बस्दैनथ्यो । अर्थमन्त्रालयको एउटा कोठामा कार्यालय राखेर सञ्चालित थियो र आवश्यकताका आधारमा मात्रै बैठकहरु बसेर बीमा नियमनको कार्य हुने गरेको थियो ।
बीमा ऐन २०२५ जारी भएपछि २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । पञ्चायती शासन व्यवस्थामा तत्कालिन संसदबाट बीमा ऐन २०२५ जारी भइसकेको अवस्थामा बीमा समिति गठन गरिएको थियो । बीमा समिति गठन भएपनि समितिलाई स्वायत्त निकायको रुपमा नभई अर्थमन्त्रालयको एउटा सानो कार्यालयको रुपमा एउटा कोठामा सीमित हुन पुग्यो ।
सो समयमा २०२४ सालदेखि बीमा कारोबार गर्दै आएको सालमा राष्ट्रिय बीमा संस्थान र २००४ सालदेखि कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.लाई मात्रै नियमन गर्न स्थापना भएको बीमा समिति आज नेपाल बीमा प्राधिकरणको नामबाट देशका तीन दर्जन कम्पनीहरुलाई प्रत्यक्ष नियमन गर्दै आएको छ । लघुबीमा, निर्जीवन बीमा, जीवन बीमा र पुनर्बीमा कम्पनीको नियमनमा नेपाल बीमा प्राधिकरणको भूमिका क्रियाशिल रहेको छ ।
सुरुवाती चरणमा अर्थमन्त्रालयभित्र एउटा शाखा कार्यालयको रुपमा रहेको बीमा समिति बीमा ऐन २०४९ जारी भएपछि स्वायत्त निकायको रुपमा काम कारवाही गर्दै आइरहेको छ । २०४८ सालअघि बीमा समितिको बैठक अर्थमन्त्रालयको कुनै कोठामा आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो ।
नेपालमा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना भएपछि तत्कालिन सरकारले लिएको उदार अर्थनीतिको एउटा सुन्दर फूलको रुपमा बीमा समितिलाई लिन सकिन्छ । बीमा समितिले उदार अर्थनीतिमा देशले पाइला राखेसँगै सुन्दर फूलको रुपमा स्वतन्त्र अस्तित्वमा मात्रै आएन देशको दरिलो खम्बा बीमा क्षेत्र हो भन्ने कुरालाई स्थापित गर्दै निरन्तर प्रगतिपथको यात्रा जारी राखेको छ ।
आफ्नै प्रशासन समेत नभएको बीमा समितिले करिब २३ वर्ष अस्तव्यस्त र भद्रगोलका बीचबाट गुज्रिदा नेपालमा बीमाको संस्थागत विकास हुन सकेन । बीमा ऐन २०४९ सो सालको पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा समिति स्वतन्त्र अस्तित्वमा आएको हो । त्यसयता बीमा समितिले स्वतन्त्र नियामक निकायको रुपमा भूमिका निर्वाह गर्दै आएपनि राजनीतिक हस्तक्षेपका कारण बीमा क्षेत्र नियमनभित्र छिरेर व्यक्तिगत तथा समुहगत लाभ लिने थुप्रै प्रयत्नहरु हुँदै आएका छन् । पछिल्लो समयसम्म पनि उक्त कार्यहरु जारी नै छन् ।
स्थापना ५६ औं बार्षिकोत्सव मनाइरहँदा आज बीमा प्राधिकरण एक स्वतन्त्र र अधिकार सम्पन्न बीमा नियामक निकायको रुपमा स्थापित भइसकेको छ । आज सयौं कर्मचारी, नेपाल सरकारबाट नियुक्त सञ्चालक समितिसहित दक्ष जनशक्तिमार्फत बीमा क्षेत्रको नियमन गर्दै अघि बढेको बीमा प्राधिकरण अब सुविधा सम्पन्न अत्याधुनिक भवनमा सर्ने अन्तिम तयारी समेत गरिरहेको छ । कुपण्डोलस्थित केन्द्रीय कार्यालय भवनमा अबको केही महिनापछि नै नियमित कार्य शुभारम्भ भएपछि नेपाल बीमा प्राधिकरण नेपालकै अत्याधुनिक सुविधा सम्पन्न नियामक निकाय बन्नेछ ।
बीमा प्राधिकरणको स्थायी सरकारको रुपमा व्यवस्थापनतर्फ २७ वर्षदेखि कार्यरत राजुरमण पौडेल कार्यकारी निर्देशकको नेतृत्वमा अनुभवी र दक्ष कर्मचारीहरुले नेतृत्व गरिरहेका छन् । बीमा प्राधिकरणका निर्देशकहरु कमलराज रेग्मी, सुशिल देव ओली, पुजन ढुंगेल अधिकारी, दिनेशलाल कर्णको जुझारु, सक्रिय र मेहनत साथ बीमा नियमनमा हरदम परिचालित रहेर बीमा क्षेत्रलाई उन्नत र समृद्धि बनाउन योगदान दिइरहेका छन् । आजको यस ऐतिहासिक अवसरमा बीमा प्राधिकरणमा कार्यरत सबै कर्मचारी, सञ्चालक समिति, पूर्व अध्यक्षहरु, पूर्व कर्मचारीहरु, बीमा कम्पनीमा कार्यरत सबै कर्मचारी, बीमा प्रशासक तथा सञ्चालक तथा अध्यक्षहरु सबै सबै बधाईका पात्र छन् ।
बीमा प्राधिकरण लघु बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, जीवन बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरुसँग हातमा हात मिलाउँदै, साथमा साथ मिलाउँदै नेपाल सरकार र निजि क्षेत्रलाई जोड्ने सेतु बन्न सफल रहोस्, ५६ औं बार्षिकोत्सवको अवसरमा सबै बीमाकर्मीहरुमा हाम्रो हार्दिक बधाई तथा सफलताको शुभकामना ।