१ खर्ब ४० अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
३० बैशाख २०८१, आईतवार १३:४९
काठमाडौँ । २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार यस्तो देखाएको हो ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६ सय ४८ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७५ हजार ३ सय ३३ महिला उद्यमीलाई प्रवाह भएको ४३ अर्ब ७९ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार २ सय ३१ ऋणीको १ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ ।