१०१ प्रतिशतले बढ्यो नेपाल इन्स्योरेन्सको नाफा, अधिकांश सूचाङ्कमा उल्लेख्य प्रगती
काठमाडौँ । नेपाल इन्स्योेरेन्सको मुनाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ३० करोड ५४ लाख रुपैयाँबाट बढेर ६१ करोड ४४ लाख रुपैयाँ पुगेको छ । जुन नाफा गत आर्थिक वर्षको सोहि तुलनामा १०१.१३ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको ब्यवसाय समेत ८.३३ प्रतिशतले बढेर १ अर्ब १९ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब १० करोड ३ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको ९ महिनामा ४९ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ४९ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।
यता, कम्पनीको बीमा कोष भने केहि घट्न पुगेको छ । यस अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ७२ करोड ९२ लाख रुपैयाँबाट घटेर १ अर्ब ५५ करोड २० लाख रुपैयाँ पुगेको तथ्याङमा उल्लेख गरीएको छ । यसअवधिमा कम्पनीले बीमा पोलिसि संख्या समेत १ लाख ३८ हजारबाट बढाएर १ लाख ५९ हजार पुराएको छ ।
चैत मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.५६ रुपैयाँबाट बढेर ४९ रुपैयाँ ८२ पैसा र प्रति शेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा रहेको छ ।