एसियन लाइफको बीमा कोष ४२ अर्ब नजिक, मुनाफासहित अधिकांश सूचांकमा उल्लेख्य प्रगती

३० बैशाख २०८१, आईतवार ०८:२४

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित जीवन बीमा कोषको आकार पनि १० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिसम्ममा कम्पनीको मुनाफा २५४.९२ प्रतिशतले वृद्धि भई ६९ करोड ११ रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा १९ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बीमा शुल्क आम्दानी १०.५० प्रतिशतले बढेर ५ अर्ब ८ करोडबाट ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी पनि उल्लेख्य रुपले वृद्धि भएको छ । यस अवधिमा कम्पनीको दावी भुक्तानी १०४ प्रतिशतले बढेर तीन अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन बीमितहरुको लागि राम्रो पक्ष हो । समीक्षा अवधिमा कम्पनीले ६ लाख ९१ हजार भन्दा बढी वटा बीमा पोलिसी जारी गरेको विवरणले देखाएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ९ लाख छ । प्रतिसेयर आम्दानी २०.९७ रुपैयाँले बढेर २९.२० रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२९.१९ रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*