नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति

३० बैशाख २०८१, आईतवार ०७:३२

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न सफल भएको छ ।

नेपालकै सबै भन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब ८९ अर्ब १८ करोड ४२ लाख ६२ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । बीमाको जोखिम धारण गर्न सो कोष खडा गरिएको हो । जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपूर्ण हुन्छ ।

 

कम्पनीको महावित्ति कोषमा एक अर्ब ११ करोड, जगेडा कोषमा दुई अर्ब २९ करोड रुपैयाँ संचित रहेको छ । ८ अर्ब २० करोड शेयर पूँजी भएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा २९ अर्ब ४३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो आवको यसै अवधीमा जम्मा २७ अर्ब २५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको व्यवसाय ७.९७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । देशमा जारी आर्थिक संकटका बीचमा कम्पनीको व्यवसायमा उल्लेख्य गर्न सफल भएको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ६० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२.२१ प्रतिशतले वृद्धि भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्यङ्कनको क्रममा तलमाथि हुनेछ ।

कम्पनीले समीक्षा अवधिमा २९ अर्ब १२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.५० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको मुनाफामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ९.८० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रति शेयर नेटवर्थ १४८.६५ रुपैयाँ रहेको छ । देशमा जारी आर्थिक संकटका बीचमा समग्र जीवन बीमा व्यवसायमा असर परिरहेको समयमा नेपाल लाइफले भने उत्कृष्ट नतिजा दिन सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*