शिखर इन्स्योरेन्सको मुनाफा र व्यवसायमा उल्लेख्य बृद्धि, अधिकांश सूचांकमा प्रगति

३० बैशाख २०८१, आईतवार ०७:१२

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीको व्यवसायमा आएको बृद्धिसँगै मुनाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ ।

चैत मसान्तसम्मको तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ । गत वर्ष कम्पनीले जम्मा ३० करोड मुनाफा आर्जन गरेको थियो । कम्पनीको व्यवसायमा बृद्धि तथा लगानीबाट प्राप्त आम्दानीमा भएको बृद्धिका कारण मुनाफामा उच्च बृद्धि देखिएको हो । प्रतिस्पर्धी कम्पनीहरुको कडा दवावका बीच तथा मर्जरमा गएर ठूलो आकार लिएका कम्पनीहरुको चर्को दवावका बीचमा शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले नौ महिनाको अवधीमा कूल बीमा शुल्क आम्दानी तीन अर्ब १६ करोडबाट बृद्धि गरी तीन अर्ब ५७ करोड पुर्याउन सफल भएको छ । पछिल्लो तीन महिनामा मात्रै कम्पनीको कूल बीमा शुल्क आम्दानी ३५ करोडले बृद्धि गर्न सफल भएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी पनि १६.०६ प्रतिशत बृद्धि गरी ९३ करोडबाट बृद्धि गरी एक अर्ब आठ करोड पुर्याउन सफल भएको तथ्याङ्कमा देखिएको छ । कम्पनीको कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ ।

कूल चुक्ता पुँजि दुई अर्ब ६५ करोड रुपैयाँ रहेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६० पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ ।

समीक्षा अवधीमा शिखर इन्स्योरेरन्स कम्पनीले दुई लाख ४१ हजार ५४८ वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले जम्मा दुई लाख तीन हजार ३०१ वटा मात्रै पोलिसी जारी गरेको थियो ।

समीक्षा अवधीमा शिखर इन्स्योरेन्स कम्पनीले लगानीबाट प्राप्त आम्दानी सामान्य अंकले घटेको छ । अघिल्लो वर्ष २८ करोड २६ लाख आम्दानी गरेकोमा चालु आवमा बैंक ब्याजमा आएको गिरावटसँगै घटेर २५ करोड ८४ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । कम्पनीको पुनर्बीमा कमिशन लगायतका आम्दानी पनि घटेको छ । पुनर्बीमा कमिशन आय ४८ करोडबाट झरेर ४२ करोडमा सीमित हुन पुगेको छ । कम्पनीले खुद बीमा शुल्क धारणमा गरेको बृद्धिका कारण पुनर्बीमा कमिशन घटेको हो ।

कम्पनीको बीमा कोषमा पाँच अर्ब ७७ करोड, प्रोभिजन १८ करोड, विशेष कोषमा एक अर्ब ६५ करोड रुपैयाँ संचित रहेको छ । त्यसैगरी, जगेडा कोषमा २६ करोड ११ लाख रुपैयाँ रहेको छ । समग्रमा कम्पनीको कोषको आकार सात अर्ब ७८ करोड भन्दा ठूलो हुन पुगेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ्गमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधीमा आर्थिक संकट र आर्थिक गतिविधिमा आएको कमीको सर्वत्र असरका बीच शिखर इन्स्योरेन्स कम्पनीले उत्कृष्ट नतिजा प्रदान गर्न सफल भएको छ । अझ बजारका प्रतिस्पर्धी कम्पनीहरुले गरेको घेराबन्दीका बीचमा कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*