तेस्रो त्रैमाससम्ममा नेशनल लाइफको उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ३०% ले बढ्यो

२९ बैशाख २०८१, शनिबार ०९:२१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ ।
आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ७४ अर्ब ५७ करोड ८१ लाख १४ हजार रुपैयाँ संचित रहेकोछ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा १३.३७ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको मुनाफामा पनि उच्च बृद्धि भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ७२ करोड रुपैयाँ संचित रहेको छ । जगेडा कोष र जीवन बीमा कोष सहित कम्पनीको कूल कोषको आकार ७५ अर्ब नाघेको छ । कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ३०.३० प्रतिशतले बृद्धि भई ३८ करोड ८३ लाख ७९ हजार पुगेको छ । गत आवमा कम्पनीको कूल नाफा २९ करोड रुपैयाँ रहेको थियो । कम्पनीको लगानीबाट प्राप्त तथा व्यवसायमा आएको बृद्धिका कारण मुनाफा उच्च बृद्धि गर्न सफल भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

चालु आवको नौ महिनामा नेशनल लाइफले कूल १२ अर्ब ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । पुनर्बीमा शुल्क घटाएर कम्पनीले खुद बीमा शुल्कको रुपमा १२ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, खुद दावी भुक्तानी २.३७ प्रतिशतले बृद्धि भई पाँच अर्ब ७० करोड भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १५.०३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा तीन अर्ब ५५ करोड लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा चार अर्ब नौ करोड रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, बक्यौता दावी भुक्तानी चार करोड ५४ लाख रुपैयाँ मात्रै बाँकी रहेको छ । कम्पनीले कमिशन बापतको रकममा गर्ने खर्च बद्धि एक अर्ब १६ करोड १५ लाख रुपैयाँ रहेको छ । सो मध्ये अधिकांश बीमा अभिकर्ताहरुलाई कमिशन बापत भुक्तानी गरेको हो ।
ककम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८९ हजार ८९६ वटा रहेकोछ । अघिल्लो वर्षको यसै अवधीमा १५ लाख २९ हजार ४४२ वटा बीमा पोलिसीहरु रहेका थिए ।

समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी १०.३३ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ । मुनाफा, जीवन बीमा कोष र व्यवसाय तथा लगानीबाट प्राप्त आम्दानी बृद्धि भएकोले कम्पनीले बीमितलाई दिने बोनस, लगानीकर्तालाई दिने प्रतिफल उच्च हुन पुगेको आज प्रकाशित तथ्याङ्कमा देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*