इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति शेयर आम्दानीमा उछाल
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २८०.५७ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको चैत्र मसान्तसम्म कम्पनीले एक करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा बढेर पाँच करोड २५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि २८५.८६ प्रतिशतको उछाल देखिएको छ । गत आवको समीक्षा अवधिसम्म एक करोड ९४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा बढेर सात करोड ५१ लाख रुपैयाँ पुगको छ । कम्पनीले समीक्षा अवधिमा १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ३.२५ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा १९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद फी तथा कमिशन आम्दानी पाँच करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २२.२६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी सात करोड ४५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी ३.८५ प्रतिशतले घटेर २५ करोड ७३ लाख रुपैयाँमा झरेको छ । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो कुल संचालन आम्दानी २६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको संचालन खर्च ३.२४ प्रतिशतले बढेर १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीको खुद संचालन आम्दानी पनि २९.३२ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगको छ । समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज एक करोड ५५ लाख रुपैयाँ ऋणात्मक भएको छ । यससँगै कम्पनीको खराब कर्जा पनि १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३.७० रुपैयाँबाट बढेर १४.१० रुपैयाँ पुगको छ भने मूल्य आम्दानी अनुपात ५४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १४४.४५ रुपैयाँ, तरलता अनुपात ७.२२ प्रतिशत, पूँजीकोष अनुपात ११.९४ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११२०.६९ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङमा चार करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भको आकार १६ करोड ७९ लाख रुपैयाँबाट बढेर २६ करोड ५७ लाख रुपैयाँ पुगको छ ।
समीक्षा अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा चार करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने पाँच अर्ब १५ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह र एक अर्ब २७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।