दोस्रो बजारमा अब्बल हिमालयन डिष्टिलरीको वित्तीय रिपोर्ट भने नाजुक
काठमाडौँ । दोस्रो बजारमा आकर्षक रुपमा हेरीने हिमालयन डिष्टिलरी लिमिटेडको व्यापारमा भने भारि गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३९.५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तानपूँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ, जगेडा कोष ३७ प्रतिशतले घटेर ५२ करोड ८२ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५० पैसा कायम भएको छ । उक्त आम्दानी गत वर्षको तुलनामा १८.२७ रुपैयाँले घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ७४ पैसा रहेको छ ।