सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क आर्जन र खुद नाफामा उल्लेख्य वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क आर्जन र खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा शुल्क आर्जन र खुद नाफा बढेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले एक अर्ब ३२ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ । त्यस्तै, खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ६९ पैसा बढेर २८ रुपैयाँ ३७ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.४४ गुणा र प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा रहेको छ ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७१ करोड २ लाख र अन्य इक्विटीमा ९६ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।