संकटमा विश्वविद्यालय, जिम्मेवार को ?
काठमाडौँ । जब जब राज्यको अस्तित्व संकटमा पर्छ । राज्यसत्ता निरङ्कुश हुन्छ तब अस्तित्व बचाउन र राज्यसत्ता निरङ्कुश हुनबाट जोगाउन विश्वविद्यालयको भूमिका अग्र पङ्क्तिमा आउँछ।राज्यसत्ताको प्रतिपक्षको भूमिकामा रहेको हुन्छ विश्वविद्यालय, आज त्यहीँ विश्वविद्यालय राज्यसत्ताको कब्जामा छ ।
वि.सं २०१६ सालमा नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालयका रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो । साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो। यसको अवस्था आज दयनीय भन्दै गइरहेको छ।सङ्ख्यात्मक हिसाबले हालसम्म नेपालमा १७ वटा विश्वविद्यालय स्थापना भएका छन् । तर उपलब्धि शून्य छ। पाठ्यक्रम सकिएको हुँदैन परीक्षा हुन्छ। परीक्षा भएपछि रिजल्ट कहिले आउने टुङ्गो नहुँदासम्म चुइँक्क बोल्न नसक्ने विद्यार्थी नेता नेतृत्वमा छन् । जब विश्वविद्यालयबाट ज्ञान,विज्ञान र प्रविधिको उत्पादन वा सिर्जना हुन्छ तब त्यो विश्वविद्यालय भन्न लायक हुन्छ । इनारभित्रबाट देखाइने आकाशको सानो टुक्रा होइन, पहाडको टुप्पोबाट संसारलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्न सक्ने शिक्षाको खाँचो छ। यसको अभाव पूर्ति गर्नुपर्ने हो विश्वविद्यालयहरूले । देशको समग्र विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने कारखाना बन्नुपर्ने हाम्रा विश्वविद्यालयहरू केवल सैद्धान्तिक प्रमाणपत्र बिक्री गर्ने संस्था जस्ता भएका छन् ।
रङ्गिन सपना अनि विभिन्न उद्देश्य बोकेर जोस जाँगर र उत्साहका साथ उच्चशिक्षा अध्ययन गर्ने अभिलाषा लिएर विश्वविद्यालय प्रवेश गर्छन्, तर त्यहाँबाट निस्किदा निराशा र आत्मग्लानिले निथ्रुक्क भएर निस्कन्छन्।नवउदारवादले देश खोक्रो बनिसक्दा विश्वविद्यालय निरीह बनेर बस्नुपर्ने स्थिति छ। विश्वविद्यालयमा गरिने विद्यार्थी राजनीतिका नाममा भइरहेको पार्टीगत राजनीतिको हस्तक्षेप, विकृति, विसङ्गति र अराजकताका अखडा बन्नबाट हाम्रा विद्यालय विश्वविद्यालय जोगाउनु आजको आवश्यकता र चुनौती दुवै उत्तिकै छ । राज्यको मूल नीति नै राजनीति हो । राज्यका हरेक नागरिकमा राजनीतिक चेतना र ज्ञान हुन आवश्यक छ।जबसम्म राजनीतिक प्रणाली सही हुँदैन तबसम्म केही सही हुँदैन । देश समृद्ध बन्न सत्ता र शक्तिको होइन विकासको राजनीति मात्रै गरिदिए पुग्छ । इतिहासको कालखण्डमा विद्यार्थी राजनीतिको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन।तर आज विद्यालय विश्वविद्यालयमा गरिने विद्यार्थी राजनीति विकृति विसङ्गति र अराजकताको अर्को नाम हो भन्दा फरक नपर्ला । आज विद्यार्थी झोलामा कापी कलम र पुस्तक होइन, गाँजा, भाङ, चरेस, धतुरो, खैनी तथा सुर्तीजन्य पदार्थ र हातहतियार बोकेर जान्छ । दिनदहाडै विश्वविद्यालयको प्राङ्गणमै मान्छे काटाकाटका घटनाहरू एकपछि अर्को हामीले भोग्दै सुन्दै र पढ्दै आएका छौ।त्यसमाथि क्याम्पसहरू दलका संयुक्त पार्टी कार्यालय भन्दा कम छैनन् । विश्वविद्यालयको कुलपति स्वयं प्रधानमन्त्री, सह कुलपति शिक्षा मन्त्री हुने र भिसी, रेक्टर, रजिस्टार देखि विश्वविद्यालय सेवा आयोगका सम्पूर्ण पदाधिकारी, सदस्य क्याम्पस प्रमुख उप–प्रमुख यतिसम्म कि पार्ट टाइमर शिक्षक समेत स्वच्छ प्रतिस्पर्धाबाट होइन, कुनै राजनीतिक दलको सदस्यता लिएको राजनीतिक शक्ति र पहुँचकै भरमा नियुक्त हुन्छन् । उहाँहरू राजनीति गर्ने कि पढाउने स्पष्ट छैनन् ।
विद्यार्थीको हकहितका लागि बनेको साझा संस्था स्ववियु त्यसमा अप्रत्यक्ष रूपमा भए पनि राजनैतिक पार्टीगत भातृ सङ्गठनकै कब्जामा छ।स्ववियुको अवधारणाको न औचित्य छ न अस्तित्व नै । स्ववियुका नाममा यहाँ पनि पार्टी राजनीति नै हाबी छ । पार्टीगत भातृ सङ्गठन वा स्ववियु निर्वाचन हुने विद्यालय विश्वविद्यालय नै बढी विकृति, विसङ्गति, अराजकता र आर्थिक अनियमितताका अखडा बनेका छन् । विद्यार्थी सङ्गठनको उद्देश्य स्ववियु मार्फत विद्यालय विश्वविद्यालयलाई कसरी आफ्नो कब्जामा लिने भन्ने सिवाय अरू केही देखिँदैन।यसो भनिरहँदा विश्वविद्यालयमा राजनीति हुनुहुँदैन, भनिरहेको छैन । आजसम्म कुनै विद्यार्थी नेतृत्वले यति बोल्न लेख्नसम्म साहस गर्न सकेका छैनन्।अनि कसरी रहन्छ विश्वविद्यालयको गरिमा र अस्तित्व रु अनि कसरी बन्छ पढ्ने पढाउने वातावरण रु अनि कसरी सुध्रिन्छन् हाम्रा विश्वविद्यालयहरू रु कस्तो शिक्षा र संस्कार देलान् हाम्रा विश्वविद्यालयले रु कसरी एक्काइस शताब्दीको समाजलाई मार्ग निर्देश गर्छ रु कसरी समाज रूपान्तरणमा भूमिका खेल्न सक्छ रु कसरी विज्ञान र प्रविधिले मारेको फड्कोलाई आत्मसात् गर्छ रु कसले जोगाइदिने विश्वविद्यालयको गरिमा र अस्तित्व रु यी यावत् प्रश्नहरू तपाई हामी युवाको माझमा तेर्सिएका छन् ।
यसर्थ हाम्रा विद्यालय विश्वविद्यालयहरू विश्वविद्यालय जस्ता बनाउन आजका वर्तमानमा देखिने अनुहार र यो तरिकाबाट सम्भव देखिँदैन।वर्तमानको राजनीतिक प्रवृत्ति र शैली परिमार्जित र परिष्कृत हुनपर्छ । विज्ञान प्रविधिमा विश्वले मारेको फड्को सँगै समयसापेक्ष, देश काल, परिवेश र युग सुहाउँदो शिक्षा आजको अपरिहार्यता हो। जुन हाम्रा विश्वविद्यालयले परिकल्पना सम्म पनि गर्न सकेको छैन । उच्च शिक्षा अध्ययन गर्दै गरेको विद्यार्थीले आफ्नो परीक्षा फाराम सम्म भर्न जान्दैन । छिमेकी देशले चन्द्रमामा बस्ती बसाउने योजना बनाइरहँदा हामी भने खाली विकृत राजनीतिको सत्ता, शक्ति र कुर्सीकै लडाइँमा अलमलिएका छौँ ।
परिवर्तनको पहिलो विन्दु जनचेतना नै हो । जुन चेतनाको विकास शिक्षाबाट हुन्छ । अनि त्यो शिक्षा पाउने ठाउँ नै विद्यालय विश्वविद्यालय हो।असमान शिक्षा देखि लिएर शिक्षामा भएको व्यवसायी, व्यापारी र निजीकरणको अन्त जरुरी छ । पार्टीगत भातृ सङ्गठनका होइन, विद्यार्थी माझबाट स्ववियुको नेतृत्व छनोट हुनुपर्छ । जसले गर्दा स्ववियुको औचित्य र अवधारणा स्थापित हुन्छ । स्वच्छ प्रतिस्पर्धाबाट शिक्षक कर्मचारी र प्राध्यापक नियुक्त गरिनुपर्छ । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरौँ । विभिन्न किसिमका सीप तथा तालिम केन्द्रका रूपमा विकास गरेर आम युवालाई स्वरोजगार तथा उद्धयमशिल बन्न प्रेरित गर्छ । यसरी मात्रै हामीले हाम्रा विद्यालय र विश्वविद्यालयलाई शैक्षिक संस्थाका रूपमा विकास गर्न सक्छौ र हाम्रा विश्वविद्यालय विश्वविद्यालय जस्ता प्राज्ञिक स्थल बन्न सक्छन् ।
(हर्क रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा स्नातक अध्ययनरत विद्यार्थी हुन्)