मधेश सरकारले ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र

२ बैशाख २०८१, आईतवार १३:०८

काठमाडौं । मधेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र पर्दै गएको छ । भ्रष्टाचार र अनियमिततामा लुप्त रहेको मधेश सरकारले बजेट अभाव देखाउदै उक्त कार्यक्रम अलपत्र पारेको हो । सरकारले वार्षिक लक्ष्य अनुसार पनि छोरीहरुको बीमा गर्न सकेको छैन्  ।

मधेश प्रदेश सरकारको महत्वाकांक्षी ‘छोरी शिक्षा बीमा’ कार्यक्रम अलपत्र हुने खतरा छ । प्रदेशमा वर्षेनि जन्मिने २६ हजार छोरीमध्येबाट १ लाख ३० हजारको बीमा भइसक्नुपर्नेमा अहिलेसम्म जम्मा ११ हजार मात्रै समेटिएका छन् ।

यस कार्यक्रममा २०८० सालको अन्तिमसम्म ५३३ जना छोरीहरुमात्र बीमित भएका छन् । करिब १३ सय छोरीको बीमाका लागि अनलाइन फाराम भरिए पनि शिक्षा निर्देशनालय मधेश प्रदेशले बजेट अभाव देखाउदै कार्यक्रम अलपत्र पारेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा जन्मिएका कम्तीमा ३० हजार छोरीहरु बीमित हुनुपर्नेमा सरकारले निर्धारण गरेको लक्ष्य अनुसार पनि बीमा गर्न सकेको छैन् । मधेशमा व्याप्त दाइजो प्रथा र छोरी अर्काको घरको धन बुझ्ने समाजको प्रवृत्ति चिर्नको लागि तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघमा उक्त कार्यक्रम सञ्चालनमा ल्याएका थिए ।

मधेस प्रदेशमा विभिन्न समयमा सरकार परिवर्तन भईरहदा छोरी बीमा कार्यक्रम पनि ओझेलमा पर्दै गएको देखिन्छ । मधेश प्रदेशका तत्कालित मुख्यमन्त्री राउतले आफु सरकारमा रहँदासम्म छोरी बीमा कार्यक्रमकोे लागि प्रशस्त मात्रामा बजेट पनि विनियोजन गरेका थिए । मधेश प्रदेशका छोरीहरुलाई उच्च शिक्षा हासिलमा समस्या नपरोस् भन्ने उदेश्यका साथ राउतले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रम अन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लामा जन्मिने छोरीहरुको बीमाको लागि प्रभु बैंकसँग सम्झौता गरी औपचारिक रुपमा शुभारम्भ गरेको थियो । कार्यक्रम अनुसार सुरुमा १ लाख २५ हजारको बीमा सुरु गरियो । पछि रकम थपेर ३ लाख पु¥याइयो । एक जना छोरीको बीमाको लागि ३७ हजार ४५३ रुपैयाँ प्रिमियम सरकारको तर्फबाट प्रभु बैंकमा जम्मा गरियो ।

बीमित नवजात छोरीले एसईई पास र २० वर्ष उमेर पूरा गरेपछि ३ लाख रुपैयाँ पाउने व्यवस्था ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेख छ ।

‘बीमामुद्दती खाताको समयावधि बढीमा २० वर्ष हुनेछ । निर्धारित अवधि पश्चात् खातावाला छोरीले एसईई पूरा गरेको प्रमाण पेश गरेपछि निर्देशनालयको सिफारिस र अन्य आवश्यक कागजात प्राप्त भइसकेपछि मात्रै बालिकाको खातामा जम्मा भएको रकम नियमानुसार प्राप्त हुने ब्याज, बोनस सहित सेवा प्रदायकले बीमित मुद्दती बचतकर्तालाई भुक्तानी गर्नुपर्नेछ’ कार्यविधिमा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*