बाजुरामा फार्मेसी संचालन नहुँदा स्वास्थ्य बीमाका बीमित समस्यामा

२ बैशाख २०८१, आईतवार ११:२३

काठमाडौं । बाजुरामा फार्मेसी संचालन नहुँदा स्वास्थ्य बीमा गराएका बीमित समस्यामा परेका छन् । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विगत चार वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएतापनि आम नागरिकले उचित रुपमा यसको सुविधा पाउन सकेका छैनन् ।

स्वास्थ्य बीमा बोर्डको वेवसाइटले २०७६ जेठ १ गतेदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको रेकर्ड देखाउँछ । यसरी कागजी रुपमा चार वर्षअघि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको देखिएतापनि लागू नहुँदा आम नागरिकले स्वास्थ्य बीमाको सुविधा उपभोग गर्न पाएका छैनन् ।

बाजुरामा २०७४ साल चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै ३४ हजार ८३१ जना आबद्ध भएका छन् । अतिगरीब, विपन्न आय भएका र अन्यका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमाको पहुँचबाट आम नागरिक अझै टाडा छन् ।

स्वास्थ्य बीमा गरेपछि अस्पतालमा आकस्मिक तथा बहिरंग सेवा, निदानात्मक सेवा तथा अन्तरंग सेवा, शल्यक्रिया र सूचीकृत औषधी निःशुल्क पाउने व्यवस्था रहेको छ ।

स्वास्थ्य बीमाले घातक रोगको उपचारमा सहज हुने सोचेर त्यहाँका अधिकांश नागरिक बीमा कार्यक्रममा सहभागी भएका छन् । तर गाउँमै स्वास्थ्य बीमा गर्न आएका कर्मचारीबाट बीमा गराएका कतिपय नागरिकले सुविधा पाउन नसकेपछि बीमा नवीकरण गराएका छ्रैनन् ।

बीमा कार्यक्रम लागू हुँदा कार्यक्रममा सहभागी पाँचजना सदस्य भएको परिवारले वर्षमा बढीमा एक लाख रुपैयाँ बराबरको उपचार निःशुल्क पाउने भनिएतापनि उपचारको खर्च आँफैले बेहोरिरहेको कतिपयको गुनासो छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी संचालन नहुँदा बीमितकर्ताले सेवा नपाएको स्वास्थ्य बीमा बाजुराकी संयोजक तारा रोकायाले बताइन् । स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी हुनुपर्ने निःशुल्क दिने औषधी हुनुपर्नेमा कोल्टीमा सो लागु नभएको उनी बताउँछिन् ।

तथ्यांकअनुसार सो क्षेत्रका बुढीनन्दा नगरपालिका, जगन्नाथ, हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाका १८ हजार ६८० जनाले स्वास्थ्य बीमा गरेका छन् । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा लागू नभएपछि बीमा भरेका नागरिकले पनि नवीकरण गर्न छाडिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*