धिपधिपे अर्थतन्त्रमा लोडसेडिङ थप मार थपिँदै, अर्थतन्त्र सुधारको आशामाथि विद्युत तगारो

राजन कठायत
२७ चैत्र २०८०, मंगलवार १६:२६

काठमाडौं । देशको अर्थतन्त्र विगत १८ महिनादेखि संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । धिपधिपे अर्थतन्त्रमा अर्को नयाँ चुनौति थपिएको छ, विद्युत । सुख्खा समय र भारतबाट ल्याउने बिद्युतबाट समेत अपुग हुँदा नेपालका उद्योगीहरुले लोडसेडिङको नराम्रो मार खेपिरहेका छन् ।

देशमा रोजगारीको अभावले दैनिक रुपमा हजारौं मानिसहरुले देश छोड्नु पर्ने वाध्यता रहेको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट दैनिक विदेशिने तीन हजारलाई नेपालमै रोजगारी दिनुपर्ने आवाज चर्को रुपमा उठिरहेको छ । तर, भएका मजदुरलाई रोजगारी दिन समेत विद्युत अभाव हुन थालेपछि देशका उद्यमीहरु अत्तालिन थालेका छन् ।

नेपालमा औद्योगिक क्षेत्रको रुपमा स्थापना भएको मधेश प्रदेशका अधिकांश उद्योगहरु विद्युत आपूर्ति नहुदा बन्द हुने कगारमा रहेका छन् । देशमा आर्थिक मन्दीको कारणले उद्योगको क्षमता भन्दा न्युन उत्पादन भैरहेको छ । झनै विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपुर्ति दिन नसक्दा उद्योगहरु मारमा परेको व्यापारीहरुले गुनासो गरेका छन् ।

थश ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशका अध्यक्ष अशोक कुमार तेमानीले विद्युत प्राधिकरणले उद्योगहरुमा विद्युत आपुर्ति गर्न नसकेको बताएका छन् । उनले भने, ‘देशमा रोजगारी सिर्जना गर्ने एकमात्र माध्यम भनेको उद्योग व्यवसाय हो । विद्युत प्राधिकरणले विद्युत आपुर्ति नगरीदिँदा अधिकांश कम्पनीको उत्पादन बन्द भएको छ।’

उनले सरकारलाई लगानीको वातावरण छिटोभन्दा छिटो सिर्जना गर्न माग गर्दै प्राधिकरणलाई भारतबाट विद्युत खरिद गर्ने प्रक्रिया के भईरहेको छ ? भनेर प्रश्न पनि गरेका छन् ।

उद्योगहरुले नागरिकको माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् । यसको फाइदा उठाउन विभिन्न गिरोहहरुले भारतिय नाकाहरुमा अबैद्ध कारोबार गरिरहेका छन् । यसै प्रकारको व्यवहार सरकारले निजि क्षेत्रलाई गर्ने हो भने वैदेशिक लगानीको त आश नगरेनी हुन्छ भन्दै उनले दुःख व्यक्त गरेका हुन् ।

उद्योगीका अनुसार प्राधिकरणले लोडशेडिङको निश्चित तालिका नदिँदा कुन बेला उद्योग चलाउने र कुन बेला नचलाउने अन्योल भएको छ । ‘कारखानाका मेशिन चल्दाचल्दै बत्ती जाने समस्याले गर्दा उद्योगहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको छ,’ तेमानीले भने ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसले नदीहरुमा पानीको बहाब कम भएपछि विद्युत उत्पादनको कमी भएका कारण उद्योगहरुलाई विद्युत आपूर्ति गर्न केही समयलाई समस्या भएको बीमापोष्टलाई बताए ।

‘उत्पादनको कमी, वैकल्पिक प्रसारण लाइनको अभाव, लोडको उतारचढाव लगायतका विभिन्न समस्याका कारण चैत महिनामा मात्र विद्युत आपूर्ति गर्न नसकिएको हो । अबको केही समयपश्चात हामीलाई विद्युत प्रवाह गर्न कुनै समस्या हुने छैन्।’ प्राधिकरणका प्रवक्ता घोषले बीमापोष्टसँग भने ।

नेपाल विद्युत प्राधिकरणलाई आपूर्तिकर्ताहरुले प्रक्षपण अनुसारको विद्युत प्रवाह गर्न नसकेको उनले बताए । ‘चैत महिनामा उद्योगहरुलाई विद्युत आपूर्ति पूर्ण रुपमा गर्नको लागि प्रतिदिन ९४८ मेघावट आवश्यक पर्छ । तर, सम्पूर्ण विद्युत प्राधिकरणका आपूर्तिकर्ता र प्राधिकरणको गरी कुल ७८१ मेघावट मात्र उत्पादन भैरहेको छ । छिमेकी (भारत) सँग माग अनुसारको विद्युत ल्याउने वातावरण छैन । त्यसैले केही समयलाई उद्योगहरुलाई विद्युत आपूर्तिमा समस्या देखिएको हो।’ घोषले बताए ।

साथै, उनले मधेश लगायतका केही औद्योगिक क्षेत्रमा कम्तिमा एक हप्ता जति समयका लागि मात्र विद्युत आपूर्तिमा समस्या देखिएको कारण लोडसेडिङ तालिका सार्वजनिक गर्न आवश्यक नरहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*