ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
काठमाडौं । ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा पर्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ ।
ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ ।
जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ । ३ मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ । ३० सेन्टिमिटर छालले ओकिनावालाई असर गरेको एजेन्सीले जनाएको छ।
केन्द्रीय मौसम प्रशासनका प्रवक्ताका अनुसार ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९९९ मा, ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पुर्याएको थियो । करिब २ हजार ४ सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए ।
ताइवान प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ । यो प्रशान्त महासागरको छेउमा छ ।यस टापुमा नियमित रूपमा भूकम्प जान्छ । सन् २०१८ मा हुवालिन नजिकै ६।२ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने ३ सयभन्दा बढी घाइते भएका थिए ।