बीमाको महत्व आमाको माया जत्तिकै छः सानिमा रिलायन्सका जयराम–बिना दम्पत्ती
काठमाडौं । तत्कालीन रिलायन्स लाइफ स्थापनाको समयमा बीमा अभिकर्ता पेशामा प्रवेश गरेका न्यौपाने दम्पत्ती (जयराम रिमाल र विना कुमारी न्यौपाने) बीमा क्षेत्रकै ‘आइडल बीमा अभिकर्ता’ जोडी हुन् ।
हाल सानिमा रिलायन्स लाइफका जयराम रिमाल र विना कुमारी न्यौपाने कम्पनीको उत्कृष्ट ‘जोडी अभिकर्ता’ हुन् । कम्पनीको अभिकर्ता भेला हुने समय होस् वा अन्य कुनै कार्यक्रममा न्यौपाने जोडीको कामको प्रशंसा हुने गर्दछ ।
पाँच वर्षअघि तत्कालीन रिलायन्स लाइफमा प्रवेश गरेको न्यौपाने अभिकर्ता जोडी हाल चिफ एजेन्सी म्यानेन्जरको रुपमा कार्यरत छन् । विना तीन पटक एमडीआरटी पनि भइसकेकी छन् भने आगामी वर्षहरुमा लक्ष्य पूरा गरेर आजीवन एमडीआरटीको सदस्य बन्ने लक्ष्य बोकेर हिडिरहेकी छन् ।
त्यस्तै, ५०–६० जना अभिकर्ता जन्माइसकेका चिफ एजेन्सी म्यानेन्जर जयराम रिमालले बीमा अभिकर्ता पेशामा भविष्य रहेको बताँउदै आगामी दिनमा पनि अहोरात्र खट्ने दृढता कसेका छन् । बीमा क्षेत्रमै सुन्दर भविष्य खोज्दै गरेका न्यौपाने दम्पत्तीसँग बीमापोष्टकी रिना खत्रीले गरेको कुराकानीको सारः
बीमा क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नुभयो ?
जयरामः बीमा सामाजिक सुरक्षा तथा पारिवारिक सुरक्षाअन्तर्गत पर्छ भन्ने अनुभूति दिलाउने गरी विभिन्न प्रकारका कार्यबाट बीमा कनेक्ट गराएर अभिकर्ता पेशामा हामी दुबै श्रीमान् श्रीमती आवद्ध छौँ ।
बिनाः श्रीमानको माध्यमबाट म यस पेशामा आवद्ध भएकी हुँ । त्यतिबेला बीमा अभिकर्ता भनेपछि ग्राहकहरु भाग्ने अवस्था व्याप्त थियो । सुरुमा त म पनि त्यति जानकार थिइन । पछि मैले बीमा कसरी गर्ने, कसरी बीमा बुझाउने र कहाँ–कहाँ पर्छ भनेर ग्राहकहरुलाई बुझाउन सक्ने भएँ ।
बुढा विदेश गएर पैसा कमाउने र बुढीले घरव्यहार हेर्ने प्रचलन रहेको छ ।
नेपाली समाजमा तपाईंहरुले अभिकर्ता पेशा अँगाल्ने प्रेरणा कसरी पाउनुभयो ?
जयरामः मेरो एकजना मामाको छोरा (दाइ) हुनुहुन्थ्यो । उहाँले श्रीमतीलाई सधै तिमी घरको काम गर म पैंसा कमाउछु भन्नुहुन्थ्यो ।
मैले उहाँलाई बीमाको प्रस्ताव नराखेको पनि हैन । उहाँको अझै २०–३० लाखको ऋण छ भन्ने पनि सुनेको थिए । एकदिन उहाँको देहावसान भएको खबर आयो । त्यसपछि मैले सोचे, ओहो ! भोलि कुनै दिन मरो पनि त्यस्तै अवस्था आइपरेमा मेरी श्रीमतीलाई के होला ? दुईटा सन्तान पनि छन्, उनीहरुको अवस्था के होला ? भन्ने लाग्यो । त्यसपछि सोचे उनले घरको काम गरेर मात्रै हुँदैन हामीसँगै बसेर एक भएर काम गर्नुपर्छ, हामी आफैँ कमाउन सक्ने हुनुपर्छ है भन्ने सोच आयो र उनीसँग सोही प्रकारको प्रस्ताव राखेर दुबै मिलेर यो पेशामा आवद्ध भयौं ।
पहिले–पहिले एक जनाले कमाउने र अरुले घरको काम गर्ने प्रचलन थियो । मैले पनि सोचे जब मैले पनि पढाई गरेकी छु भने म पनि किन आफ्नो क्षमता अनुसारको काम नगर्ने ? एक्लै हिँड्नु भन्दा सँगै हिँड्दा सहज हुन्छ भनेर नै हामी दुबै जनासँगै काम गरिरहेका छौँ ।
तपाईहरु दुबैजना सहयात्री भएर फिल्डमा खटिंदा घर व्यवहार चलाउन कत्तिको सहज–असहज हुन्छ ?
जयरामः घर व्यवहार चलाउन एकदमै सहज छ । सँगै काम गर्दा मलाई अफ्ठेरो पर्दा उनीले सहयोग गर्छिन, उनलाई अफ्ठेरो पर्दा मैले सहयोग गर्छु । म त अझै साथीहरुलाई पनि श्रीमान श्रीमती दुबै एउटै क्षेत्रमा खटिदाँ सहज हुन्छ है भनेर सुझाव पनि दिने गर्छु ।
अभिकर्ता पेशामा आउनुअघि कुन पेशामा आवद्ध हुनुहुन्थ्यो ?
जयरामः म ट्राभलको कामहरु गर्छु । अरुपनि काम नभएको त हैन, तर अभिकर्ताको रुपमा फिल्डमा खटिदाँ म मेरो पेशा यहि अभिकर्ता मात्रै हो भन्ने धारणा राखेर बीमितलाई समेत सोही प्रकारको अनुभूति हुने गरी सेवा प्रदान गर्छु । यो भनेको सेवामूलक पेशा हो । मैले समाजमा सबैको रक्षावरण हुने बीमा गराउँदा सेवा गरेको अनुभूति गर्छु । म कमिशन भन्दापनि मिसनको पछाडि कुद्ने मान्छे हुँ । अभिकर्ता बनेर जाँदा ९० प्रतिशतसम्मले अभिकर्तालाई यमराजको रुपमा हेर्ने गरेको समेत पाएँ । तर, सबै कुरा बुझाउन सकियो भने उहाँहरु बीमा गराउन तयार बन्नुहुन्छ ।<
बिनाः मेरो विवाह भइसकेपछि कलेजमा पढाउनका लागि सरहरुले आह्वान गर्नुहुन्थ्यो । तर, आमा बन्ने भएपछि परिवारलाई महत्व दिनुपर्छ भनेर म कतै जान सकिन । एकचोटी विदेश जाने कोसिस गरेको पनि हो । पछि म आफैँले रद्द गरे । मेरो सन्तान जन्मिएको एक महिनापछि नै अभिकर्ता बनेर काम गरें । यसरी काम गर्न परिवारको समर्थनको असाध्य जरुरत हुन्छ । मैले यसमा परिवारबाट समर्थन पाएकी छुँ । कतिपय अवस्थामा हामी रातको १२–१ बजेसम्म पनि बीमितकै घरमा हुन्छौं
पाँच वर्षअघि र पाँच वर्षपछि बीमितहरुको बीमाप्रतिको धारणामा के–कस्ता परिवर्तन आएको महसुस भयो ?
जयरामः बीमितको धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ । कुनै बेला नहुनसक्छ, तर प्रायजसो पहिलेको भन्दा अहिले बीमितहरु पनि सचेत छन् । जसरी एउटा मार्केटिङ गर्नेले हरेक पसलमा सामान बेच्न सक्दैन त्यसैगरी हामीले पनि हरेक बीमितको बीमा गराउन सक्दैनौं । यसलाई सामान्य रुपमा लिनुपर्छ । कतिपयले बीमितले सुरुमा बीमा गराउन नमान्ने तर दुर्घटना घटिसकेपछि बीमित आफैले फोन गरेर पनि बीमा गराउनु भएको छ । कतियप बीमितले कुन कम्पनीमा र को अभिकर्तामार्फत बीमा गराउने भनेर अन्योलमा परेर पनि बीमा गराउनु भएको छैन ।
बीमा किन जरुरी छ ?
मेरो दृष्टिकोणमा पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । किनभने परिवारमा आमाले र अर्थतन्त्रमा बीमाले ठूलो जिम्मेवारी र जोखिम बहन गरेको हुन्छ । म सबैलाई दुईटा ‘मा’ राख्न सुझाव दिन्छु । परिवारमा आमा र अर्थमा बीमा । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, जस्तै सहारा हो बीमा पनि ।
बीमा अभिकर्ताले बीमाको मात्र ज्ञान राखेर पनि हुँदैन । एउटा डिम्याट खाता समेत नखोलेको बीमितलाई खाता खोल्न लगाएर शेयरमा लगानी गर्न र आईपीओ भर्न सिकाइयो भने त्यसबाट गरेको आम्दानीले पनि बीमा गराउन आउनुहुन्छ । यो अनुभव म आफैलाई पनि छ ।
बीमा भनेपछि आम सर्वसाधारणले किन झन्झट मान्दछन् ?
जयरामः यसमा प्रमुख कारण हो कमिसन । बीमितले अभिकर्ताले आफ्नो कमिसनका लागि बीमा गराउँदै छ भन्ने भान भएपछि यसबाट तर्किनुहुन्छ । किनभने कतिपय अभिकर्ताले कमिसन कै लागि बीमा गराएका पनि छन् । मेरो यो टार्गेट पुरा गर्नुछ यो गर्नुछ भनेर बीमितको मर्म र अवस्था नबुझि आफ्नो स्वार्थ पूर्ति गर्न बीमा गराउने परिपाटीले निम्त्याएको समस्या हो, यो । हामीले बीमा सेवामूलक ढंगले गर्नुपर्छ । बीमा योग्य मान्छे हो हैन पहिचान गरेर मात्रै बीमा गराउनुपर्छ ।
तपाइले फिल्डमा हिडिरहँदा कस्तो समस्याको सामना गर्नुभएको छ ?
बिनाः फिल्डमा जाँदा समस्या त धेरै आउँछन् । कतिपयले त यिनीहरु अभिकर्ता हुन् । यिनीहरुलाई भेट्न हुँदैन बीमा गराइदिन्छन् भन्ने पनि भावना हुन्छ । कतिपयले बैंकमा मात्र बीमा गराउनपर्छ बीमा सरकारको माध्यमबाट आएको हैन भन्ने सोच पनि राख्नुहुन्छ । उहाँहरुलाई म के बनेर बुझाउँछु भने सबैभन्दा माथि नेपाल सरकार हुन्छ । त्यसको मातहत अर्थ मन्त्रालय हुन्छ । अर्थ मन्त्रालयको मातहतमा एकातिर राष्ट्र बैंक हुन्छ भने अर्काेतिर बीमा प्राधिकरण हुन्छ । यसरी बीमा प्राधिकरणको मातहतमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरु पर्दछन् भने राष्ट्र बैंकको मातहत बैंक तथा वित्तीय संस्था पर्छन्, अब भन्नुहोस् त बीमा नेपाल सरकार भित्र पर्र्र्दैन र ? भनेर बुझाउने गर्छु । यसरी बुझाएपछि ‘ए ! बीमा भनेको यस्तो पो हो ? मैले त बीमाले पैसा खाएर भाग्छ भन्ने सोचेको थिएँ’ पनि भन्नुहुन्छ ।
मार्केटमा अभिकर्तालाई सहज हुन कम्पनी तथा प्राधिकरणले के गर्नुपर्ला ?
जयरामः यसका लागि प्राधिकरणले बीमासम्बन्धी केही ऐन नियम सच्याउनुपर्ने देखिन्छ । पहिला हामीले धेरै कम्पनीमा बीमा गराउन पाउथ्यौं, अहिले एउटा कम्पनीमा भन्दा मिल्दैन । जस्तो, एक जनाले १० करोडको बीमा गराउन चाहेर एउटै कम्पनीमा मात्र बीमा गर्यो र उसको कुनै कारण देहावसान भयो भने उसले ११ करोडभन्दा पाउँदैन । यही १० करोडलाई हामीले मिलाएर विभिन्न कम्पनीमा हाल्दिन पायौं भने उसले २० करोडसम्मको दाबी पाउँछ ।
हामीले बीमितकेन्द्रीत सेवा प्रदान गर्ने हो भने यो व्यवस्था ल्याउनु जरुरी छ । प्राधिकरण तथा कम्पनीले पनि अभिकर्ताको महत्व र बीमा क्षेत्रमा खेल्ने भूमिकाको बारेमा मिडियामार्फत आम जनमानसमा सन्देश प्रवाह गरिदिने हो भने यसले पनि अभिकर्तालाई थप ऊर्जाशील भएर काम गर्न सहयोग पुग्छ ।
बिनाः बीमा प्राधिकरणले बेला बेलामा नियमहरु परिवर्तन गरिरहेको हुन्छ जुन हामीलाई प्रत्यक्ष रुपमा थाहा हुदैन । हामी उहि पुरानै शैलीमा पोलिसी विक्री गरिरहँदा पछि कम्पनीको माध्यमबाट नियम परिवर्तन भएको थाहा पाउँछौं । यसले कम्पनी र प्राधिकरणको केही हुँदैन तर एउटा अभिकर्तालाई अफ्ठेरोमा पारेको हुन्छ । यस प्रकारको कार्यबाट अभिकर्ताको बीमितसँग सम्बन्धसमेत विग्रने खतरा रहन्छ ।
कम्पनीहरु मर्ज हुँदा अभिकर्तालाई के–कस्तो प्रभाव पर्छ ?
जयरामः यसले अभिकर्तालाई सामान्य रुपमा हेर्दा केही असर त पारेकै हुन्छ । तर, यसको समाधानको उपाय पनि कम्पनीले गरिरहेको हुन्छ । बीमामा धेरै पोलिसी हुन्छन तर यसलाई राम्रोसँग बुझेर जानेर मात्र विक्री गर्नुपर्छ । कतिपयले भन्नुहुन्छ ‘अभिकर्ता भेटेपछि बाँच्नुभन्दा मर्नु फाइदा रैछ भन्ने भयो !’ यसलाई त्यसरी लिनुहुँदैन । किनभने बीमा भनेकै जोखिम बहन गर्ने हो । बीमितको जीवनमा आउन सक्ने जोखिम बहन गर्ने भने कै बीमा हो । बीमाले त्यही जोखिम बहन गरिरहेको हुन्छ । यो कुरा बीमितले बुझ्न जरुरी छ ।
बिनाः कतिपय बीमितलाई सानिमा रिलायन्स मर्ज भएको पनि थाहा थिएन । कुरा गर्ने क्रममा सानिमा कम्पनी त रिलायन्स पो भयो ? सानिमा हरायो ? भनेर आश्चर्य मान्दै प्रश्न गर्नुहुन्थ्यो । हामीले उहाँहरलाई प्राधिकरणको निर्देशन अनुसार मर्ज भएको हो हराएको हैन् । दुई कम्पनी मिलेर एक भएको हो, भनेर बुझाउने गरेका छौं ।
बीमितले बीमा पोलिसी पढुनपर्छ कि पर्दैन ?
जयरामः बीमितले पढेको राम्रो हो । तर, अभिकर्ताले चाँही पढेकै हुनुपर्छ । संसार विश्वासमा नै अडेको छ । यदि अभिकर्ता इमान्दार भएर बीमितको अवस्था हेरेर उपयुक्त पोलिसी विक्री गर्ने हो भने यसले कुनै समस्या निम्त्याउदैन । तर अभिकर्ताले आफ्नो स्वार्थपूर्ति गर्ने हेतुले पोलिसी विक्री गर्ने हो भने यसले सम्बन्धमा नै दरार ल्याउँछ । एउटा जिम्मेवार अभिकर्ता भइसकेपछि कुनै बीमितले गलत पोलिसी खरिद गर्न चाह्यो भने पनि त्यो विक्री गर्नुहुदैन । अभिकर्ताले कहिलेकाँही एउटा दुईटा बीमा पोलिसी नउठाउने हिम्मत राख्नुपर्छ । हामी कमिसनको पछि कुद्न थाल्यौं भने अपराध गरिरहेका हुन्छौं । जसरी एउटा दुधवालाले धेरै दूध बेच्ने लक्ष्य राख्यो भने पानी थपेर अपराध गर्छ बीमा पेशामा पनि त्यस्तै हो ।
जयरामः मेरो अन्डरमा पनि ५०–६० जना अभिकर्ता पनि छन् । मैले चाँही पढेलेखेको र बीमा सम्बन्धी बुझेको मान्छेलाई नै राख्ने गरेको छु । मेरो हालसम्म कुनै पनि क्लेम परेको छैन र नपरोस पनि । सबै बीमितहरु दीर्घजिवी हुन् ।
बिनाः पाँच वर्षको अन्तरालमा मैले लगभग दुई करोड रुपैयाँ बराबरको सेल्फ कोडमा विजनेश गरे होला । टिमबाट त धेरै नै भएको छ । क्लेमको कुरा गर्दा मेरो एउटा क्लेम परेको छ । फेरी कस्तो भयो भने ? उहाँलाई कसैले बीमा गरायो भने पैसा आउँछ भनेको रहेछ । एक दिन उहाँ क्यान्सरको कारण विरामी भएर अस्पतालमा भर्ना हुनुभएको रहेछ र क्यान्सर भएको थाहा पाउनुभएछ । त्यसको पाँच दिनपछि बीमा गराउनपर्यो भनेर फोन आयो ।
उहाँ हेर्दा फिट हुनुहुन्थ्यो त्यसमा पछि उहाँले आठ वर्षे अवधिको बीमा लिनुभएको थियो । पछि उहाँको क्लेम परेपछि आवश्यक डकुमेन्ट तयार पार्दै गर्दा पोलिसी इन्ट्रि हुनुअघि नै क्यान्सर भइसको पुष्टि भयो । त्यस्तो भएपछि हामीले दाबी दिन सकेनौं । हामीलाई पनि नरमाइलो लाग्यो । त्यो हुनुअघि नै उहाँले बीमा गराएको भए दाबी पाउनुहुन्थ्यो । घातक रोग लागिसकेको पुष्टि भयो र दुर्घटनाले क्षतिग्रस्त भैसकेपछि बीमा गराएर हुँदैन । बीमा भनेको त हामी तन्दुरुस्त हुँदा नै लिनुपर्छ । त्यसैले बीमालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
एमडीआरटीमा कतिचोटी सहभागी हुनुभयो?
बिनाः म सानिमा रिलायन्समा काम गर्दैगर्दा म तीन पटक एमडीआरटी भए । एउटा सामान्य अभिकर्ता भन्दापनि एमडीआरटी अभिकर्ता भनेपछि बीमितहरु पनि सकारात्मक बन्नुहुन्छ । आफ्नो पैसा तिरेर विदेश जानुभन्दा एमडीआरटी बनेर नेपालको राष्ट्रिय झण्डा ओड्दै सम्मेलनमा भाग लिन विदेश जानुको आनन्द नै छुट्टै हुन्छ । त्यहाँ गएपछि हामीलाई धेरै नै गर्व महसुस हुने रहेछ । कुनै समय हामीलाई पनि म एमडीआरटी बन्छु होला र ? भन्ने लाग्थ्यो । तर, एकचोटी बनिसकेपछि धेरै उर्जा प्राप्त हुन्छ । मेरो अहिले १० चोटी एमडीआरटी बन्ने लक्ष्य छ ।
कुन पोलिसीमा बीमितको आकर्षण धेरै छ ?
जयरामः मैले इन्डोमेन्ट र होल लाइफ पोलिसी धेरै बिक्री गरेको छु । किनभने बीमितले सर्वाधिक यही पोलिसी रुचाउनु भएको छ । अझै बीमा बालबालीकाको धेरै हुने गर्छ । तर कस्तो अवस्थामा बीमा गराउने भन्ने पनि हुन्छ । बीमाले एउटा बीमितको मूल्य बनाएको हुन्छ । आफन्त गुमाउनुको पीडा त्यहिमाथि ऋणले थिच्दा झनै सकस पर्छ । बीमाले कम्तिमा त्यो आर्थिक भार थेगेको हुन्छ ।
बीमा हुने खानेलाई होकी हुँदा खानेलाई?
बिनाः मलाई जहाँसम्म लाग्छ बीमा हुँदा खानेका लागि झनै अपरिहार्य हो । बीमा सबैलाई आवश्यक छ । तर गरिबलाई यसको झन धेरै जरुरी हुन्छ । अभिकर्ताले पनि सहरकेन्द्रीत रहेर हुनेखानेलाई ठूलो बीमाङ्कको बीमा गराउने लक्ष्य राख्नुहुन्छ तर म सहर भन्दा पनि गाँउ केन्द्रीत रहेर बीमा गराउने गर्छु ।
अभिकर्ता पेशामा आउन चाहनेलाई तपाई के सुझाव दिनुहुन्छ ?
बिनाः यदि हजुरहरु यो पेशामा आउनुभएको छ वा चाहनुभएको छ भने आफ्नो जीवन साथीलाई पूर्ण समर्थन गर्नुहोस् । जुनसुकै पेशामा लागेको भएपछि एक–अर्कालाई पूर्ण समर्थन् गर्नुहोस् । बीमा पेशालाई भविष्य ठानेर आउनुहोस् निरन्तर यसमा प्रयासरत रहनुभयो भने सफलता अवश्य प्राप्त हुनेछ ।
अभिकर्ताले ट्रेनर वा लिडर चाही राम्रो खोज्नुपर्छ । यदि म कहाँ आउने हो भने पनि म तालिम दिन सक्छु । सुरुको एक वर्षचाँहि कडा मिहेनत गर्नुपर्छ । त्यसपछि त सहज र सरल लाग्छ, यो पेशा ।
तपाईहरु बीमा प्राधिकरणलाई के भन्न चाहानुहुन्छ ?
जयरामः बीमा प्राधिकरणले अभिकर्तालाई सम्मान गरोस् । अभिकर्ताविना बीमा क्षेत्र चल्नै सक्दैन । बीमाको मेरुदण्ड अभिकर्तालाई बीमा प्राधिकरणले सहज हुने किसिमको नीति ल्याउनुपर्छ । अझ हामीले त एक दिन प्राधिकरणसँगै छलफल गर्ने निर्णय गरेका छौं ।
बिनाः बीमा प्राधिकरणले अभिकर्ता भनेको बीमा क्षेत्रका लागि एक नभई नहुने जनशक्ति हो । अभिकर्ता बाट नै सिंगो बीमा व्यवसाय चलिरहेको हुन्छ भन्ने किसिमको सन्देशहरु प्रवाह गरिदिओस् । आम मानिसमा अभिकर्ताप्रतिको धारणा सकारात्मक हुने किसिमको जनचेतना जगाउन सकियो भने अभिकर्तालाई थप ऊर्जा मिल्ने र यसले सिंगो बीमा व्यवसायमा नै सकारात्मक परिवर्तन आउँछ ।
बीमा पोष्टले हाम्रो विचार राख्न दिइएकोमा धेरै धेरै धन्यवाद।