इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित)
काठमाडौं । बालुवाटार जग्गा काण्डमा व्यक्तिका नाममा दर्ता भएको जग्गाहरु हाल सरकारीकरण भइसकेको छ । गत साता मात्रै ४२ वर्ष पहिले चौधरी ग्रुपले कब्जा गरेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा पनि सरकारको नाममा आइसकेको छ । अब पालो वहुचर्चित ‘थँ वहिल’ अर्थात ठमेलको छायाँ सेन्टरको । बाँसवारी छालाजुत्ताको जस्तै छानविन भएमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे जेल पर्ने छन् ।
राणा खलक ससुरालीको सम्पत्ति हत्याएर ‘पायोनियर’बैंकरको छवि बनाएका पृथ्वीबहादुर पाँडेसहित छायाँदेवी कप्पलेक्सका ४३ बढी लगानीकर्ताहरु जेल पर्ने भएका हुन् । ऐतिहासिक गुठीको जग्गा हडपेर बनाइएको छायाँदेवी कम्प्लेक्सबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले छानविन अघि बढाउने तयारी गरेको बुझिएको छ ।
साविक ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत रहेका पृथ्वीबहादुर पाँडे ठमेलस्थित छायाँदेवी कम्प्लेक्सका मुख्य शेयरधनी तथा संस्थापक अध्यक्ष हुन् । अहिले छायाँदेवीको मुख्य हर्ताकर्ता भने, पृथ्वीकी धर्मपत्नी प्रतिमा पाँडे(राणा)हुन् । छायाँदेवी कम्प्लेक्स प्रालिसहित प्रतिमा पाँडे, शंकरप्रसाद शाह, काठमाडौं महानगरपालिका र गुठी संस्थानलाई प्रतिवादी बनाई २०७१ यता १४ बढी मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छन् ।
छायाँदेवी कम्प्लेक्स विवादमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै विभिन्न मितिमा मुद्दा दायर भएका हुन् । अधिवक्ता दीपक मिश्र र अधिवक्ता रामहरि श्रेष्ठ समेतले २०७१ बैसाख र असोजमा मुद्दा दायर गरेका थिए । यसै विवादमा गुठी लिखत बदर नक्सा बदर माग गर्दै भागवत नरसिंह प्रधानले २०७३ असोज २ गते हालेका थिए । विवादित जग्गामा सपिङ मल बनाउने सुरेशाय हाउजिङ कम्पनी प्रालि र अम्बिका राणाविरुद्ध समेत लिखत बदरसमेतको मुद्दा छ ।
बैंकर बनेर हिँडिरहेका पृथ्वीबहादुर पृथ्वी नारायण शाहको राज्य विस्तारको क्रममा कीर्तिपुर ‘चढाई’गर्दा स्थानीयद्वारा मारिएका काजी कालु पाँडेका सन्तति तथा राणाकालीन सत्ताका प्रभावशाली प्रशासक सरदार भीमबहादुर पाँडेका छोरा हुन् । उनी सत्ता पहुँचको दुरुपयोग गर्दै बागमती सभ्यता मास्न उद्दत देखिएका छन् ।
पर्यटीय केन्द्र ठमेलको मुटु क्षेत्रको १५ रोपनी क्षेत्रफल ओगटेको र ५ अर्ब लगानी गरेको भनिएको छायाँदेवी कम्प्लेक्सभित्र २ सय ५० वटा पसल, दुई सयवटा सुविधासम्पन्न कोठा भएको पाँचतारे होटल, एक हजार क्षमतायुक्त बैंकट हल, पाँचसय क्षमताको कन्र्फेन्स हल र ७ वटा रेष्टुरेन्ट सहितको ४ सय ५० वटा गाडी अटाउने क्षमताको कारपार्क गर्न मिल्नेगरी योजनावद्ध बनाइएको थियो ।
१५ मध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीका नाममा रहेको गुठियार तथा अनुसन्धानकर्ता भागवतनरसिंह प्रधान बताउँछन् । उनले जमिन गुठीको भएकाले व्यवसायिक भवन बनाउनु गैरकानुनी हुने जिकिर गर्दै सर्वोच्चमा मुद्दा हालेका हुन् ।
कित्ता नम्बर १६७ मा रहेको भगवानबहालस्थित छायाँदेवी कम्प्लेक्स निर्माणदेखि नै विवादमा परेको थियो । मालपोत कार्यालयको रेकर्डमा अहिले पनि सार्वजनिक पोखरी भनी कायम छ । २०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरी सार्वजनिक गरेको थियो । त्यसअघि यसको स्वामित्व राणा परिवारका नाममा थियो । केशर शमशेर राणाले गुठीलाई वर्षको १ सय २५ रुपैयाँ तिर्ने गरी १९७७ सालमा पोखरी आफ्नो कम्पाउन्डभित्र पारेका थिए ।
विक्रम संवत १९४६ सालमा कमलपोखरीको डिल थँ वहिलका लुचा ज्यापुले मोरु २० मा ठेक्का लिएको दस्तावेज । जुन डिलमा फलफूल लगाई गुठीको आयस्रोत बढाउने गरिन्थ्यो ।
केशर शमशेरको देहावसानपछि उनका छोरा केयुर शमशेरले पोखरी सुकाई २०२७ सालदेखि धान रोप्ने खेत बनाए । उनलेपछि मोही दर्ता गरे । यो पोखरीमा ठमेल भगवानबहालस्थित विक्रमशील महाविहारमा रहेको सिंह सार्थवाहु भगवानको नाममा थियो । जसको सम्बन्ध बौद्धधर्मावलम्बी, छिमेकी तिब्बत अर्थात् चीनसँग समेत रहेको बताइन्छ । सिंह सार्थवाहुलाई चढाउन यसै पोखरीको ‘कमल’ प्रयोग गरिने भएकाले उक्त पोखरीलाई कमल पोखरीका नाममा चिनाइएको प्रधानको भनाई छ । पहिले काठमाडौंमा कमलको फूल पाउने यहि एउटा पोखरी रहेको समेत प्रधानको जिकिर छ । ज्ञानेश्वर क्षेत्रमा बनेको कमल पोखरीमा समेत यसै कमलपोखरीबाट कमल लिएर सारिएको बताइन्छ ।
२०३३ सालमा शहरी क्षेत्रको नापी हुँदा पोखरी कित्ता नम्बर १ सय ६७ मा परेको उल्लेख छ । कित्ताको क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्ड छ । २०३९ साल जेठ २४ को भूमिसुधार मन्त्रालयको जग्गाधनी पुर्जामा पनि यो कित्तामा पोखरी नै जनिएको छ । जुन पुर्जामा जग्गाधनी सिंह सार्थबाहु गुठी लेखिएको छ । गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै भनी उल्लेख छ ।
ऐतिहासिक विक्रमशील महाविहार परिसरभित्र पाइएको लिच्छिविकालीन चैत्य ।
२०४४ मंसिर २३ गते सरकारले निर्णय गरेर छायाँदेवी कम्प्लेक्स ठडिएको पोखरी सरकारको नाममा दर्ता भएको थियो । त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै भनी उल्लेख छ । जग्गाधनीको नाम श्री ५ को सरकार भनी उल्लेख छ । तर, जहाँ गैरकानूनी रुपमा व्यवसायिक कम्प्लेक्स बनाइ पाँडे खलकले निर्वाध व्यापार गरिरहेको छ ।
बमबिर बिकटेसोरको टेकु तिन्देवोल को फुलबारी मा पनि गोटाला भयर अहिले अपार्मेटहरु कडाभयका छ्न यको पनि छनबिन होस।
धेरै राम्रो काम। एकान्तकुना अवस्थित कमलपाेखरीकाे पनि यहि अवस्था छ, सार्वजनिक पाेखरी प्रतिष्ठित कम्पनिकाे नाममा दर्ता जालसाजीका साथ , सबैकाे ध्यान लागाेस्।
दण्ड बिहिनता को पराकाष्ठा को परिणाम भयावह देखियो। सरकार कठोर बनेर सबै जग्गा र लगानी जफत गर्नुपर्छ।