रोल्पाको माडीचौरदेखि जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुँदै अर्थमन्त्रीको दोस्रो इनिङमा अनन्त
काठमाडौं । पञ्चायती राज्यले पछाडि पारेको रोल्पा जिल्लाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म वि.सं. २०२८ साल जेठ १८ गते भएको थियो । बुवा इर्खराम पुन र आमा तीर्थमाली पुनको दोस्रो सन्तानको रुपमा जन्मिएका पुन जीवनको ५२ औं वर्षको हुँदा मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न तेस्रो पटक अर्थमन्त्रालय प्रवेश गरेका छन् । २०५२ सालदेखि सुरु भएको जनयुद्धअघि नै क्रान्तिकारी राजनीतिमा होमिएका पुन १० वर्षे जनयुद्धमा गठन गरिएको जनमुक्ति सेना नेपालको डेपेटी कमाण्डरको भूमिका निर्वाह गर्दै शान्तिप्रक्रियापछिको १८ वर्षदेखि निरन्तर मूलधारको राजनीतिमा सक्रिय छन् ।
साविकको जंकोट गाविस वडा नं. १ माडीचौरमा अनन्तको बाल्यकालमा स्कूल थिएन । उनी पाँच वर्ष पुग्दा नपुग्दै एक घण्टा टाढाको स्कूल प्रावि जंकोटमा भर्ना भए । विद्यालय जानु र पढ्नु भन्ने कुरा तत्कालिन अवस्थामा निकै कठिन थियो । कक्षा एकमा प्रथम भएकोले उनलाई हौसला दिने र पढ्न उत्साह थप्नेहरु धेरै भएकोले अगाडिको अध्ययनमा प्रोत्साहन पाइरहे । दुई कक्षामा छिमेकी गाविसमा रहेको कोटगाउँस्थित निमावी विद्यालयमा भर्ना गरिदिए । त्यहाँ उनी कक्षा सातसम्म सधैं प्रथम नै भएर उत्तिर्ण भए ।
१३ वर्षको हुँदा अर्थात २०४१ मा माध्यामिक तहको अध्ययनका लागि उनले घर छाडेर जिल्ला सदरमुकामस्थित बालकल्याण माविमा भर्ना भए । त्यहाँको शिक्षक थिए कृष्ण बहादुर महरा । सो क्षेत्रका कम्युनिष्टका गुरु महरा शिक्षक र राजनीति दुवै गर्थे । दिनभरि कक्षामा पढ्ने र बेलुका बेलुका महरासँग राजनीतिक कक्षा लिन थालेका वर्षमान पुनको राजनीतिक जीवनको सुरुवात माध्यमिक तहको अध्ययनसँगै २०४१ सालदेखि ४३ सालसम्म यही बालकल्याण माविमा भएको थियो ।
उतिबेला बाल कल्याण मावि अहिले नेपाली राजनीतिमा स्थापित व्यक्तित्वहरुको पाठशाला नै थियो । बालकल्याण मावीमा उतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’, कुलप्रसाद केसी ‘सोनाम’ छात्राबासमा सँगै बसेर हुर्किएका सहपाठअकाी हुन् । सोही विद्यालयमा शिक्षक महराबाटै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र झक्कु सुबेदीलगायतले पढेका थिए । उनीहरुभन्दा पछिका विद्यार्थी बने निवर्तमान सभामुख ओनसरी घर्तीमगर, दिपेन्द्र पुन हुन् ।
उतिबेला बालकल्याण माविका प्रख्यात गुरु थिए कृष्णबहादुर महरा । गणित र विज्ञानमा जिल्लाभरीकै राम्रो शिक्षक गनिने महराले अनन्तसहितका नेताहरुलाई शैक्षिक ज्ञान त दिए नै, राजनीतिक ज्ञान पनि त्यससँगै मिसाउन थाले ।
२०४४ मा अनन्तले एलएलसी पास गरे । सामाजिक अवस्था र राजनीतिप्रति सचेत भइसकेका अनन्तले राजनीतिक सामाजिक कार्यकर्ता बनेर समाजमा रहेका उत्पीडन, दमन, शोषण अन्त्यको अभियानमा सरिक हुने संकल्प गर्न गर्न थाले । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट अनन्तले २०४८ मा क्याम्पस फस्ट हुँदै आईएल उत्तिर्ण गरे ।
त्यतिबेलासम्म नेपालमा बहुदल स्थापना भइसकेको थियो । अनि कम्युनिष्ट राजनीतिको उदय भइरहेको थियो । पूर्णकालीन राजनीतिसँगै २०४९ उनले नेपाल ल क्याम्पसमा विएलमा भर्ना भए ।
वर्षमान पुन २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना भएसँगै अखिल छैठौंमा आवद्ध भई विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिका निभाउन थाले । २०४८ सालमा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा महरा संयोजक र पुन सहसंयोजक भएर काम गरे । जनयुद्ध सुरु हुनुअघि नै तत्कालिन गिरिजा प्रसाद कोइरालाको सरकारले गरेको दमनको प्रतिवाद गर्न वाइसिएल (योङ कम्युनिष्ट लिग) गठन गर्न मुख्य भूमिका खेलेका पुनले वर्ग संघर्षको आन्दोलनमा सहभागी हुँदा २०४९ सालमा ३ वटा मुद्दा लाग्यो । उहाँले (डाँका मुद्दा)मा २ पटक ४८ दिनसम्म हिरासतको भोगेका थिए ।
२०५२ साल फागुन १ गतेबाट सुरु भएको जनयुद्धमा पहिलो दिनबाटै सहभागी वर्षमान पुन रोल्पा जिल्ला सदस्यको हुँदै रोल्पाकै चर्चित होलेरी कारवाही पुनकै नेतृत्वमा रहेको लडाकु, स्वयंसेवक र सुरक्षा दलका नाममा तीन अर्धसैन्य र सैन्य दस्ताले कुशलतापूर्वक सम्पन्न गरेको थियो ।
पुनले रोल्पा, प्यूठान, रुकुम, सल्यान र जाजरकोटको इन्चार्जको जिम्मेवारी सम्हाल्दै २०५५ सालदेखि २०५९ जेठसम्म उहाँले पश्चिम कमाण्डको सैन्य मुख्यालयको कमाण्डर भएर काम गरेका थिए । २०५८ साल मंसिर ८ गते गठन भएको जनमुक्ति सेनाको डेपुटी कमाण्डर सम्मको भूमिका निर्वाह गरेका वर्षमान पुन जनयुद्धकै दौरानमा अनन्तको कमाण्डमा घर्तीगाउँ, घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महत गाउँलगायतमा माओवादीले गरेको कारबाहीमा उहाँले कमिसार र कमाण्डर भूमिका निर्वाह गरेका थिए । त्यस्तै, २०६२ सालमा जनयुद्धको उत्कर्षतिर काठमाडौं आसपासको क्षेत्रलाई विशेष कमाण्ड बनाएर थानकोट, साँखुमा एकैसाथ आक्रमण गरेर तत्कालिन पुरानो सत्ताको सातोपुत्लो लिन विशेष भूमिका निर्वाह गरेका थिए ।
२०६२ सालको चुनाबाङ बैठकपछि पुन जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने । र, काठमाडौं उपत्यका र वरिपरिका जिल्ला समेटेर बनाइएको विशेष कमाण्डको राजनीतिक इन्चार्जको भूमिका पनि निर्वाह गरे । जनआन्दोलन २०६२।०६३ मा काठमाडौंमा राजनीतिक पार्टीका आन्दोलनमा औलामा गन्ने मानिसको उपस्थिति देखेर वर्षमान पुनले नै आसपासका क्षेत्रबाट हजारौं हरियो स्याउला बोकेका मान्छेहरु पठाएर सडकमा मानव सागर उराल्न सम्भव भएको थियो ।
पुनले आइएल पढ्दा २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । २० वर्षको उमेरमै २०४८ सालमा नेकपा (एकता केन्द्र) को तत्कालीन ९ नम्बर क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने । २०४९ सालमा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो । त्यतिबेला पुन जिल्ला समिति सदस्य बने । दुई वर्षपछि २०५१ सालमा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो । पुन ३ सदस्यीय कार्यालय सदस्यमा परे ।
जनयुद्ध सुरुका केही महिना (२०५३ साल) मै पुन माओवादीको रोल्पा जिल्ला सचिव भए । लगत्तै रोल्पा र प्यूठानको संयुक्त जिल्ला समिति बन्यो । त्यसको पनि सचिव भए । उनी २६ वर्षमा (२०५५ साल) मा चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।
जनयुद्धको सुरुवातभएको केहीं महिनामै अनन्त २०५३ मा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भए । लगतै रोल्पा र प्यूठान जिल्लाको संयुक्त जिल्ला कमिटि बन्यो, त्यसको पनि सेक्रेटरी बने उनी । २६ वर्षमा लाग्दै गर्दा २०५५ मा चौथो विस्तारित बैठकबाट अनन्त माओवादीको केन्द्रीय सदस्य बने । र, उनको भूमिका इन्चार्जसीपमा रुपान्तरण हुन थाल्यो । त्यो केन्द्रीय समितिमा उमेरले सबैभन्दा कान्छो अनन्त नै थिए । शक्ति बस्नेत, नेत्रविक्रम चन्द विप्लव, हितमान शाक्य, मणी थापा, चक्रपाणी खनाल, रविन्द्र श्रेष्ठ त्यसै विस्तारित बैठकबाट एकसाथ केन्द्रीय समितिमा बढुवा भएका थिए ।
त्यो एउटा त्यस्तो परिघटना थियो, एक साथ सात जना युवा केन्द्रीय समितिमा पुगे र त्यसले माओवादी आन्दोलनलाई निर्णायक मोड दियो । युवाहरुलाई नेतृत्वमा पुग्ने बाटो खुल्यो । २०५७ मा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट अनन्त वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भए । २०५९ मा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिट्व्यूरो सदस्य बनेका थिए पुन । २०६२/२०६३ को शान्तिप्रक्रिया लगतै माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । उनी त्यसमा सदस्य बने । त्यसपछि माओवादी पार्टीमा बन्ने सचिवालय, हेडक्वाटरमा अनन्त निरन्तर सदस्य छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका पुन । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । २०६८ साल भदौ ५ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यतिबेला पहिलो पटक अर्थ मन्त्री भएका पुनले उतिबेला १८ महिना पदमा रहेर काम गर्दा अर्थतन्त्रका धेरै कुरामा सुधार गर्न भ्याए । दुर्भाग्य उनले उतिबेला बजेट ल्याउन पाएनन् । राजनीतिक अस्थिरताको कारण अन्योलका बीचमा ५१७ वटा भ्याट छली गर्ने ठूला व्यापारीमाथि निर्मम कारवाही गरी अर्बौ रुपैयाँ भ्याट छली गर्ने अपराधीहरुलाई कारवाहीको दायरामा ल्याएर अर्बौ रुपैयाँ राजश्व उठाउन सफल भए ।
२०७० सालको संविधानसभा निर्वाचनमा पुन मोरङ क्षेत्र नम्बर ९ बाट उठे । तर, काँग्रेस उम्मेदवारसँग पराजित भए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गृह–जिल्ला फर्केका पुनले रोल्पाबाट ४२ हजार ८४ मत ल्याएर बिजयी भएका थिए । आम निर्वाचन २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वर्षमान पुन रोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ४१ हजार ७१४ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पूर्ण बुढा मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए ।
१८ महिने कार्यकालको समीक्षा
पहिलो पटक १८ महिना अर्थमन्त्री हुँदा दुर्भाग्यवश अनन्तले पूर्ण बजेट ल्याउन पाएनन् । राजनीतिक कोपभाजनमा पर्दा दुई आर्थिक वर्षको पूरक बजेट मात्र ल्याए । तर, उनले त्यो संक्रमणकालमा पनि पूर्ण बजेट ल्याउन नपाउँदा पनि काम गरेर देखाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल भएका वर्षमान पुनसँग यस पटक पनि नेपाली आर्थिक जगतले धेरै अपेक्षा गरेका छन् ।
अघिल्लो १८ महिने कार्यकालमा पुनले सरकारी ढिलासुस्तीलाई छिटो छरितो बनाउने, वैदेशिक लगानीलाई एकद्वार प्रणालीमा ल्याएर बास्केटमा हाल्ने, नेपालले वैदेशिक ऋण विश्व बैंक र एशियाली विकास बैंकबाटमात्रै लिइरहेकोमा चीन, यूरोपियन यूनियन, जापान, कुबेती फण्ड, साउदी फण्डलगायतका नयाँ माध्यम, नयाँ ठाउँबाट पनि ल्याउन सकिने व्यवस्था गरेर आफूलाई रणनीतिक अर्थमन्त्रीको रुपमा प्रस्तुत गर्न सफल भएका थिए ।
उतिबेला २१ वटा परियोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेर जनशक्तिको व्यवस्थापनदेखि बजेट व्यवस्था गर्ने काम उनै पुनले गरेका थिए । राजधानी काठमाडौंको सडक विस्तारका लागि चार अर्ब बजेट अभाव हुँदा अनन्तले त्यो बजेटको व्यवस्था गर्ने काम र शान्तिप्रक्रियाका बजेट व्यवस्था गरेर एउटा निष्कर्षमा पुर्याउन सफल भएका थिए ।
माक्र्सवादी चेतनाले लैस भएका पुन तल्लो वर्ग, तल्लो तहका कर्मचारी, तल्लो तहको जनसमुदायमा प्रभावकारी काम गर्ने उनको दृष्टिकोणमा प्रतिबद्ध छन् । नीजि क्षेत्र, उद्योगको प्रवर्धन गर्न जुनसुकै काम गर्ने, भ्रष्टाचार, कमिशन र बिचौलियाको चलखेलमा सून्य सहनशीलता अपनाउने वर्षमान पुनले आफ्नो पालामा बजेट ल्याउन नपाउँदा पनि २२ प्रतिशतभन्दा बढी राजश्व वृद्धि गरेर एक सफल अर्थमन्त्रीको रुपमा प्रस्तुत गर्न सफल भएका थिए ।
पटक पटक मृत्युसँग पौठेजोरी
जनयुद्धका दौरान वर्षमान पुन अनन्त पटक पटक मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएका छन् । पछिल्लो पटक २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको बाघभैरव माविमा हुन लागेको कार्यक्रममा तत्कालिन शाही नेपाली सेनाका चार वटा हेलिकोप्टरबाट भएको हवाई आक्रमणमा बालबाल बच्न सफल भएका थिए । कृष्ण बहादुर महरासँगै रहेका अनन्त विद्यालयमा कार्यक्रम हुनै लाग्दा सेनाले सुरु गरेको अन्धधुन्द गरेको हवाई आक्रमणको सिकार हुन पुगेका थिए । सँगै रहेका अर्का नेता अग्नि सापकोटा सामान्य घाइते भए पनि पुन भने सकुशल सेनाको घेरा तोडेर भाग्न सफल भएका थिए । त्यस्तै, डोल्पा सदरमुकाम, अछाम सदरमुकाम मंगलसेन आक्रमणबाट फर्कदा सौभाग्यले बाँचेका थिए अनन्त । पूर्वको कमाण्डर हुँदा बन्दीपुर हाईवेको आक्रमणपछिका घटनामा उनले बाँच्ने आशा मारिसकेको अवस्थामा नयाँ जीवन पाउन सफल भएका थिए ।
एकपटक महरा र अनन्त सल्यानको बाँफुखोलामा थिए । अनन्तको छोरी भर्खरै जन्मिएकी थिईन । सात दिनकी सुत्केरी थिईन ओनसरी । त्यसै ठाउँमा चारैतिरबाट प्रहरीले घेरा हाल्यो । सुत्केरी ओनसरी साथीहरुसँग जंगलतिर लागिन् । अर्को घरमा रहेका महरा र अनन्त घेरामा परे । अनन्तले पेस्तोलबाट फायर खोले । त्यहीं बेलामा महरा ओरालोतिर झरे । अनन्तले फायर गर्दै महरालाई जंगलमा पु¥याएर बचाएको घटनाले आपतमा आफू मात्रै बाँच्ने नभई नेतृत्वलाई बचाउने इमान्दारिता पुनमा रहेको छ ।
केही वर्षदेखि बंशाणुगत जण्डिस रोगका कारण बाँच्ने आशा मारिसकेका पुन भारतको नयाँ दिल्ली, काठमाडौंको सुमेरु सिटी अस्पताल, सिंगापुर हुँदै चीनसम्म पुगेर उपचार गराए । अन्तमा चीनमा गरिएको उपचारले पुनर्जीवन पाएका पुन केही समय अघि चीनमा उपचार गराएर फर्केका हुन् । नियमित चेकजाँच र खानपानमा ध्यानदिनुपर्ने बाहेक अहिले कुनै पनि स्वास्थ्य समस्या छैन ।
जनयुद्ध सुरु हुनुअघि २०५२ साल भदौं ११ गते रोल्पाकै जनकल्याण माविमा अध्ययन गरेकी ओनसरी घर्ती उषासँग विवाह गरेका पुनको परिवार नै राजनीतिमा सक्रिय रहेको छ । ओनसरी घर्ती सुवाभ नेम्वाङपछि दोस्रो संविधानसभाकी अध्यक्ष हुन् । जनयुद्धमा जयपुरी घर्तीसँगै युद्धको मैदानमा होमिएकी उषाले जनयुद्धकै बीचमा सल्यानको बाफुखोलामा छोरी जन्माएकी थिईन् ।
अबको कार्यदिशा
प्रधानमन्त्री प्रचण्ड यतिबेला जनयुद्ध जत्तिकै कठिन मोडमा उभिएका छन् । जनयुद्धमा एउटा तनाव थियो । युद्धजित्ने तर अहिले जनतालाई डेलिभरी दिनैपर्ने दायित्व बाँधमा आइपरेको छ । पछिल्लो समय नयाँ शक्तिहरुको उदय, जनयुद्धको औचित्यमाथि निरन्तर प्रश्न उठिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड गर या मरको अवस्थाबाट गुज्रिरहेका छन् । प्रधानमन्त्री प्रचण्डमाथि आइरहेको यो दवावको ठूलो हिस्सा अर्थमन्त्री वर्षमान पुनको काँधमा पनि आउने निश्चित छ । त्यसैले यस पटकको अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनको लागि निकै गह्रौं हुनेछ ।
देशको अर्थतन्त्र सीमित व्यक्तिहरुको हातमा पुगेर निमुखा जनताका छोराछोरीहरु आङ ढाक्न र हातमुख जोर्नकै लागि विदेश जानुपर्ने विभत्स अवस्थामा रहेको मुलुकमा आर्थिक सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्नेछ । एकातिर जनताको गुनासो अर्कोतिर लगानीकर्ताको गुनासो । चारैतिर गुनासो नै गुनासोको बीचमा कुशल नेतृत्वको प्रदान गर्न विद्यालयमा प्रथम हुने अध्ययन शैली, जनयुद्धमा कुशल नेतृत्व क्षमताको परिक्षण अबका दिनमा हुनेछन् ।
कुनै समय बन्दुक बोकेर राष्ट्रिय सेनाको ब्यारेक ध्वस्त पार्ने सैन्य रणनीति बनाउने वर्षमान पुन अहिले देशको अर्थतन्त्रलाई सक्षम, सबल र राज्यको वितरण सीमित व्यक्तिको हातबाट खोसेर बहुसंख्यक जनताको पक्षमा वितरण गर्ने योजना बनाउने ऐतिहासिक जिम्मेवारीमा पुगेका छन् । परिवर्तनको लागि गरिएको जनयुद्धले जनतालाई मुक्ति र आर्थिक समृद्धि नभएको बरु झन झन दलदलमा फसाएर जनतालाई धोका दिएको आरोप लाग्न थालेको अवस्थामा अर्थमन्त्री पुनको काँधमा राष्ट्रिय अर्थतन्त्रमा मुठ्ठीभर र सीमित माफियाहरुको कब्जाबाट फुत्काएर आम जनताको समान पहुँच स्थापित गर्ने योजना बनाउने ठाउँमा पुगेका छन् । करिब ६० लाख शेयर लगानीकर्ताको आँखा वर्षमान पुनतिर छ भने निमुखा जनताले जनयुद्धपछिको गणतन्त्रमा जनताले के पाउँछन् भनेर हेरेर बसिरहेका छन् ।