निर्जीवन बीमा ब्यवसायको ३२% हिस्सा मोटर बीमाको, अन्य कुन क्षेत्रमा कति ?

१७ फाल्गुन २०८०, बिहीबार १३:३८

काठमाडौँ । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ७ महिनामा २२ अर्ब ४६ करोड २८ लाख रुपौयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मोटर बीमाबाट माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३२.४८ प्रतिशत हो ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमाबाट सबैभन्दा धेरै बीमाशुल्क आर्जन भएको तथ्यांकले देखाएको छ । सम्पत्ति बीमाबाट ५ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमाहरुले आर्जन गरेको कुल बीमाशुल्कको २४.५२ प्रतिशत हुन आउछ। निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा इन्जिनियरिङ्ग बीमाको पनि १४.२५ अर्थात ३ अर्ब २० करोड २८ लाख रुपैयाँ योगदान रहेको छ।

त्यस्तै, विविध बीमाको ११.९१ प्रतिशत, हवाईको ६.२६ प्रतिशत, सामुन्द्रिक बीमाको २.२६ प्रतिशत र कृषि तथा बालि बीमाको ४.९१ प्रतिशत योगदान रहेको छ।

लघुबीमाको भने सबैभन्दा कम ०.३६ प्रतिशत मात्रै योगदान रहेको छ । यस अवधिमा लघुबीमा बापत निर्जीवन बीमा कम्पनीहरुले ८ करोड २३ लाख रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, निर्जीवन बीमा व्यवसायमा बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै १४ अर्ब ७३ लाख १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ६५.५८ प्रतिशत हो।

त्यस्तै, लुम्बिनी प्रदेशबाट ९.३१ प्रतिशत अर्थात् २ अर्ब ९ करोड १७ लाख रुपैयाँ, कोशी प्रदेशबाट ८.८७ प्रतिशत अर्थात् १ अर्ब ९९ करोड ३७ लाख रुपैयाँ, मधेश प्रदेशबाट ६.७७ प्रतिशत अर्थात् १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ५.७५ प्रतिशत अर्थात् १ अर्ब २९ करोड २३ हजार, सुदुरपश्चिम प्रदेशबाट २.७० प्रतिशत अर्थात् ६० करोड ६९ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ०.९९ प्रतिशत अर्थात् २२ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*