रहेनन् भजन शिरोमणि भक्तराज

१४ फाल्गुन २०८०, सोमबार १७:४९

काठमाडौं । भजन शिरोमणिको नामले परिचित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको उनका पारिवारिक सदस्यले बताएका छन् ।

आचार्यको शवलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने बताइएको छ । उनका छोराहरु सत्य र स्वरुपराज आचार्य समेत नेपाली सांगीतिक क्षेत्रका चम्किला तारा हुन् ।

मुखको क्यान्सर भएपछि आचार्यको जीब्रो नै काट्नु परेको थियो । र, त्यसपछि उनले आफ्नो जीवनलाई आफैंभित्र सिमित गरेका थिए । २०५० मा क्यान्सरका कारण जिब्रो काटिएपछि उनको एउटै दैनिकी थियो । विहान ७ बजे उठ्थे । नित्यकर्म गर्थे । थुक कन्ट्रोल हुँदैन थियो, दाँत छोइन्नथे । ब्रस गर्न मिल्दैनथ्यो । हातले नै सफा गर्नु पर्ने । यति गर्न उनलाई लामै समय लाग्थ्यो । सफासुग्घर रहनुपर्ने उनको बानी नै थियो । हात धोइरहने । साह्रै पङ्चुअल । जुन समयमा जे गर्नु पर्ने हो गरिहाल्ने, अल्छी नगर्ने । त्यसैले त उनले रेडियो नेपालको डेट कहिल्यै खाली हुन दिएनन् ।

जिब्रो नभएकाले बसेर खान मिल्दैन थियो । उनी पानी समेत सुतेर पिउँथे । साह्रो कुरा खान हुँदैन थियो । त्यसैले खिर पकाएर मिक्सर ग्राइन्डरमा हालेर पातलो बनाएर खुवाउनुपर्दथ्यो ।

दिउँसो काम भए गर्थे नभए ओछ्यानमा पल्टिरहन्थे । साँझ उनलाई युरिनले निकै समस्या दिन्थ्यो । राति ११–१२ बजे मात्रै सुत्थे । पिसाब कन्ट्रोल नहुने भएकाले राति पटक–पटक उठिरहन्थे । ०५० सालदेखिको दैनिकीले ८१ वर्षको उमेरमा नेटो काट्यो । आचार्यको डेढ महिनादेखि उपचार चलिरहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*