सर्वोत्तम सिमेन्टको आइपीओमा ८ अर्ब रुपैयाँ संकलन, माग भन्दा ८ गुणा बढी आवेदन
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओमा दोस्रो दिन अर्थात सोमबार साँझ ५ बजेसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ४ लाख ७ हजार ७११ जनाले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा ७.९९ गुणा बढी आवेदन हो ।
कम्पनीले बुक विडिल्ङको माध्यमबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओ भर्न कम्तिमा १८ हजार ४५ रुपैयाँ आवश्यक पर्नेछ ।
निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ। शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।