एक सातादेखि घटेको शेयर बजारमा कसरी देखियो सुधार?
काठमाडौं । सेयर बजार घट्ने बाटो आजदेखि बन्द भएको छ । पूँजी बजार सुधारोन्मुख रहेको अर्थमन्त्री प्रकाशशरण महतले आज संसदमा बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१(०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो बताएसँगै शेयर बजारमा थप रौनक थपिएको देखिएको छ। सो कारण पनि एक सातादेखि घटिरहेको शेयर बजारमा आज उकालोतर्फ लागेको देखिन्छ ।
सोमबार नेप्से सूचक १३.२८ विन्दुले बढेर १९९२.३० विन्दुमा बन्द भएको छ । यस दिन कारोबार रकम भने झन संकुचित भएको छ ।
२ अर्ब १ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर खरिद बिक्री भएको छ ।माद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजार लगातार घटेको हो ।
यसबीचमा नेप्से सूचकमा करिब १०० अंकको गिरावट आइसकेको छ । निरन्तर घटेको बजारमा सेयर भाउ सस्तो भएसँगै सोमबार अन्तिम प्रहरमा खरिदकर्ताहरु आकर्षित हुँदा बजारमा दोहोरो अंकको सुधार भएको छ ।
लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको समीक्षा नहुँदा सेयर बजारले नकारात्मक प्रतिक्रिया दिँदै आएको छ ।लगानीकर्ताहरुले विशेषगरी, सेयर धितो कर्जामा लगाइँदै आएको सीमा पूर्णरुपमा खारेज गर्नुपर्ने माग गर्दै आएका थिए ।
केन्द्रीय बैंकले भने मौद्रिक नीतिलाई क्रमिकरुपमा खुकुलो बनाउँदै लैजाने नीति लिएको देखिन्छ ।