अख्तियारको मुद्दामा भीम उपाध्यायको काउन्टर अट्याक, आरोपपत्रबारे फेसबुकमा व्यापक प्रचार गर्न अपिल
काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले आफुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रबारे संसारभर प्रचार गर्न भनी आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘साथीहरु र शुभचिन्तकहरुले यो पोष्टलाई शेयर वा कपिपेस्ट गरी स्टाटस बनाएर देश विदेशमा रहेका सबै नेपालीसमक्ष सत्य तथ्य कुरा जानकारी गराई सहयोग गरिदिनु होला ।’
उपाध्यायले अख्तियारले भीम उपाध्यायविरुद्ध दायर गरेको आरोपपत्रको कर्त के हो ? पूर्व व्यहोरा यस्तो छ भन्दै आरोपपत्रको व्यहोरा जस्ताको त्यस्तै उल्लेख गरेका छन् । आरोपपत्रमा उनले तत्कालीन मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीलाई फाइदा पुग्ने गरी कानून तथा अधिकाक्षेत्र मिचेर निर्णय गरी राज्यलाई करोडौँ हानी नोक्सानी गराएको भनी अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
उपाध्यायले सम्झौता र कानूनले मान्यता दिन नमिल्ने एमओयु गरी थप पेश्की रकम उपलब्ध गराएको तर, तोकिएको समयमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने निश्चित गर्न नसकेको भनी चार करोड ११ लाख ३४ लाख बढी विगो दाबी गरी आरोपपत्र दायर भएको छ ।
उपाध्याय भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ वमोजिम मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी समेत अख्तियारले गरेको छ ।