ललितपुर महानगरको वडा कार्यालय अगाडि सरकारी जग्गा मिचेर चौधरी ग्रुपले ठड्यायो महल

१३ फाल्गुन २०८०, आईतवार १६:४२

काठमाडौं । अर्बपति व्यापारी एवं कांग्रेस नेता (सांसद) विनोद चौधरीको ‘सीजी ग्रुप’ले ललितपुर महानगरपालिकाको ३ नम्बर वडा कार्यालय अगाडि सार्वजनिक जग्गा मिचेर गगनचुम्बी महल ठड्याएको छ ।

सीजीको मुख्य कर्पोरेट कार्यालय रहेको पुल्चोकस्थित झम्सिखेल मार्गमा चौधरी ग्रुपले वडा कार्यालय अगाडिकै जग्गा मिचेर महल ठड्याएको हो । ललितपुर कै १८ नम्बर र २५ नम्बर वडामा हाउजिङ बनाउँदा सीजीले सार्वजनिक जग्गा मिचेको तथ्य यसअघि बीमापोष्टले उजागर गरिसकेको छ ।

कर्पोरेट कार्यालयको पूर्वी मोहडामा बन्दै गरेको सीजीको विल्डिङले वडा कार्यालयको स्वामित्वमा रहेको जग्गा मिचेर घेरबार गरेको छ भने बचेको जग्गामा पनि निर्माण सामग्री तथा मेसिन राखेर मनोमानीपूर्वक प्रयोग गरिरहेको छ । ३ नम्बर वडा कार्यालयका अध्यक्ष श्रीगोपाल महर्जन भने सीजीले निर्माण सामग्री राखेको सानो टुक्रो मात्रै सार्वजनिक जग्गा भएको र त्यसमा अब वडाले पार्किङ बनाउने बताए । बीमापोष्टसँग उनले भने, ‘त्यो जग्गा सानै थियो । घेरबार र निर्माण सामग्री राखेको हुनसक्छ । तर, जग्गा मिचेर विल्डिङ नै बनाएको भन्ने नहोला ।’ यद्यपि, यस विषयमा सोधीखोजी गर्ने उनले बताए ।

यस विषयमा सीजीको कर्पोरेट अफिसमा बुझन् खोज्दा त्यहाँ प्रतिनिधिहरुले जवाफ दिन मानेनन् । एक जना स्थानीयले यो सार्वजनिक जग्गा ठूलो रहेको र अहिले हुँदै जाँदा २–३ टा गाडी मात्रै अटाउने खोंचोमा परिणत भएको बताए ।

उनका अनुसार आडैमा रहेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको जग्गातिर पनि चौधरीले हात लम्काउन खोजेका थिए । त्यसो गर्न खोजेपछि यसघि बनाउने तयारी गरिएको हाउजिङ निर्माण रोकिएको थियो । तर, अहिले फेरि शक्ति केन्द्रको पहुँचको बलमा उसले विल्डिङ निर्माण गराएरै छोड्यो ।

औद्योगिक योगदान दिएबापत राज्यबाट अनेक सुविधा लिइरहेको चौधरी ग्रुपले संरचना बनाएका ठाउँमा सरकारी जग्गा नमिचिएको सायदै भेटिन थालेको छ । चौधरी ग्रुपले ३६ वर्षदेखि सतुंगलमा हडपेको जग्गा फिर्ता ल्याउन अहिले पनि स्थानीयहरु संघर्ष गरिरहेका छन् भने बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*