किन सिडिएससीले दुईवटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताले आफै सेयर सार्न पाउने व्यवस्था गर्न लाग्यो?

११ फाल्गुन २०८०, शुक्रबार १९:०८

काठमाडौं । अब दुई वटा डिम्याट अकाउन्ट भएका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन्।दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको हो।

सेयर खाताको व्यवस्थापन र कारोबारपछि सेयरको राफसाफ प्रक्रिया सिडिएससीको प्रणालीमार्फत् सम्पन्न हुन्छ।लगानीकर्ताले बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकर र सेयर ब्रोकर जहाँबाट पनि डिम्याट खाता खोल्न सक्छन्। एउटै लगानीकर्ताले अहिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउँछन्। तर सेयर कारोबार गर्ने खाता भने ब्रोकरकहाँ मात्रै खोल्न पाइन्छ।

अहिले यी दुवै संस्थामा डिम्याट खाता भएको कुनै लगानीकर्ताले एउटा खाताबाट आफ्नो अर्को खातामा सेयर सार्न परेमा प्रणालीबाटै सार्न सक्दैनन्।एउटै व्यक्तिको मर्चेन्ट बैंकर र ब्रोकर दुवैमा खाता रहेको अवस्थामा यसरी सेयर सार्न सकिने व्यवस्था गर्न लागेका हौं,, सिडिएससीका सिईओ पूर्ण प्रसाद आचार्यले भने, यसले लगानीकर्तालाई भौतिक रूपमै मर्चेन्ट बैंकरकहाँ उपस्थित हुने र प्रक्रिया अगाडि बढाउने झण्झटबाट मुक्ति दिनेछ।

लगानीकर्ताहरूले कारोबार गरिरहेको ब्रोकर संस्था परिवर्तन गर्दा यसरी आफ्नै खातामा रहेको सेयर अर्कोमा सार्ने अभ्यास छ। अहिले हरेक दिन यसरी सेयर सार्न लगानीकर्ताहरूको चाप पर्न थालेसँगै सिडिएससीले यसलाई सरल बनाउन लागेको हो।तर यो नयाँ प्रक्रियापछि उधारो कारोबार गर्ने लगानीकर्ताहरूको कारण आफूहरूलाई समस्या पार्न सक्ने ब्रोकरहरूले बताउन थालेका छन्।

यसले एक हदमा ब्रोकरलाई सजिलो पनि हुने भएको छ भने अर्को पक्षबाट हेर्दा समस्या पनि पर्न सक्छ,, ब्रोकर कम्पनीहरुका संचालक बताँउछन् ।

तर, यदि सोही लगानीकर्ताले तिनुपर्ने भुक्तानी नै नदिई पहिले ब्रोकरकोमा सारेको सेयर फेरि पुरानै खातामा सार्‍यो भने के गर्ने भन्ने दुविधा रहेको हो। त्यसैले यसले ब्रोकरहरूबाट हाल भइरहेको उधारो कारोबार रोक्का हुने अनुमान गरिएको हो।

अहिले अनलाइनबाट कारोबार गर्दा खरिदकर्ताले कुल किन्ने सेयर मूल्यको २५ प्रतिशत रकम जम्मा गरेपछि खरिद आदेश दिनसक्छ। भौतिक रूपमा वा फोनमार्फत् कारोबार गर्नेले भने कुनै रकम जम्मा नगरी सेयर किन्ने आदेश दिनसक्छ।

कारोबारपछिको दुई दिनभित्र लगानीकर्ताले अनिवार्य रकम बुझाउँनै पर्ने व्यवस्था छ। तर, अहिले ब्रोकरसँग राम्रो सम्बन्ध भएका लगानीकर्ताहरूले तोकिएकै समयमा रकम भुक्तानी नगर्न पनि सक्छ। यस्तोमा ब्रोकरले नै लगानीकर्ताको तर्फबाट रकम तिरिदिएको हुन्छ। किनभने रकम नदिई राफसाफ प्रक्रिया रोक्न मिल्दैन।

लगानीकर्ताले आफैंले यसरी सेयर सार्ने अभ्यास कार्यान्वयनमा आएमा भने ब्रोकरहरूलाई समस्या पर्न सक्नेमा केही ब्रोकरहरूको चासो हो। तर, सिडिएससीको प्रणालीले उधारो कारोबार नचिन्ने भएकोले ब्रोकरहरूले नै यसको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*