भारतीय नागरिक समेत रुसी सेनामा भर्ती भएको पुष्टी, स्वदेश फिर्ताको पहल जारी
काठमाडौं । भारतीय नागरिकहरु समेत रुसी सेनामा भर्ती भएको पुष्टी भएको छ । भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’का लागि भर्ती भएको पुष्टि गरेको हो ।
मन्त्रालयले उनीहरूको फिर्ती सुनिश्चित गर्न मस्कोसँग काम गरिरहेको समेत जानकारी दिएको छ । करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती शहरमा फसेको भन्दै हिन्दू अखबारले बुधबार समाचार लेखेको थियो । त्यो अखबारका अनुसार कम्तीमा ती भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो ।
विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेको भन्नेबारे पुष्टि गरेको छैन तर विज्ञप्तिमा, ‘केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ’ भनी उल्लेख गरिएको छ ।
‘भारतीय दूतावासले नियमितरूपमा उनीहरूको तत्काल रिहाइका लागि सम्बन्धित रुसी अधिकारीहरूसँग यो मामिलालाई उठाइरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ ।’
भारतीय नागरिकलाई दुबईस्थित भर्तीकर्ताहरूले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै धोका दिएको दि हिन्दूको रिपोर्टमा उल्लेख छ । मस्कोमा पुगेपछि भारतीयलाई ‘रुसी सेनाबाट हतियार र गोलाबारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपङ्क्तिमा पठाइएको थियो ।
उनीहरुको स्वदेश फिर्तीका लागि उनीहरूको ‘बारम्बारको आग्रह’लाई मस्कोमा भारतीय दूतावासले ‘बेवास्ता’ गरेको पीडितको अभिव्यक्ति समेत अखबारले उद्दृत गरेको छ ।