बुढानीलकण्ठमा २ रोपनी सरकारी जग्गा हडपेका ल्यारक्याल लामाको घरमा डोजर चल्ला ?

११ फाल्गुन २०८०, शुक्रबार १५:०२

काठमाडौं । सरकारी जग्गा हडपेर आलीशान वंगला बनाएका लुम्बिनी विकास कोष उपाध्यक्ष एवम् पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामालाई बुढानीकलण्ठ नगरपालिकाले फेरि अर्को पत्राचार गरेको छ । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बुधबार पुनः लामालाई पत्र पठाइएको जानकारी दिएका छन् ।
बीमापोष्टसँग उनले भने, ‘हामीले गएको माघ १४ गते उहाँलाई पत्र पठाउँदै जग्गाको यथार्थ विवरण उपलब्ध गराउन तथा जग्गाको लालपूर्जाको समेत प्रतिलिपि मागेका थियौँ, १ महिना पुग्नलाग्दा पनि त्यो चिठीको जवाफ नआएपछि बुधबार फेरि हामीले ७ दिनको समय राखेर पत्र पठाएका छौं ।’

तोकिएको अवधिभित्र पत्रको जवाफ नआए नगरपालिका कानूनी प्रक्रियामा अघि बढ्ने नगर प्रमुख अधिकारीले बताए । बुढानीलकण्ठ नगरपालिकाले पठाएको दोस्रो चिठीमा, ‘नगरपालिकाको चलानी नम्बर १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी व्यहोरा अवगत भएकै होला । तत् सम्बन्धमा वडा नम्बर २ स्थित सिट नम्बर १०२०९०७–१० (साबिक चपली ‘क’ सिट नम्बर १९) को कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू’ भनी उल्लेख छ ।

नगरपालिकाले लामालाई कित्ता नम्बर २६ को जग्गासँगै सार्वजनिक जग्गा प्रयोग भए/नभएको यकिन विवरण पनि उपलब्ध गराउन भनेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को चपलीमा उनले २ रोपनी १ आना बढी सरकारी जग्गा हड्पेको नगरपालिकाले निष्कर्ष छ ।

डा. लामाले चपलीमा निजी निवास बनाउँदा सरकारी जग्गा मिचेको र घरसँगै रहेको अरु पर्तिजग्गामा काँडेतारबार गरेर कब्जा गरेकाले त्यो जग्गा छोड्न पटक–पटक ताकेता गर्दा पनि अटेर गरिरहेको नगरपालिकाले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले लामालाई लाजपूर्जाको प्रतिलिपि माग्दै सुकुम्बासी बस्तीसँगै रहेको जग्गाको घेरबार हटाउन भनेको छ । नापी र मालपोतमा रहेका कागजात अध्ययन गर्दा २ रोपनी १ आना हाराहारीमा सरकारी जग्गा लामाले ओगटेको भेटिएको छ ।

हालै मात्र गृहमन्त्रालयले देशभर अतिक्रमण भएका सरकारी जग्गाको यथार्थ विवरण पठाउन भनेर प्रमुख जिल्ला अधिकारी सीडीओहरुलाई निर्देशन दिइसकेको अवस्था छ । नगरपालिकाको आग्रह अटेर गर्दै आएका लामाले सरकारी जग्गा अतिक्रमण गरेको विवरण अब सोझै गृहमन्त्रालय पुग्ने छ ।

यो पनि,

‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*