सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ घोटालामा छानविन गर्न धितोपत्र बोर्डको आनाकानी

९ फाल्गुन २०८०, बुधबार १०:३३

काठमाडौं । धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङको नाममा भइरहेको घोटाला छानविन गर्न आनाकानी गरेको छ । बोर्डमा जिम्मेवार अध्यक्ष नभएको तथा अर्थमन्त्रालयले समेत यकिनसाथ कुनै अधिकारीलाई तोकेर जिम्मेवारी नदिएका कारण र बोर्डका भ्रष्ट कर्मचारीका कारण सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओमाथि छानविन हुन सकेको छैन ।

नेपाल धितोपत्र बोर्डलाई सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पीनिङ मिल्सको अर्बौ रुपैयाँ विद्युत बक्यौता रहेको भन्दै सरकारी बक्यौता असुल उपर नहुँदासम्म कुनै पनि प्रकारको शेयर जारी गर्न अनुमति नदिन भन्दै नेपाल विद्युत प्राधिकरणले पत्र लेखेको थियो । सो पत्रमाथि समेत धितोपत्र बोर्डले कुनै सुनुवाई गरेको छैन ।

चरम भ्रष्टाचार, सेटिङ र माफियाको प्रपञ्चमा चल्दै आएको धितोपत्र बोर्डको निमित्त अध्यक्ष प्रशासन चलाउने गरी र बोर्ड बैठक बोलाउने गरी डा. नबराज अधिकारी रहेका छन् भने नियमन विभागमा कार्यकारी निर्देशक डा. मुक्ति श्रेष्ठ रहेका छन् । रमेश हमालको पदावधि सकिएपछि गत पुसदेखि नै धितोपत्र बोर्ड नेतृत्व विहिन छ ।

नियामक निकाय नेतृत्व विहिन भएको र कर्मचारीहरुलाई घुस सेटिङमा मिलाएर अर्बौ रुपैयाँ सरकारी कर छुटको समेत गणना गरेर बुक बिल्डिङमा आईपिओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सम्बन्धमा छानविन गर्न अर्थमन्त्रालयले समेत निर्देशन दिइसकेको छ । साथै स्थानीयबासीले समेत धितोपत्र बोर्डमा गैर कानुनी रुपमा आईपिओ जारी गर्न लागेको भन्दै उजुरी दर्ता गराईसकेका छन् ।

बोर्डले कुनै सुनुवाई नगरी सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङमा आईपिओ जारी गरेर अर्बौ रुपैयाँ कमाउन छुट दिइरहेको छ । यस बापत नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले घुट सेटिङ गरेको चर्चा पुँजि बजारमा व्यापक फैलिन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*