बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित छ: बैंकर

७ फाल्गुन २०८०, सोमबार १५:३२

काठमाडौं। पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

प्रेस विज्ञप्तिमा भनिएको छ, सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रूपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं।

बेला–बखतमा सामाजिक सञ्जालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना र समाचारलाई मात्र आधिकारिक रूपमा लिन संघहरूले आफ्ना ग्राहकलाई अनुरोध गरेका छन्।

आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरूलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत बैंकहरूले सरकारी निकायहरूलाई आग्रह गरेका छन्।

नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त वासेल थ्रीलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गरिरहेको छ। नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति र नियमहरूको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल बैंकरहरूले उल्लेख गरेका छन्।

नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको स्पष्ट पारेका छन्। हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरू र १८ लाखभन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा छन्।

देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरू आफ्ना ६ हजार ४४१ शाखाहरूमार्फत् देशभर प्रदान गर्दै आइरहेका छन्।

साथै, देशको दूर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाखभन्दा धेरै स–साना ऋणीहरूलाई ४ खर्बभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा सहयाग गर्दै आएका छन्। यी सबै संस्थाहरूले ८२ हजारभन्दा धेरै कर्मचारीहरूलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्।

आर्थिक वर्ष २०७९–८० मा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकारलाई ३१ अर्ब रूपैयाँभन्दा धेरै राजस्व बुझाउएका छन् भने संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरूले ७७ करोड रूपैयाँभन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*