जीबी-रवि काण्डको अनुसन्धान गर्न पोखरा पुग्यो सीआईबी, छविको घरबाट बरामद सर्भर डेटामा १० अर्बको कारोबार

७ फाल्गुन २०८०, सोमबार १४:१९

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पोखरा पुगेर जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान थालेको छ ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवनबाट निर्वाचित सांसद रवि जोडिएको फाइल खोलेर सीआईबीले पोखराबाट अनुसन्धान थालेको हो ।

सीआईबीको आर्थिक अपराध हेर्ने पिलरले अनुसन्धान अघि बढाएको हो । सहकारीको अनुसन्धान गर्दै आएका इन्स्पेक्टरले पोखरा पुगेको टोली सम्हालेका छन् । विभिन्न टेक्निकल पाटोबारे अनुसन्धानका लागि सहयोग गर्नुपर्ने भनेर माग भएपछि इन्स्पेक्टरको कमाण्डमा टोली खटाएका सीआईबीले जनाएको छ । नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीको शंखमुलस्थित घरमा माघ २४ गते छापा मार्दा बरामद भएको चार वटा सर्भरको अनुसन्धान गर्नुपर्ने देखिएपछि सीआईबीको टोली पोखरा पठाइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेर चार वटा सर्भर नियन्त्रणमा लिएको थियो । जुन सर्भरमा सहकारीको सम्पूर्ण कारोबार विवरण रहेको भेटिएको छ ।

पूर्वडीआईजी जोशीको शंखमुलस्थित घरमा रहेको नेचर हब इन्टरनेसनल प्रालिको अफिस बाट नियन्त्रणमा लिइएको ४ वटा सर्भर (डिस्क)मा करिब १० अर्बको कारोबार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

बरामद सर्भरमा पोखराको सूर्यदर्शन सहकारीको मात्रै नभएर चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला ऋण तथा सहकारी, बुटवलको सुप्रिम सहकारीको समेत कारोबारको विवरण देखिएको बताइन्छ ।

सूर्यदर्शन सहकारीका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जना र संस्था समेत गरी १८ जना विरुद्ध पुरक जाहेरी समेत दिएका छन् । यो सहकारीमा भएको ठगि प्रकरणका मुख्य योजनाकार मानिएका जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ भने रेड नोटिसका लागि समेत पत्राचार भएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अहिलेसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ भने, १४ जना अझै फरार छन् । पक्राउ परेका पाँचै जना भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समितिका सदस्य प्रमोद भट्टराई पक्राउ परेका थिए । उनीहरु सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएर उनीहरु सबै जना अहिले कारागारमा छन् ।

१९ जना विरुद्ध मुद्दा चलेर पक्राउ पूर्जी जारी भए पनि अहिलेसम्म १४ जना भने फरार छन् । फरार हुनेहरुमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*