लघुवित्त संस्थाको लगानी १२ अर्ब ४७ करोड, खुद मुनाफामा ह्रास, चुक्तापूँजी ३५ अर्ब ३४ करोड माथि

७ फाल्गुन २०८०, सोमबार १३:२५

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी १२ अर्ब ४७ करोड पुगेको छ । जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा कुल लगानी ५३.७२ प्रतिशतले बढेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०८० पुस मसान्तसम्म १० अर्व ४६ करोड राखेका छन् । जुन रकम २०८० असार मसान्तको तुलनामा ४३.५४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ७०.८४ प्रतिशतले बढेको थियो । लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानीमा वृद्वि भएको देखिएको हो ।

त्यस्तै, समीक्षा अवधिमा अघिल्लो आर्थिक बर्षको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा ह्रास आएको छ । २०८० पुस मसान्तसम्ममा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आम्दानी ३ अर्ब ७ करोड र ब्याज खर्च १ अर्ब ८१ करोड रहेको छ । समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले ५९ करोड खुद मुनाफा गरेका छन् जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २४.५८ प्रतिशतले कम हो ।

यता, लघुवित्त वित्तीय संस्थाहरुको पँुजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ । यस बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन– २०७९ को निर्देशन नं. १ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ११.३२ प्रतिशत र १२.६० प्रतिशत रहेको छ । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २.७८ प्रतिशतले र जोखिम भारित सम्पत्ति २.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः २.२३ प्रतिशत र १.०७ प्रतिशतले बढेको थियो ।

पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ । उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ७ अर्ब ३७ करोड पुगेको छ । यो २०८० असार मसान्तको तुलनामा ३.७१ प्रतिशतले बढी हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*