लाभांश पारित गर्दै युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना सञ्चालक निर्वाचित
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौँमा सभा सम्पन्न भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९।८० को बार्षिक साधारण सभामा सो आवको वित्तीय विवरण पारित गरेको छ । साथै सभाले कम्पनीले सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) समेत पारित भएको हो ।
सभाबाट पाँचजना सञ्चालक निर्विरोध चयन भएका छन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह ’ख’ का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन भएका हुन् ।
संस्थापकतर्फहाल अध्यक्ष रहेका आजाद श्रेष्ठ र हालका सञ्चालक द्वय प्रणव कुमार दास र बलराम खनाल निर्वाचित भएका हुन् । दासले सिजी फुड्स र खनालले चौधरी ग्रुपको तर्फबाट उम्मेदवारी दिएका थिए । सर्वसाधारण तर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्वाचित भएका हुन् । पानुदत्त हाल पनि संचालक छन् भने अधिकारी नयाँ अनुहार हुन् ।
कम्पनीको सभा प्रयोजन र लाभांश प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गरेको हुँदा माघ २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले लाभांश पाउनेछन् ।