फोहोर टिप्ने बहानामा झण्डै १ करोडको गरगहना चोर्ने भारतीय समूह पक्राउ, सचेत हुन प्रहरीको अनुरोध
काठमाडौं । काठमाडौंको तिलगंगामा बसेर फोहोर टिप्ने समूह तिनवटा ठूला चोरीमा संलग्न भएको रहस्य खुलेको छ । फोहोर टिप्ने बहानामा बोरा बोकेर हिँड्ने समूहले घर र डेरा निगरानी गरेर चोर्ने गरेको तथ्य प्रहरीले पत्ता लगाएको हो ।
भारत घर भएका २६ वर्षीय विकास पोद्दार उर्फ लक्काले चोरी गर्ने समूहको नेतृत्व गरेको बताइएको छ । उनको समूहका ५ जना अहिले प्रहरीको नियन्त्रणमा छन् । ‘लक्का’सहित भारत घर भएका २८ वर्षीय जितेन्द्र पोद्दार, २७ वर्षीय भाइलाल पोद्दार, ४० वर्षीय सञ्जय पोद्दार र ५० वर्षीया मञ्जुदेवी पोद्दार काठमाडौंका ३ वटा ठूला चोरीमा संलग्न देखिएका छन् ।
२८ माघमा गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित दिलमाया आलेमगरको घरमा चोरी भएको थियो । दिलमायाको घरबाट आमा र छोरीको सुनका गहनासहित करिब ६५ लाख बराबरको चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए । रेग्मीका अनुसार यस्ता ३ वटा चोरीमा भारतीय समूह संलग्न रहेको देखिन्छ । माकलबारीमा चोर्नुअघि उनीहरुले २८ माघमा नै गोकर्णेश्वरस्थित गीता राईको घरबाट ४ लाख १० हजार चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार २४ माघमा बुढानीलकण्ठ नगरपालिका-१० स्थित दिनेश घिमिरेको घरबाट उनीहरुले २५ लाख बराबरको सुनका गहना चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना गौशाला नजिकै तिलगंगामा बस्नेहरु हुन् । फोहोर टिप्ने बोरा बोकेर ‘योजनाबद्ध’ रूपमा उनीहरु घरको रेकी गर्ने र चोरी गर्ने गरेको बताइएको छ । अपराध अनुसन्धान कार्यालयका डीएसपी डिलबहादुर मल्लका अनुसार घरधनी हिँडेपछि समूह नै मिलेर चोर्ने र सामान व्यवस्थापन गर्ने गरेको देखिन्छ ।
उनीहरुले घरमा दिउँसो मान्छे नभएको मौका छोपेर चोर्ने गरेको र घरका कोही सदस्य आए बाजा वा बेल बजाएर भाग्ने गरेको बताइएको छ । आरोपितहरूले चोरेको ३१ तोला ९४ लाल सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । यो समूहले ९४ लाख १० हजार बराबरको गहना र नगद चोरेको अनुसन्धानबाट खुलेको छ ।
चोरेको गहना गिरोहले बच्चाहरूले खेल्ने ‘गुडिया’मा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । आरोपीहरूले राख्न दिएको सुनका गहना भारतीय नागरिक रानीदेवीले ‘गुडिया’मा लुकाएर राखेको अवस्थामा बरामद गरिएको एसपी रेग्मीले बताए ।
पक्राउ परेकी मञ्जुदेवी पोद्दारले पनि गुडियामा लुकाएर राखेको गहना प्रहरीले बरामद गरेको हो । चोरीमा संलग्न मञ्जुदेवीको छोरा सुशील पोद्दार भने फरार छन् । प्रहरीले यस्ता शंकास्पद व्यक्तिहरुबाट सचेत रहन अनुरोध गरेको छ ।