अर्थमन्त्रीको नाममा धितोपत्र बोर्डभित्र मुक्ति श्रेष्ठको शंकास्पद गतिविधि, सर्वोत्तम सिमेन्टको छानविन कसरी रोकियो ?

४ फाल्गुन २०८०, शुक्रबार १२:२१

काठमाडौं । यतिबेला अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री प्रचण्डका बीचको सम्बन्धका बारेमा सञ्चार माध्यमहरुले प्रश्न उठाएका छन् । तर, यही बीचमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने अर्थमन्त्रीको नाम दुरुपयोग गरेर सर्वोत्तम सिमेन्टसँग गोप्य सेटिङ गरेको नयाँ चर्चा सुरु भएको छ ।

सन्दर्भ हो, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओको । उक्त कम्पनीले सरकारबाट ५० प्रतिशतभन्दा बढि कर छुट सुविधा लिँदै आएको र कर छुट समेतको सुविधा देखाएर महंगो मूल्यमा बुक बिल्डिङको मूल्य निर्धारण गरी बिक्री गरेर सरकार र लगानीकर्ता दुवैलाई ठगी गरेको सम्बन्धमा लिखित रुपमा उजुरी धितोपत्र बोर्डमा दर्ता भयो । उक्त उजुरीसँगै अर्थमन्त्रालयबाट समेत छानविन गर्न भन्दै लिखित निर्देशन धितोपत्र बोर्डमा पुगेको छ । उजुरी र अर्थमन्त्रालयबाट प्राप्त निर्देशन हाल निमित्त अध्यक्षको जिम्मेवारी पाएका डा. नबराज अधिकारीले तोक लगाएर आवश्यक छानविनका लागि नियमन विभागमा पठाए । नियमन विभागका प्रमुख तथा बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले अर्थमन्त्रीको निर्देशन समेत पालना गरेका छैनन् । बरु उल्टै अर्थमन्त्रीको नाममा सर्वोत्तम सिमेन्टसँग गोप्य सेटिङ गरेका छन् । स्रोतका अनुसार अर्थमन्त्रालयबाट छानविन गर्न पत्र आएको भन्दै मुक्ति श्रेष्ठले सर्वोत्तम सिमेन्टका उच्च अधिकारी तथा सिईओ सन्तोष केसीसँग गोप्य भेटवार्ता गरेको चर्चा धितोपत्र बोर्डभित्रै चलिरहेको छ ।

सो सम्बन्धमा अर्थमन्त्री डा. महतलाई श्रेष्ठले थाहा नदिई गोप्य गतिविधि गरिरहेको सूचना प्राप्त भएको छ । अर्थमन्त्रालयले छानविन गर्न दिएको निर्देशन माथि कारवाही गर्नुको सट्टा उल्टै मन्त्रीज्यूसँग कुरा भइसक्यो, मिलिसक्यो भन्दै धितोपत्र बोर्डमा पन्छाउँदै आएका छन् । जबकी अर्थमन्त्रालयले लगातार सो सम्बन्धमा फलोअप गरिरहेको छ । बोर्डमा आफूभन्दा माथिल्लो तहका कर्मचारीलाई नटेर्ने र आफै अध्यक्ष हुने भन्ने लाइनमा रहेको श्रेष्ठले सर्वोत्तम सिमेन्टले अर्बौ रुपैयाँ राज्यको कर छुट सुविधा लिएर सो सुविधा समेत गणना गरी बुक बिल्डिङ आईपिओ जारी गरेको सम्बन्धमा छानविनको फाइल लुकाउँदै आएका छन् ।

नियमन विभागका प्रमुख श्रेष्ठले सर्वोत्तम सिमेन्टका विरुद्धमा कर सम्बन्धी विषय जोडेर उजुरी पर्ने वित्तिकैदेखि एक साता लामो विदामा बसेका थिए । श्रेष्ठले अहिले अर्थमन्त्रालयको निर्देशन समेत आफ्नो टेबुलमा आइपुगेपछि छानविन नगरी सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओलाई निरन्तरता दिन र छिटो हुने गरी सेटिङ मिलाइरहेका छन् । उनले अर्थमन्त्रालयकै निर्देशन आएको र अर्थमन्त्रीलाई समेत मिलाउनु पर्ने भन्दै सर्वोत्तम सिमेन्टका सिईओ सन्तोष केसीसँग सेटिङ गरेको चर्चा छ । उनले के सेटिङ गरे र अर्थमन्त्रीको नाममा के कति कुरा मिलाए भन्ने खुल्न बाँकी छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्न खोज्दा सर्वोत्तम सिमेन्टका सिईओ सन्तोष केसी र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*