बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग सुरु, पौने २८ अर्ब निक्षेप
बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गर्न सुरु गरेका छन्। बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका हुन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी तरलता सुविधा उपलब्ध गराउने बताएको थियो। फागुनदेखि केन्द्रीय बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराएको हो। बुधबार बैंकहरुले पहिलो पटक यो सुविधा उपयोग गरेका छन्।
बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा बढी भएको तरलता निश्चित ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्ने भएका छन्। अहिले ब्यादर करिडोरको तल्लो सिमा ३ प्रतिशत रहेकोले बैंकहरुले सोहि ब्याजदरमा निक्षेप राख्न पाउने छन्।
स्थायी निक्षेप सुविधा लिन चाहने योग्य काउण्टरपार्टीले तोकिएको बैंकिङ्ग कारोबार समय भित्र निवेदन र कारोबार विवरण विभागमा पेश गर्नुपर्नेछ ।
अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा वित्तीय संस्थाले यो सुविधा पाउने छन्।
स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्नेछ ।