मुक्तिनाथसहित तीन विकास बैंक र तीन फाइनान्स परे कारबाहीमा
काठमाडौं । तीन विकास बैंक र तीन फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नै सचेत गराएको छ ।
मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यतिर खर्चिएको र उक्त रकमपछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सप्तकोशी विकास बैंक सञ्चालक समिति र सीईओलाई पनि सचेत गराएको छ । संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पनि स्वतन्त्र सञ्चालक कै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागि गराएकाले सचेत गराएको हो ।
सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको समेत राष्ट्र बैंकले जनाएको छ ।
नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकाले १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नारायणीले साउन र भदौमा सीडी रेसियो ९० प्रतिशत बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको राष्ट्र बैंकको नियमन विभागले जनाएको छ ।
प्रोग्रेसिभ फाइनान्सले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाई जोखिमपूर्ण कर्जा दिएको भन्दै राष्ट्र बैंकले सीईओ र सञ्चालक समितिलाई सचेत गराउँदै कडाइका साथ निर्देशन दिएको छ ।
गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेस एशोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई कडाइका साथ निर्देशन दिएको छ ।
यसैगरी गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गएको आर्थिक वर्ष २०७९/८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर विक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेका कारण सीईओलाई सेचत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।