दोस्रो त्रैमासिक विवरणको आधारमा १२ निर्जीवन बीमा कम्पनीको १० सूचांकमा को कति अब्बल ? (सूचांकसहित)

२ फाल्गुन २०८०, बुधबार ०६:४७

काठमाडौं । नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । कम्पनीले प्रकाशन गरेको तथ्यांक अनुसार बीमापोष्टले यी १२ कम्पनीको तथ्यांक केलाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सर्वाधिक व्यवसाय गर्ने कम्पनीहरुमा शिखर इन्स्योरेन्स, सलिको, नेको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

नेपाल बीमा प्राधिरकरणले बीमा कम्पनीहरुको चुक्ता पूँजी दुई अर्ब अनिवार्य गरेको छ । हाल नेप्सेमा सूचीकृत १२ निर्जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीले मात्रै चुक्ता पूजी पुर्याएका छन भने बाँकी चारले पुर्याउन बाँकी रहेको देखिन्छ । युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी, प्रभु र राष्ट्रिय बीमा कम्पनीले दुई अर्व चुक्ता पूँजी पुर्याउन कसरत गनुपर्ने देखिएको छ ।

चुक्ता पूँजीको आधारमा
चालु आवको दोस्रो त्रैमाससम्म आईजीआई प्रुडेन्सियल कम्पनी लिमिटेडको चुक्ता पूँजी सर्वाधिक ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने तेस्रोमा शिखर इन्स्योरेन्सको २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा सलिकोको २ अर्ब ६२ करोड २६ लाख, हिमालयन एभरेष्टको २ अर्ब ३० करोड १५ लाख, नेको इन्स्योरेन्सको २ अर्ब १ करोड २३ लाख, सानिमा जीआईसीको २ अर्ब, यूनाईटेड अजोडको १ अर्ब ९० करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

त्यसैगरी नेपाल इन्स्योरेन्सको १ अर्ब ६४ करोड ४२ लाख, एनएलजी इन्स्योरेन्सको १ अर्ब ४५ करोड ९२ लाख, प्रभु इन्स्योरेन्सको १ अर्ब ३७ करोड ६१ लाख र राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । समीक्षा अवधिमा यी कम्पनीहरुको जम्मा चुक्ता पूँजी २४ अर्ब ७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो भने राष्ट्रिय बीमा कम्पनी अग्रस्थानमा रहेको छ । समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब ५३ करोड २६ लाख रुपैयाँ रहेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ७६ करोड ८८ लाख, तेस्रोमा नेको इन्स्योरेन्सको ३६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, शिखर इन्स्योरेन्सको ३१ करोड ४९ लाख, हिमालयन एभरेष्टको ३१ करोड २२ लाख, सलिकोको २५ करोड ६५ लाख, नेपाल इन्स्योरेन्सको २२ करोड ३२ लाख, यूनाइटेड अजोडको २१ करोड ९२ लाख, सानिमा जीआईसीको १३ करोड ७५ लाख, एनएलजी इन्स्योरेन्सको १२ करोड ८० लाख, प्रभु इन्स्योरेन्सको ११ करोड ६२ लाख र आईजीआई प्रुडेन्सियलको सर्वाधिक कम ८ करोड ८१ लाख रुपैयाँ जगेडा कोष रहेको छ ।

कुल बीमाशुल्कको आधारमा
कुल बीमाशुल्कको आधारमा हेर्दा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले समीक्षा अवधिमा १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सलिको इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४८ लाख, सिद्धार्थ प्रिमियरले १ अर्ब ५० करोड ७७ लाख, आईजीआई प्रुडेन्सियलको १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्टले १ अर्ब २२ करोड, यूनाइटेड अजोडको १ अर्ब १४ करोड, नेको इन्स्योरेन्सको १ अर्ब ९ करोड एनएलजीको १ अर्ब ६ करोड, प्रभुको ९० करोड, सानिमा जीआईसीको ८६ करोड नेपाल इन्स्योरेन्सको ७२ करोड र राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक कम ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन रहेको छ ।

खुद बीमा शुल्कको आधारमा
खुद बीमा शुल्कको आधारमा हेर्ने हो भने सलिको सबैभन्दा अघि रहेको छ । कम्पनीले समीक्षा अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरले ९ करोड २५ लाख, तेस्रोमा नेको इन्स्योरेन्सले ६१ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआईसी कम्पनीले सर्वाधिक कम खुद बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले क्रमशः १३ करोड ४१ लाख र २९ करोड ३४ लाख रुपैयाँ आर्जन गरेका छन् ।

कुल दाबी भुक्तानीको आधारमा
समीक्षा अवधिमा सलिको इन्स्योरेन्सको कुल दाबी भुक्तानी सर्वाधिक १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ रहेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सको ८९ करोड २८ लाख, तेस्रोमा युनाईटेड अजोडको ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । यता, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सर्वाधिक कम क्रमशः ११ करोड ३४ लाख, २० करोड ५१ लाख र २२ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

खुद नाफाको आधारमा
समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सर्वाधिक नाफा कमाएको देखिएको छ । कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७२ लाख, तेस्रोमा सिद्धार्थ प्रिमियरले ३६ करोड ९ लाख खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

शिखरले २५ करोड ११ लाख, नेकोले २२ करोड १२ लाख, सलिकोले २० करोड ८ लाख, हिमालयन एभरेष्टले १८ करोड ४३ लाख, आईजीआई प्रुडेन्सियलको १८ करोड ३७ लाख, युनाइटेड अजोडको १३ करोड १८ लाख, प्रभुको १० करोड ८६ लाख, सानिमा जीआईसीको १० करोड ५५ लाख र एनएलजीको सर्वाधिक कम ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा रहेको छ ।

पोलिसी संख्याको आधारमा
समीक्षा अवधिमा नेको इन्स्योरेन्सले सर्वाधिक १५ करोड ४१ लाख पोलिसी जारी गरेको छ । सिद्धार्थ प्रिमियरले १५ करोड ३८ लाख, शिखरले १५ करोड ७ लाख, सलिकोले १४ करोड ८० लाख, आइजीआई प्रुडेन्सियलले १२ करोड १३ लाख र एनएलजीले ११ करोड २ लाख बीमा पोलिसी जारी गरेको छ ।

त्यस्तै, युनाइटेड अजोडले १० करोड ५९ लाख, हिमालयन एभरेष्टको १० करोड १७ लाख, राष्ट्रिय बीमाको ९ करोड ३ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड ४७ लाख, सानिमा जीआईसीको ७ करोड ७९ लाख र प्रभुको सर्वाधिक कम ५ करोड ९२ लाख बीमा पोलिसी जारी भएको छ ।

ईपीएसको आधारमा
राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) सर्वाधिक ३२०.४८ रुपैयाँ रहेको छ । नेपाल इन्स्योरेन्सको ६०.५५, सिद्धार्थ प्रिमियरको २५.७२ रुपैयाँ रहेको छ । यता, सानिमा जीआईसी, एनएलजी, आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोडको सर्वाधिक कम क्रमशः १०.५६, १२, १२.१३ र १३.८५ रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा
राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर नेटवर्थ सर्वाधिक १५९४.५९ रुपैयाँ रहेको छ । सिद्धार्थ प्रिमियरको २६४.३६, सलिकोको २३२.४५, नेकोको २३०.०१ र एनएलजीको २१४.५६ रुपैयाँ रहेको छ । सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल र युनाइटेड अजोडको सर्वाधिक कम क्रमशः १३७.९८, १६७.५५ र १९४.७४ रुपैयाँ रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
एनएलजी इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात (पीई रेशियो) सर्वाधिक ७०.३३ रहेको छ । प्रभुको ५५, सानिमा जीआईसीको ५४.३५, सलिकोको ४६.६२, र युनाइटेड अजोडको ४५.७७ पीई रेशियो अनुपात रहेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर, नेको र शिखरको क्रमशः १५.३६, २९.३१, ३८.३४ र ४०.०४ मूल्य आम्दानी अनुपात रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*