कनेक्ट आईपीएस ह्याक गरेर आमा छोराको खाताबाट १० लाख चोरी, सानिमा र एनआईसी बैंकमा चरम लापर्वाही
काठमाडौं । कनेक्ट आईपीएस ह्याक गरेर सुनसरीका शिवनन्दन मेहता र आमा रुशनी देवी मेहताको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । आफूले सानिमा बैंकमा खोलेको खाताबाट ह्याकरहरुको गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकै पटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटक-पटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको पीडित मेहताले बताएका छन् ।
आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटमा बैंक पुगेर खबर गरेर अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि खाता रहेको सानिमा बैंकले कुनै वास्ता नगरेको उनको आरोप छ ।
खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा उजुरी दिएका छन् । माघ ९ गते सवा १० जबे इनरुवा सुनसरीका शिव नन्दन मेहताको मोबाइलमा कनेक्ट आईपीएसको एउटा म्यासेज आयो । कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज समेत आयो ।
बजारमै रहेका मेहता त्यसरी म्यासेज आएको ५ मिनेटभित्रै बैंकको शाखा कार्यालयमा पुगे । सानिमा बैंकको इनरुवा शाखामै उनी बिहान १० बजेर २० मिनेटमा पुगेर कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे ।
सानिमा बैंकले मेहताको खाताबाट कनेक्ट आईपीएसमार्फत् ट्रान्सफर गरिएको रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर भएको जानकारी गरायो । मेहताले एनआईसी एशिया बैंकलाई खबर गरेर उक्त रकम तत्कालै रोक्का राखिदिन आग्रह गरे । तर सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एशिया बैंकमै जान भन्दै आफ्नो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो ।
त्यसपछि मेहता तुरुन्तै एनआईसी एशिया बैंकको शाखा कार्यालयमा पुगेर ट्रान्सफर गरिएको बैंक खाता रोक्का राखिदिन आग्रह गरे । तर, एनआईसी एशिया बैंकले पनि मेहताको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो ।
एनआईसी एशिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरेर रकम होल्ड गरिदिन आग्रह गरे । तर कनेक्ट आईपीएसले ‘रकम बिहान १० बजेर ३० मिनेट मै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो ।
सिसिटिभी फुटेजको एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति एनआईसी एशिया बैंकको काउन्टरमा प्रवेश गरेको देखिन्छन् । उनले बैंकको टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् । बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् खुलेको छैन ।
शिवनन्दको मात्रै होइन, उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट समेत गिरोहले १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको पत्ता लागेको छ । रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको देखिन्छ । मेहताले बैंकको लापरबाहीका कारण पैसा चोरिएको बताएका छन् ।
सानिमा बैंकका कोशी प्रदेश प्रमुख रहेका फणिन्द्र दाहालका अनुसार बैंकले सक्दो प्रयास गरेपनि चाँडो भुक्तानी भइसकेको कारण रोक्का राख्न नसकिएको बताएका छन् । दाहालले भनेका छन्, ‘पीडित हाम्रो बैंकमा आए लगत्तै अपरेशन म्यानेजरले एनआईसी एशिया बैंकमा फोन गरेर रकम रोक्का राखिदिन आग्रह गर्नुभए पनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । रकम चोरी गर्नेले रकम निकालिसकेको भन्ने जवाफ आएपछि केही गर्न नसकिएको हो ।’
यस विषयमा थप अनुसन्धान भइरहेको र रकम ट्रान्सफर गर्ने व्यक्तिको खोजी भइरहेको उनले बताएका छन् ।