१५ लाख घुस टिप्ने वडा अध्यक्ष बादेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
२६ माघ २०८०, शुक्रबार १५:४५
काठमाडौं । घरबाटो सिफारिस गर्न सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष नृपेश बादेविरुद्ध अख्तियार अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बादेलाई १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत माघ ३ गते नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
अनुसन्धानबाट वडा अध्यक्ष बादेले घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि उक्त घुस लिएको खुल्न आएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । वडा अध्यक्ष बादेलाई अख्तियारले १५ लाख रुपैयाँ विगो कायम गरी सोही बमोजिम जरिवाना र सजायको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।